'कसैको सिरानीमुनि लालपुर्जा, मुद्दा विजय गच्छदारलाई ?' : कांग्रेस प्रवक्ता
काठमाडौँ — ललिता निवास जग्गा अनियमितता प्रकरणमा अख्तियारले बुधबार दायर गरेको भ्रष्टाचार मुद्दामा कांग्रेसले आफ्ना उपसभापति विजय गच्छदारलाई मुद्दा दायर गरिएको आश्चर्य प्रकट गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै भनेका छन्, 'श्री माधवकुमार नेपालको पालामा नीतिगत निर्णय । एक पूर्वमन्त्री कमरेडको सिरानीमुनि लालपुर्जा । मुद्दा कसलाई विजय गच्छदारलाई ?'
उनले ट्विट संकेत गरेका पूर्वमन्त्री विष्णु पौडेल नेकपाका महासचिव हुन् । ललिता निवासको दुई कित्ता ८ आना जग्गा उनले छोरा नवीन पौडेलको नाममा किनेका थिए । तर, अख्तियारका अनुसन्धान अधिकृत समक्ष त्यो जग्गा सरकारको नाममा गर्न तयार रहेको बयान दिएपछि अख्तियारले उनलाई मुद्दा चलाउनु नपर्ने आरोप पत्रमा उल्लेख गरेको छ ।
श्री माधवकुमार नेपालको पालामा नितिगत निर्णय l एक पुर्व मन्त्री कमरेडको सिरानीमुनि लालपुर्जा l मुद्दा कसलाई ? बिजय गच्छदारलाई !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) February 5, 2020
`एनिमल फार्म´ मा जर्ज अर्बेल भन्छन्-
All animals are equal, but some are more equal than others.
कांग्रेस उपसभापति गच्छदारविरुद्ध भने तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीको हैसियतमा मुद्दा दर्ता गरिएको हो । उनीसँग अख्तियारले ९ करोड ६५ लाख विगो मागदाबी गरेको छ । मुद्दा दायर हुनासाथ गच्छदारको सांसद पद स्वत: निलम्बनमा परेको छ ।
उनीसहित अन्य दुई तत्कालीन मन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीलाई पनि अख्तियारले भ्रष्टाचार मुद्दा लगाएको छ ।
शर्माले ट्विटमा प्रसिद्ध लेखक जर्ज अरवेलको चर्चित पुस्तक 'एनिमल फार्म' को भनाई उद्धृत गर्दै लेखेका छन्- 'अल एनिमल्स आर इक्वेल बट सम आर मोर इक्वेल देन अदर्स ।'
उनले पार्टीको आधिकारिक धारणा बिहीबार औपचारिकरुपमा सार्वजनिक गर्ने कान्तिपुरलाई बताएका छन् ।
यो पनि पढ्नुहोस्ः
नेकपा महासचिव विष्णु पौडेललाई किन मुद्दा चलेन ?
प्रकाशित : माघ २२, २०७६ २०:४५