कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलीका दुई वर्ष : आफ्नै कार्यशैलीले अप्ठ्यारो 

बबिता शर्मा

काठमाडौँ — दुई वर्षअघि प्रचण्ड बहुमतसहित दोस्रो कार्यकाल सम्हाल्न सिंहदरबार पस्दा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति उनकै पार्टी नेकपा, तत्कालीन वामगठबन्धनलाई मत दिएका मतदाता र आमजनतामा आशा जागेको थियो । 

ओलीका दुई वर्ष : आफ्नै कार्यशैलीले अप्ठ्यारो 

पाँच वर्षका लागि गरिएको भरोसाको दियो अझै निभेको त छैन तर यसको उज्यालो कम हुँदै गएको तिनै मतदाताको गुनासो छ । धेरैले यसका लागि सरकारको समग्र कार्यसम्पादन र प्रधानमन्त्री ओलीको कार्यशैलीगत समस्यालाई जिम्मेवार ठानेका छन् ।


प्रतिकुल स्वास्थ्यका बाबजुद प्रधानमन्त्री ओलीको खटाइ धेरैले चिताउनेभन्दा चर्को छ । मृगौलाको डाइलासिस गरिरहेका भए पनि उनी बिरामीजस्ता देखिँदैनन् । न त उनको आवाज नै कमजोर भएको छ । पार्टी केन्द्रीय समितिमा उनले निरन्तर दुई घन्टा भाषण दिए । यस्तो लाग्छ, उनलाई आफूप्रति पूर्ण विश्वास छ । र, कमजोर प्रधानमन्त्रीका रूपमा देखिएर जनताको आत्मबल घट्न दिनुहुन्न भन्ने मनोविज्ञानले उनले काम गरिरहेको जानकारहरू बताउँछन् । यसैले अस्पतालको बेडमा हुँदा पनि आफू तन्दुरुस्त रहेको सन्देश दिइरहेका हुन्छन् ।


सुशासन, आर्थिक विकास, राजनीतिक स्थायित्व, दिगो शान्ति, राष्ट्रिय एकता, अखण्डता, स्वाधीनता, स्वाभिमान यो सरकारका नारा हुन् । यिनै आफ्नो सरकारको रोडम्याप भएको ओलीका अभिव्यक्तिमा झल्किन्छ ।


भ्रष्टाचार नियन्त्रण, शान्ति सुव्यवस्था र जनताको दैनिक जीवनलाई सहज तुल्याउने ‘समृद्ध नेपाल, सुखी नेपाली’ ओलीको बोलीमा छ । तर, यतिसमूहसँगको सम्बन्ध होस् वा बालुवाटार जग्गा प्रकरणमा आफ्ना पार्टीका नेतालाई जोगाउन चालिएका कदम किन नहोस्, प्रधानमन्त्री ओलीको बोली र व्यवहारमा तालमेल देखिन्न ।


विपक्षीले सरकारका नारा उल्टाएर ‘समृद्ध नेता, दुखी जनता’ बनाएको छ ।


सरकारको कार्यशैलीबारे कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको टिप्पणी छ, ‘व्यक्तिगत शैलीमा भन्दा उहाँमा एकखालको अंहकार देखियो । शासनको शैलीमा भन्दा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित भएर आउनु नै सम्पूर्ण लोकतन्त्रवादी हुनु हो भन्ने मनोविज्ञान उहाँमा देखिन्छ । तर, लोकतान्त्रिक प्रक्रियाबाट आउनु र लोकतान्त्रिक चरित्र हुनु फरक कुरा हो । लोकतान्त्रिक चरित्र, लोकतान्त्रिक संस्कृति बमोजिमको उहाँ हुन सक्नु भएन ।’


सरकारका प्रवक्ता एवं नेकपा नेता गोकुल बाँस्कोटा भने प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर उत्साही छन् । ‘भिजन छ । मिसनमा कुनै समस्या छैन । एक्सन उहाँ एक्लैले गर्न सक्ने होइन । उहाँले निर्देशन दिनु हुन्छ । तर निर्देशन पालना गर्ने तीन निकाय हुन्छन् । एउटा सम्बन्धित मन्त्री हुन्छन् । दोस्रो, सम्बन्धित उच्चपदस्थ अधिकारी हुन्छन् । तेस्रो, कानुनी व्यवस्थापन मिलाउनु पर्छ । विधिको शासन भएपछि कानुनमा चल्नु पर्‍यो । उहाँमा धेरै कामको हुटहुटी छ । र, गर्न सकिन्छ भन्ने छ,’ बाँस्कोटा भन्छन् ।


देश र जनताको हित, आशा, आकांक्षा र आवश्यकताअनुरुप सरकार सञ्चालन गरेर देशलाई नयाँ दिशा दिन चाहेको बताउँछन् प्रधानमन्त्री ओली । तर, उनलाई आफ्नै पार्टीको पूरा सहयोग छैन । काम गरेनन् भनेर बेलाबेला आफैं मन्त्री हेरफेर गर्छन् तर यसमा पनि कामको भन्दाको गुटको गन्ध धेरै देखिन्छ ।


