कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

एमसीसी परियोजनाले नेपाली अर्थतन्त्रको तस्बिर बदल्ने निश्‍चित : प्रधानमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी परियोजनाले नेपाली अर्थतन्त्रको तस्बिर बदलिदिने दाबी गरेका छन् । संघीय संसद् प्रतिनिधिसभालाई सम्बोधन गर्ने क्रममा शनिबार उनले एमसीसीले नेपालको अर्थतन्त्र र ऊर्जा उपयोगको तस्बिर बदलिदिने दाबी गरेका हुन् ।

एमसीसी परियोजनाले नेपाली अर्थतन्त्रको तस्बिर बदल्ने निश्‍चित : प्रधानमन्त्री

नेपाल सरकार र मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको सम्झौताले नेपालको सडक र ऊर्जा क्षेत्रमा संयुक्त लगानी गर्ने कार्यक्रम अगाडि सारेको छ । सम्झौतामा रहेका कतिपय व्यवस्थालाई लिएर नेकपाभित्र विवाद रहेका बेला ओलीले संसद्‍मा यस्तो अभिव्यक्ति दिएका हुन् ।

'आगामी ५ वर्षभित्र यो एमसीसी योजना पूरा भइसक्दा नेपालको अर्थतन्त्र, वैदेशिक व्यापार, भुक्तानी सन्तुलन र ऊर्जा उपयोगको तस्बिर बदलिने निश्चित छ,' ओलीले भने । अमेरिका सरकारको ५० अर्ब र नेपालको १३ अर्बको लगानी रहेको एमसीसी परियोजनाले राष्ट्रिय गौरवको पहिचान प्राप्त गरेको उनको भनाइ थियो । 'एमसीसी कम्प्याक्ट अन्तर्गत गोरखपुरसम्म प्रशारण लाइन दीर्घकालीन योजना तयार भएको छ । यो लगानी एमसीसीले राष्ट्रिय गौरवको योजनाको महत्व र हैसियत प्राप्त गरेको छ,' उनले भने ।

एमसीसी परियोजनाअन्तर्गत नेपालको भूभाग हुँदै भारतको गोरपुरसम्म १२० किलोमिटर लम्बाइको ४०० केभी क्षमताको प्रशारण लाइन विस्तार गर्ने कार्यक्रम हो । त्यसका लागि नेपाल सरकार र भारत सरकारबीच सहमति भइसकेको प्रधानमन्त्रीले बताए । 'नेपालको उत्पादित विद्युत् भारत र बंगलादेश बेच्न बाटो खुलेको छ । अन्य देशमा निर्यात गर्ने बाटो पनि सुनिश्चित भएको छ,' उनले थपे ।

एमसीसीबारे नेकपाको झलनाथ खनाल कार्यदलले अध्ययन गरिरहेको छ । संसदबाट पारित गर्नुपूर्व खनाल, भीम रावल र प्रदीपकुमार ज्ञवाली नेतृत्वको कार्यदलले सम्झौताको अध्ययन गरेर प्रतिवेदन तयार गर्न लागेको हो ।

सम्बन्धित समाचार:

प्रकाशित : फाल्गुन ३, २०७६ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?