कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

'चीनबाट फर्काइनेलाई अन्यत्र राख्दा विवाद होला भनेर मेरै जिल्लामा राख्‍न लागेको हो'

कान्तिपुर संवाददाता

काठमाडौँ — चीनका कोरोना भाइरस प्रकोप फैलिएका क्षेत्रमा रहेका नेपालीलाई नेपाल ल्याउन लागिएको छ । चीनबाट नेपाल ल्याउन लागिएका १८२ नेपालीलाई आइतबार बिहान २ बजेपछि नेपाल आइपुग्ने बताइएको छ । उनीहरूलाई भक्तपुरको खरिपाटीमा राख्ने तयारी भइरहेको छ ।

'चीनबाट फर्काइनेलाई अन्यत्र राख्दा विवाद होला भनेर मेरै जिल्लामा राख्‍न लागेको हो'

चीनबाट फर्काइन लागेका नेपाली नागरिकलाई भक्तपुरको खरिपाटीमा राख्नेबारे त्यहाँबाट निर्वाचित नेमकिपाका सांसद प्रेम सुवालले विरोध गर्दै आएका छन् । उनले यसअघि पनि संसदमा खरिपाटीमा चीनबाट फर्काइन लागेका नेपालीलाई राख्न नहुने बताए । चीनबाट फर्काइन लागेकालाई भक्तपुरमा राख्दा जोखिम निम्त्याउने उनको तर्क छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार प्रतिनिधिसभामा सरकारका दुई वर्षका उपलब्धिका फेहरिस्त राखेपछि सांसद सुवालले प्रश्न सोधे, 'जनता भन्दैछन्, भक्तपुरमा कोरोना भाइरसको क्वारेन्टाइनस्थल राख्नु र नगरकोटका सडक नबनाउनु नगरकोटको पर्यटनलाई समाप्त पार्नु हो । स्थानीय जनतालाई भगाउनु हो ।'


भक्तपुरबाट निर्वाचित नेमकिपाका एकमात्र सांसदको प्रश्नको जवाफमा ओलीले भने, 'भक्तपुर मेरो पनि जिल्ला हो, म त्यही बस्छु ।'



चीनबाट कोरोना भाइरसका बिरामी ल्याउन लागिएको होइन भनेर पनि ओलीले सुवाललाई सम्झाए । 'कोरोना भाइरसका बिमारी नेपालले ल्याउन लागेको होइन । कुनै देशमा बिरामी भयो भने त्यो निको नभई ल्याउन पाइँदैन । हामीले त्यो बिमारले नछोएका विद्यार्थीहरूलाई ल्याउन लागेका हौं, जाँच गरेर ल्याउन लागिएको हो,' उनले थपे, 'बिमार छैन उनीहरूमा, तैपनी कथम कदाचित बाटोमा पनि संक्रमित भयो कि भनेर क्‍वारेन्टाइनमा राख्नुपर्छ ।'


नेपाल फर्काइन लागेकालाई कहिँ न कहिँ त राख्नुपर्ने भन्ने ओलीको भनाइ थियो । उनले भने, 'नेपालमा ७७ जिल्ला छन्, कहिँ त राख्नुपर्ला ! अनि डाक्टर पनि नभएको, अस्पताल पनि नभएको ठाउँमा लगेर राख्न त भएन । अलिकति अनुकूलता, सुविधा भएका ठाउँमा राख्नुपर्‍यो ।'


सुवालले भक्तपुरमा राख्नै नहुने भन्ने तर्कको जवाफलाई इंगित गर्दै ओलीले भने, 'मेरो जिल्लामा राख्न हुन्न भनेपछि कुन जिल्लामा राख्‍ने ? भक्तपुर मेरो पनि जिल्ला हो, म पनि त्यही बस्छु । त्यसकारण मैले अरु जिल्लामा पठाउँदा विवाद होला भनेर मेरै जिल्लामा राख्‍न लागेको हो ।'

सम्बन्धित समाचारः

प्रकाशित : फाल्गुन ३, २०७६ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?