१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘कोरोनाविरुद्ध प्लान बी र सी तयार’

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले ‘कोरोना भाइरस रोग–२०१९’ संक्रमणविरुद्घ लड्न मुलुकभर ‘प्लान–ए’ कार्यान्वयनमा ल्याएको छ । ‘प्लान–ए’ बाट संक्रमणविरुद्घ सतर्कता अपनाउँदा स्थिति सामान्य हुँदै जाने दाबी स्वाथ्य मन्त्रालयले गरेको छ । सरकारले यो संक्रमणविरुद्घ ‘प्लान–बी’ र ‘प्लान–सी’ पनि तयार गरेको छ । 

‘कोरोनाविरुद्ध प्लान बी र सी तयार’

‘अहिले हामी प्लान–ए अन्तर्गत विशेष सतर्कता, उपाय र तयारीसँगै यो समस्याबाट मुक्त हुने गरी कार्यरत छौं,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रबहादुर श्रेष्ठले भने, ‘स्थिति जटिल हुँदै गए प्लान–बी र चीनको वुहानजस्तै स्थिति देखिने सम्भावना भए प्लान–सी समेत लागू गर्ने गरी तयारी गरेका छौं ।’ प्लान–सीमा भेटघाट नियन्त्रण, आइसोलेसन, उपचारका लागि मुलुकमा उपलब्ध सम्पूर्ण क्षमतालाई उपयोग गर्ने तयारी छ ।


प्लान–ए अन्तर्गत स्वास्थ्य, रक्षा, गृह, परराष्ट्र, सहरी विकास, नागरिक उड्डयन तथा पर्यटन गरी ६ वटा मन्त्रालय सक्रिय छन् । सबै मन्त्रालयको समन्वय गर्ने जिम्मेवारी मुख्यसचिवलाई दिइएको छ । तीनवटै सुरक्षा निकायको समेत सहयोग लिइएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ ।


मन्त्रालयले चीनको हुवेई प्रान्तबाट विद्यार्थी फिर्ता ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । प्लान–ए अन्तर्गत नै चीनबाट फिर्ता ल्याइने नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत विशेष प्रक्रिया अपनाइने भएको छ । विमानस्थलको एउटा निश्चित ठाउँमा चीनबाट आउने जहाजलाई अवतरण गरिनेछ । एयरपोर्टमा चिकित्सकसहितको ५ वटा विशेष हेल्थ डेस्कसमेत राखिनेछ । हेल्थ डेस्कमा रहेकाले संक्रमणबाट जोगाउने व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगाएका चिकित्साकर्मीलगायतले सबै नेपालीको स्वास्थ्य परीक्षण गरेर सामान्य भए दुई सातासम्म क्वारेन्टाइनमा राख्न विशेष बसबाट खरिपाटी पठाइनेछ तर कुनै व्यक्तिमा ज्वरो, रुघाखोकीलगायत लक्षण देखिए विमानस्थलबाटै एम्बुलेन्समा राखेर अस्पतालको आइसोलेसन वार्डमा पठाउने योजना मन्त्रालयको छ ।


खरिपाटीमा रहेको आइसोलेसन केन्द्रमा उपयुक्त खानपिनसँगै इन्टरनेट, टेलिफोन, मनोरञ्जनलगायतको व्यवस्था गरिएको छ । आइसोलेसनमा रहेकाहरूलाई त्यहाँ रहने स्वास्थ्यकर्मीको टोलीले हरेक दिन विभिन्न परीक्षण गरेर कुनै रोग वा संक्रमणको लक्षण देख्नासाथ थप उपचार, रोग पहिचानका लागि अस्पतालको आइसोलेसन शय्यामा भर्ना गर्न पठाइनेछ । यस्तो अवस्थामा लिएर जाने एम्बुलेन्स, स्वास्थ्यकर्मी आदिको समेत विशेष व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । हाल विभिन्न अस्पतालका २०० आइसोलेसन वार्ड तयारी अवस्थामा राखिएको श्रेष्ठ बताउँछन् । नेपालीलाई लिन जाने पाइलट, चिकित्साकर्मीलगायत अन्य व्यक्तिलाई मुलुक फर्केपछि नगरकोटमा छुट्टै राखिने भएको छ तर तिनलाई १४ दिनसम्म क्वारेन्टाइनमा भने नराखिने जानकारी श्रेष्ठले दिए ।

प्रकाशित : फाल्गुन २, २०७६ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?