कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

युवाहरुलाई राष्ट्र निर्माणमा ध्यान केन्द्रित गर्न प्रधानमन्त्रीको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा राष्ट्रको लागि पहिलो आवश्यकता र प्राथमिकतामा रहेको बताएका छन् । राष्ट्रिय सेवा दलको दीक्षान्त समारोहमा दीक्षित विद्यार्थीहरुलाई शुक्रबार ललिपुरमा दर्ज्यानी चिन्ह प्रदान गदैं प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणमा राष्ट्रप्रति समर्पित र अनुशासित युवाको आवश्यकता रहेको बताए ।

युवाहरुलाई राष्ट्र निर्माणमा ध्यान केन्द्रित गर्न प्रधानमन्त्रीको आग्रह

उनले समाज र राष्ट्र निर्माणमा युवाहरुलाई ध्यान केन्द्रित गर्न आग्रह गरे । ‘तपाईंहरु माथि केवल आफ्ना अभिभावकहरुको मात्रै आशा र सपना निहित छैन, तपाईंका प्रध्यापक, नातेदार, समाज र राष्ट्रको पनि सपना र आशा रहेको छ,’ ओलीले भने, ‘त्यसैले सर्वोत्कृष्ट समाज निर्माणमा युवा अवस्थामा तपाईहरुले आफ्नो मनोबल उच्च गराउन आवश्यक छ । हरेक युवाले आफूमा कुशल नेतृत्व क्षमताको विकास नैतिक आचरण र अनुशासनको परिपालना निश्चित गर्दै समाज र राष्ट्रप्रतिको आफ्नो कर्तव्य बुझ्ने र पूरा गर्ने कर्तव्यनिष्ठ नागरिक बन्न ध्यान केन्द्रित गर्दछु ।’

प्रधानमन्त्री ओलीले देशमा स्थिर सरकार निर्माण भएको र यस सरकारले युवाहरुको चौतर्फी व्यक्तित्व विकासमा सहयोग गर्न कटिबद्ध रहेको बताए । युवाहरु एकजुट भइ काम गरे जस्तोसुकै चुनौती सामना गर्न सक्ने उल्लेख गर्दै ओलीले सबै युवालाई असल, सक्षम, दक्ष र सक्रिय व्यक्तित्व निर्माण गर्न सुझाव दिए ।


राष्ट्रिय सेवा दलबाट तालिम पाई सैनिक कला, नेपाली संस्कृतिको संरक्षण, परम्परालाई बचाउन र देशप्रति गौरव बढाउन दीक्षित भएका विद्यार्थीको भूमिका अझ बढी महत्वपूर्ण हुने ओलीको भनाइ छ । राष्ट्रिय सेवा दलका संरक्षक प्रधानमन्त्री ओलीले दलको सुदृढीकरण र जनस्तरसम्म पुर्‍याउन सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

राष्ट्रिय सेवा दलले गरेको सय दिनको तालिममा विभिन्न विद्यालयका ७ हजार ७ सय विद्यार्थी सहभागी थिए ।

प्रकाशित : फाल्गुन २, २०७६ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?