१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

चिनियाँ नागरिकको आवागमन यथावत् : ‘१२ दिनमा २२९ चिनियाँ आए’

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरसको प्रकोप बढेपछि चीनसँग सीमा जोडिएका एक दर्जनभन्दा बढी मुलुकले चिनियाँ नागरिकको आवतजावतमा कडाइ गरे पनि नेपालले थप कडाइ वा सीमा सतर्कताको तयारी गरेको छैन । 

चिनियाँ नागरिकको आवागमन यथावत् : ‘१२ दिनमा २२९ चिनियाँ आए’

गृह प्रवक्ता केदारनाथ शर्माका अनुसार माघ १५ देखि रसुवा नाकाबाट १५ दिनका लागि आवागमनमा कडाइ गरिए पनि अन्य नाकाबारे कुनै निर्णय गरिएको छैन । ‘मानिस आवतजावत गर्ने हकमा अन्य नाका उपयोगमै नआएको अवस्थामा कडाइ गर्न आवश्यक नदेखिएको हो,’ शर्माले कान्तिपुरसँग भने ।

यसअघि रसुवाको केरुङ नाकामा गरिएको कडाइ फागुनदेखि खुले पनि उनका अनुसार केही दिनका लागि आवतजावतमा निगरानी राख्दै सीमामा हेल्थ डेस्क राख्ने तयारी भइरहेको छ । ‘तिब्बतमा झन्डै ५ सय नेपालीको बसोबास छ, केरुङमा पनि नेपाली रहेको सूचना छ,’ शर्माले भने, ‘उनीहरूले नेपाल आउन चाहेमा विशेष स्वास्थ्य निगरानीका साथ आउन दिनुपर्छ भनेका छौं ।’ संखुवासभाको किमाथांका, सिन्धुपाल्चोकको तातोपानी वा मनाङ–मुस्ताङका नाकाबाट मानिसहरू आवतजावत नगर्ने भएकाले कडाइ गर्नु आवश्यक नदेखिएको उनले बताए ।

चीन र नेपालबीच १ हजार ४१४ किलोमिटर सीमा जोडिएकामा आवश्यक स्थानमा चीन सरकार स्वयंले नाका/आवतजावत बन्द गरेको अध्यागमनका एक अधिकारीले बताए । ‘विगतमा संखुवासभाको किमाथांकामा चीनबाटै खाद्यान्न र दैनिक उपभोग्य वस्तु आयात हुने गरेको थियो,’ ती अधिकारीले भने, ‘तर किमाथांकामा समेत चिनियाँ पक्षबाट कडाइ भएपछि गत साता स्थानीय प्रशासनले खाँदबारीबाट हेलिकप्टर चार्टर गरेर खाद्यान्न ओसार्नुपरेको थियो ।’

विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार पछिल्लो १२ दिनमा एक हजार २२९ जना चिनियाँ नागरिक बेइजिङ र छेन्दुको उडानबाट काठमाडौं उत्रिएका थिए । यो अवधिमा दुई हजार ४३५ जना चिनियाँ नागरिकले काठमाडौंबाट बेइजिङ वा छेन्दु उडान भरेका थिए ।

कोरोना भाइरसको त्रासपछि चीनसँग सीमा जोडिएका भुटान, भारत, मंगोलिया, म्यान्मार, रुस, भियतनाम, ताजकिस्तानलगायत ५ दर्जन देशले चिनियाँ नागरिक आवागमनमा कडाइ गरेका छन् । परराष्ट्र मन्त्रालयमा चीन मामिला हेर्ने एक अधिकारीका अनुसार, नाका कडाइ गर्नेबारे प्रस्ताव तयार भए पनि यसबारे निर्णय हुन सकेको छैन ।

कोरोला, हिल्सा, किमाथांका, ओलाङचुङगोला नाका चलनचल्तीमा नभए पनि चिनियाँ सीमावर्ती क्षेत्रमा समेत कोरोना भाइरस सन्त्रास बढेकाले सीमा वारपार गर्ने गतिविधि बढेको हुनाले सीमामा कडाइ जरुरी रहेको भन्दै अध्यागमनले सुझाव दिइसकेको छ ।

प्रकाशित : फाल्गुन २, २०७६ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?