२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

एक्लो हेरालुको भरमा गाउँ

कुरुवा रायसिंह ऐतवाललाई गाउँपालिकाले दिन्छ मासिक १० हजार तलब
मनोज बडू

दार्चुला — ‘विगतमा यहाँका बासिन्दाले प्रत्येक घरबाट अन्न उठाएर हेरालुलाई दिने गर्थे । यो वर्षबाट वडा कार्यालयले गाउँ हेरालुका लागि बजेट छुट्याएकोछ,’ छाङरुका बासिन्दा वासुदेव ऐतवालले भने, ‘यो वर्षदेखि गाउँपालिकाले दिएको बजेटबाट तलब दिने व्यवस्था मिलाइएको हो ।’ ऐतवाललाई मंसिर १५ देखि चैत १५ सम्मका लागि हेरालु राखिएको हो । 

एक्लो हेरालुको भरमा गाउँ

उनका अनुसार हेरालुले गाउँको सामान्य रेखदेख र निगरानी गर्नुपर्छ । ऐतवालका अनुसार धेरै हिमपात हुँदा भने घरमै बसेर पनि सानो गाउँ नियाल्न सकिन्छ । ‘खान र बस्न समस्या नभए हिउँ पग्लेको समयमा गाउँमा घुम्न सकिन्छ,’ उनले भने, ‘हिउँ नपग्ले घरको छतबाटै गाउँ हेर्न सकिन्छ ।’ छाङरुमा सयभन्दा बढी परिवारको बसोबास छ ।


हेरालुका लागि यो वर्ष ५० हजार बजेट छुट्याइएको व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले बताए । वडा कार्यालयले छाङरु बस्ती टोल हेरालु शीर्षकमा ५० हजार रुपैयाँ विनियोजन गरेको हो । वडाका छाङरु र तिंकर गाउँमा बस्ती छन् । बोहराका अनुसार विगत वर्षमा चोरीको समस्या देखिएपछि छाङरुका बासिन्दाले हेरालु राख्न थालेका हुन् । उनका अनुसार गत वर्षसम्म व्यक्तिगत रकम उठाएर हेरालुलाई दिने गरिएको भए पनि केहीले अटेर गर्न थालेपछि वडाबाटै बजेट विनियोजन गरिएको हो ।


तलबसँगै गाउँ हेरालुलाई खाद्यान्न र दाउराको व्यवस्था भने स्थानीय र आफन्तले गर्ने गरेका ऐतवालले बताए । व्यास गाउँपालिका–१ को दोस्रो बस्ती तिंकरमा भने करिब एक दशकयता हेरालु राख्न छाडिएको छ । सुरुमा गाउँलेले अन्न उठाएर हेरालु राख्ने गरेका थिए । तर पछिल्लो समय कुनै घरमा चोरी भए हेरालुलाई नै दोष लगाउन थालिएपछि गाउँ कुर्ने मान्छे पाउन छाडिएको तिंकरका दानसिंह तिंकरीले बताए । छाङरुभन्दा तिंकरमा धेरै हिउँ जम्ने हुँदा चैतयता कोही गाउँमा जान सक्दैन । उनले भने, ‘चैतपछि एक/दुई जनालाई खर्च उठाएर गाउँ हेर्न पठाउने गरेका छौं ।’


मंसिरको दोस्रो साता व्यासको बस्ती बेंसी सरेको थियो । त्योभन्दा करिब दुई साताअघि नै व्यासको प्रहरी चौकी तल झरेको स्थानीयले बताए । तिंकरको सीमा प्रहरी चौकी भने कात्तिक ५ मै तल झरेको थियो । व्यास–१ सितापुलमा रहेको प्रहरी चौकी अहिले व्यास गाउँपालिका–२ दुम्लिङमा बसेको छ । स्थानीयका अनुसार सीमावर्ती भारतीय क्षेत्रमा भने हिउँदमा केही परिवार सुरक्षाकर्मीसँगै बस्ने गरेका छन् । नेपाली भूभागमा भने सुरक्षाकर्मीलाई हिउँदमा बस्ने बस्दोबस्तीको सामान उपलब्ध नगराइएकाले बेंसी झर्ने बाध्यता छ ।

प्रकाशित : फाल्गुन २, २०७६ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?