२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

रामापुर माविमा ‘तँ’ भन्‍न नपाइने 

सन्जु पौडेल

रुपन्देही — रुपन्देहीको सैनामैना नगरपालिका ६ कलौनीमा रहेको रामापुर माध्यमिक विद्यालयमा ‘तँ’ भन्‍न नपाइने भएको छ । मंगलबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले ‘तँ’ भन्‍न नपाइने निर्णय गरेको प्रधानाध्यापक कृष्ण प्रसाद पौडेलले बताए ।

रामापुर माविमा ‘तँ’ भन्‍न नपाइने 

नयाँ व्यवस्थापन समितिको पहिलो बैठकले विद्यार्थीप्रति शिक्षकले गर्ने व्यवहार बोलीमै निर्भर हुने भएकाले बोली सुधार्न ‘तँ’ भन्‍न नपाइने अभियान सुरु गर्ने नर्णिय गरेको प्रधानाध्यापक पौडेलले बताए । शिक्षकको अनुशासनले विद्यार्थीमा असर पर्ने भन्दै उनले असल शब्दको प्रयोग गर्न सुरुवात गरिने बताए ।

विद्यालयको यो निर्णयको प्रशंसा गर्नुपर्ने अभिभावक गीता पाण्डेले बताइन् । ‘अभिभावकलाई समेत विद्यालयमा बोलाएर घरबाटै ‘तँ’ शब्‍दको प्रयोग हटाउन लगाउनुपर्छ,’ उनले भनिन्, ‘यो अभियानकै रुपमा अघि बढे कार्यान्वयन हुन्छ ।’ सामुदायिक विद्यालयमा तपाई‌ भन्‍ने संस्कार बसाल्दा विद्यार्थी र शिक्षकबीचको दूरी घट्‍ने बताइन । उनले घरमै सिकाइने बोली विद्यालयमा देखिने भएकाले छोराछोरीलाई राम्रो बोल्न सिकाउनु अभिभावकको कर्तव्य भएको बताइन् ।

प्रयोग गरिरहेको शब्द एक्कासि छोड्‍न अफ्ठ्यारो लागेपनि नियम भएपछि सकिने कक्षा ९ मा अध्ययनरत मुना गौतमले बताइन् । ‘अब शिक्षकसँग पनि साथीसरह घुलमिल हुन पाइने भयो,’ उनले भनिन्, ‘‘तँ’ भनेर सर मेडमले सम्बोधन गर्दा पनि डर लाग्थ्यो, त्यो हट्‍ने भयो ।’ उनले तिमी र तपाई‌ंको प्रयोगले सम्मानको व्यवहार र अनुशासन सिकाउने बताइन् ।

विद्यालयको व्यवस्थापन समिति मंगलबारमात्रै नयाँ गठन भएको थियो । नयाँ व्यवस्थापन समितिका अध्यक्ष जिवन ज्ञवालीले आफू र समिति निर्णयमा प्रतिबद्ध रहेको बताए । ‘विद्यालयमा सभ्य भाषाको प्रयोग भए समाज परिवर्तन हुन्छ,’ उनले भने, ‘यो अभियानमा म र टिम सफल हुनेगरी लाग्‍नेछौं ।’ उनले सामुदायिक विद्यालयप्रतिको हेराइ, भाषा र शब्दले समेत परिचित गराउने हुँदा कार्यान्वयनमा अबिलम्ब लाग्‍ने बताए ।

निजी सरह बोलीकै माध्यमबाट पनि विद्यार्थीलाई अनुशासनमा अघि लैजाने उनले बताए । शिक्षकलाई व्यवस्था पनि समितिको निर्णयबारे जानकारी दिन र लागू गराउन विद्यालयले बुधवार शिक्षक र नवगठित समितिबीच छलफल गरेको छ । छलफलपश्‍चात अब शिक्षक र विद्यार्थी दुबैले 'तँ' शब्दको प्रयोग गर्ने छैनन् ।

प्रकाशित : माघ २२, २०७६ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?