१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गच्छदारविरुद्द मुद्दा : कांग्रेसको समीकरणमा कस्तो असर पर्ला ?

मधुसुधन भट्टराई

काठमाडौँ — ललिता निवासको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसभापति विजयकुमार गच्छदारलाई मुद्दा दायर गरेपछि कांग्रेसले त्यो मुद्दाको राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ । 

गच्छदारविरुद्द मुद्दा : कांग्रेसको समीकरणमा कस्तो असर पर्ला ?

माघ २२ गते अख्तियारले गच्छदारसहित १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेपछि तीन दिनसम्म संसद अवरोध गरेको कांग्रेसको माघ २७ को केन्द्रीय कार्यसमितिले भन्यो, ‘आयोगले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारमाथि नेपाल सरकारको प्रभाव र दबाबमा मुद्दा दायर गरेको छ । यो कार्य राजनैतिक पूर्वाग्रह र बद्नियतले प्रेरित रहेको ठहर गर्दै बैठक घोर भर्त्सना र खेद व्यक्त गर्दछ तथा यस्तो प्रतिशोधपूर्ण व्यवहारको राजनीतिक रुपले प्रतिवाद गर्ने निर्णय गर्दछ ।’

यसअघि पूर्वमन्त्री तथा पार्टीका नेताहरु खुमबहादुर खड्का, गोविन्दराज जोशी, चिरन्जीवी वाग्लेविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गर्दा कांग्रेसले यति चर्को आवाज उठाएको थिएन । खड्का र वाग्लेलाई सर्वोच्च अदालतले दोषी करार गरिसकेको छ भने जोशीको मुद्दा सर्वोच्चमै विचाराधीन छ ।

विशेष अदालतमा मुद्दा दायर भएपछि संसदीय दलका उपनेता गच्छदारको सांसद पद निलम्बनमा परेको छ । दोषी ठहरिएमा उनले जेल सजाय त भोग्ने नै छन्, राजनीतिक करिअर पनि समाप्त हुनेछ । विगतमा वाग्ले, खड्का र पूर्वमन्त्री जेपी गुप्ताको राजनीतिक करिअरमा भ्रष्टाचार ठहर भएपछि पूर्णविराम लागेको थियो । २०७४ असोज २९ गते आफू नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा एकीकरण गराएका गच्छदारविरुद्ध मुद्दा दायर भएपछि कांग्रेसभित्रको राजनीतिक समीकरण पनि केही फेरबदल हुन्छ ।

गच्छदारको मुद्दाले सबभन्दा पहिलो असर सभापति शेरबहादुर देउवालाई पर्ने देखिन्छ । गच्छदार पार्टीमा देउवाको पक्षमा थिए । यसले देउवालाई गुटगत हिसाबमा बलियो बनाएको थियो । यसका साथै, आगामि १४ औं महाधिवेशनमा पनि सभापति उम्मेदवार बन्ने आकांक्षा पालेका देउवाका लागि गच्छदार सहयोगी हुने अनुमान थियो । गत महाधिवेशनमा खुमबहादुर खड्काको जस्तै यसपालि गच्छदारको साथ निर्णायक हुने देउवा पक्षको अनुमान थियो ।

क्रियाशील सदस्यता वितरणमा गच्छदार समूहलाई २० प्रतिशत दिने निर्णय कांग्रेसले गरेको छ । त्यो २० प्रतिशतमा गच्छदारको राम्रो पकड नभएका स्थानमा आफ्ना कम्तीमा १३ प्रतिशतजति राखेर पार्टीभित्रको अर्को पक्षलाई अप्ठेरोमा पार्ने दाउ देउवाको थियो । गच्छदारको पार्टीको प्रभाव मधेस र त्यसमा पनि थारुको बाहुल्यता भएका जिल्लामा रहेकाले देउवालाई आफ्नो समूहको संगठन मजबुत बनाउन सहज हुन्थ्यो ।

गत वर्ष मंसिर अन्तिम साता भएको महासमिति बैठकमा एक हजार ३ सय महासमिति सदस्य भएको कांग्रेसमा गच्छदारलाई २ सयजना दिइएको थियो भने एक सयजना पर्यवेक्षक दिइएको थियो । त्यही अनुपातमा महाधिवेशन प्रतितिनिधि पनि तीन हजार एक सयमा हिसाब किताब गरेर गच्छदारलाई दिने निर्णय कांग्रेसको छ । लोकतान्त्रिक फोरमको जिल्ला समिति भएको जिल्लामा कांग्रेससँग समायोजन भएपछि जिल्ला सभापतिलाई उपसभापतिको हैसियत दिने निर्णय पनि कांग्रेसले गरेको छ । गच्छदार यदि पार्टी पदाधिकारीको उम्मेदवार बन्न पाएनन् वा उनको हातमा शक्ति रहेन भने कार्यकर्ता सबै एउटै छातामा रहने सम्भा‍वना नरहन सक्छ । जस्तो केन्द्रमा गच्छदारको पार्टीबाट कांग्रेसमा आएका भए पनि राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देव गच्छदार समूहमा छैनन् ।