सत्तारुढ दलकै नेतालाई ओलीको कार्यशैलीमाथि प्रश्न छ । ‘पहिल्यैदेखि उहाँ गुटमा रमाउने । आलोचना सुन्नै नचाहने । आलोचना गर्नेलाई भित्तैमा पुर्याउने उहाँको शैली हो,’ नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य भन्छिन्, ‘तर, अब सच्चिनु पर्छ ।’


आफ्नै सचिवालका कर्मचारीमाथि विश्वास नगरेर उनले हेरफेर पनि गरे । हेर्दा लाग्छ– राष्ट्रिय विकास र समृद्धिको अभियानमा प्रधानमन्त्री ओली एक्लै दौडिरहेका छन् । यतिसम्म कि अन्तरमन्त्रालय समन्वयको समेत अभाव छ । विपक्षीसँग त प्रधानमन्त्रीको राम्रो सम्बन्ध बन्नै सकेको छैन, दुवैमा एक–अर्काप्रतिको विश्वास छैन । नतिजा विपक्षीले सरकार अधिनायकवादी दिशामा गयो भनेर भरपूर प्रचार गरिरहेको छ । केही विवादित विधेयकले विपक्षीको आरोपमा बल पुगेको छ ।


लाखौंको संख्यामा पलायन भइरहेको जनशक्तिलाई स्वदेशमै रोजगारी उपलब्ध गराई उपयोग र परिचालन गर्ने सरकारको नीति छ । तर, प्रधानमन्त्री ओलीसँग यसको कार्यान्वयको ठोस नीति छैन ।


सरकारले अगाडि सारेका कैयौं रोजगारमूलक महत्वकांक्षी कार्यक्रमको कार्यन्वयन धेरै फितलो छ । कार्यक्रम र बजेट नभएको भन्दै सरकारले स्थानीय तहमा खटाएका दुई सय भन्दा बढी रोजगार संयोजकले राजीनामा दिएका छन् । हरेक विषयमा सरकारका आँकडा हेर्दा–सुन्दा रामै लाग्छन् । तर, वामपन्थी सरकारले दिएका सेवा–सुविधाले जनताको जीवनशैलीमा देखिने गरी परिवर्तन भएको छैन ।


पार्टीभित्रै र विपक्षीबाट घेराबन्दी भइरहँदा पनि प्रधानमन्त्री ओली बहुमत प्राप्त वामपन्थीहरूको सरकार सञ्चालन गर्ने ऐतिहासिक अवसरको पूर्ण रूपमा सदुपयोग गर्न चाहन्छन् । तर, केही विवादित निर्णयले सरकारको छविलाई एकैपटकमा ध्वस्त बनाउँछ भन्नेमा चाहिँ ध्यान दिएका हुन्नन् । आफूलाई लागेको विषय प्रधानमन्त्री ओली अन्तिम सत्य मान्छन् । त्यसैले आलोचकका कुरा सुन्नभन्दा थप कठोर जवाफ दिनुमा उनको रुचि छ ।


‘उहाँको कार्यशैली धेरै संर्किण छ । कसैको सहयोग लिन चाहनु हुन्न । सत्तामा बसेपछि पार्टीभित्र सबैलाई समेट्न पर्ने हो,’ स्थायी कमिटी सदस्य शाक्य भन्छिन्, ‘सबैको सहयोग लिन जान्नु पर्ने हो । त्यसको कमि उहाँमा छ ।’


प्रधानमन्त्रीको निशानामा विपक्षीमात्रै होइन, आफ्नै पार्टीका नेता पर्छन् । मीडियामात्रै होइन, बुद्धिजिबी पनि जोडिन्छन् । यद्यपि पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकमा आउन्जेल प्रधानमन्त्री ओलीले आफू आलोचना सुन्न तयार रहेको बताएका छन् ।


‘स्वास्थ्य अवस्था कमजोर हुँदा पनि उहाँमा आत्मविश्वास छ । केही गरौं भन्ने भावना पनि छ । इच्छाशक्ति पनि छ । यो राम्रो पक्ष हो,’ नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य भन्छिन्, ‘तर, सोच धेरै नै संकिर्ण । आलोचना गर्नेलाई सिधै निषेध गर्ने । त्यसरी हुँदैन । सबैको भावना आत्मसाथ गर्नसक्नु पर्छ । कम्युनिष्ट आचरण, सोच, शैली देखिनु पर्छ ।’


तर, सरकारका प्रवक्ता बाँस्कोटा प्रधानमन्त्रीको आत्मबलका अगाडि दुनियाँले हारेको ठान्छन् । भन्छन्, ‘उहाँको आत्मबलका अगाडि दुनिया हार्‍यो । उहाँ १८ घण्टा खट्नु हुन्छ । उहाँको इच्छाशक्तिका सामु कसैले डेलिभरी गर्न सकेको छैन । उहाँको जुन भिजन, मिसन र ईच्छाशक्ति छ, त्यो आधारमा कसैले डेलीभरी गर्न सकेको छैन । तर, उहाँ आत्तिनु हुन्न । अरुले गर्न सकेनन् भने आफैं सम्हाल्नुहुन्छ ।’

प्रकाशित : फाल्गुन २, २०७६ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?