कांग्रेस परित्याग गरी मधेसी दलमा जानुअघि पनि गच्छदारको कांग्रेसमा आफ्‍नै गुट थियो । आफ्नो पार्टीसहित कांग्रेसमा आएका गच्छदार खासमा आफ्‍नै गुट सहितै आएका थिए । र, यो गुट देउवा समूहभित्रै अटाएको थियो । विश्‍लेषक पुरञ्जन आचार्य भन्छन्, ‘पार्टी इक्वेसनमा शेरबहादुरलाई धक्का लाग्छ । कांग्रेसलाई राष्ट्रिय राजनीतिमा धक्का लाग्छ । पार्टी राजनीतिमा त धक्का लाग्यो नै ।’

गच्छदार प्रकरणले देउवालाई नेता व्यवस्थापनमा भने सहज हुने देखिन्छ । अहिलेको कार्यसमितिमा गच्छदारसँगै विमलेन्द्र निधि पनि उपसभापति छन् । मधेसका यी दुवै नेताले आउने महाधिवेशनमा उपसभापति दाबी गर्नु स्वभाविक थियो । दुवै उपसभापति मधेसी नेतालाई बनाउँदा देउवालाई सन्तुलन मिलाउन गाह्रो हुन्थ्यो ।

बलियो जनाधार मधेस भएको कांग्रेस ०६२/०६३ को जनआन्दोलनपछि मधेसका हस्ती भनेर चिनिएका नेताहरु बाहिरिएपछि कमजोर भएको थियो । फलस्वरुप २०६४ मा भएको निर्वाचनमा कांग्रेस मधेसमा कमजोर बन्यो । जनआन्दोलनपछि तत्कालीन कोषाध्यक्ष महन्थ ठाकुर, गच्छदार, सरतसिंह भण्डारी, जयप्रकाश गुप्ता, रामजनम चौधरीलगायतका नेता कांग्रेसबाट बाहिरिएका थिए ।

गच्छदार फर्किपछि मधेसको धरातल पुनः बलियो बनेको कांग्रेस नेताहरुको विश्लेषण थियो । गच्छदारसँगै चौधरी पनि फर्किएका थिए । विश्‍लेषक आचार्य गच्छदारविरुद्ध मुद्दा चलेपछि कांग्रेसलाई थारु बहुल क्षेत्रको क्षेत्रीय राजनीतिमा असर पर्ने बताउँछन् । ‘विजयकुमार गच्छदारको कांग्रेसमा पुनः प्रवेशले खासगरी मधेसमा प्रभाव राम्रो बनेको थियो । थारु समुदायमा त उनको ज्यादै नै प्रभाव थियो,’ आचार्यले इकान्तिपुरसित भने, ‘थारुहरुको बाहुल्यता भएको क्षेत्रीय राजनीतिमा यसले व्यापक असर गर्छ । थारु बाहुल्यता भएको क्षेत्रमा गच्छदारलाई नेता बनाउन चार दशक बढी समय लाग्यो । अब अर्को नेता बनाउन पुनः त्यति नै समय पर्खनु पर्छ ।’

गच्छदारलाई मुद्दा लाग्दा मधेसको संगठन कमजोर बन्ने आँकलन भए पनि देउवानिकट केन्द्रीय सदस्य एनपी साउद भने गच्छदारविरुद्धको मुद्दाले कांग्रेसले सहानुभूतिको मत बटुल्न सक्ने बताउँछन् । उनी भन्छन्, ‘मधेसमा कांग्रेसमा सहानुभुति आउने छ । थारु समुदायमा विजय गच्छदारलाई फसाइएको भन्ने भएकाले संगठनमा त्यति धेरै फरक पर्दैन ।’

पार्टी भित्रको आन्तरिक समीकरणमा पनि खासै फरक नपर्ने साउदको तर्क छ । ‘गच्छदारको राजनीतिक भविष्य विशेष अदालतको निर्णयबाट मात्रै तय हुन्छ । मुद्दा चल्दैमा व्यक्ति दोषी हुँदैन । मुद्दा निर्क्यौल नहुँदासम्म पार्टीको इक्वेसनमा फरक पर्दैन,’ साउदले भने, ‘फैसला भयो भने मात्रै त्यस विषयमा कस्तो असर पर्छ भन्न सकिन्छ, अहिले नै आँकलन र अनुमान गर्नु जायज हुँदैन ।’


देउवालाई महाधिवेशनमा कांग्रेसलाई राष्ट्रिय राजनीतिमा धक्का लाग्छ

पुरन्जन आचार्य, विश्‍लेषक

विजयकुमार गच्छदार कांग्रेसका हस्ती नै हुन् । उनी संघर्षबाट खारिएका नेता हुन् । बीचमा उनी मधेसका एजेण्डामा कांग्रेस छोडेर अर्कै पार्टीमा लागेका थिए । उनको कांग्रेसमा पुनः प्रवेशले खासगरी मधेसमा प्रभाव राम्रो बनेको थियो । थारु समुदायमा त उनको ज्यादै नै प्रभाव थियो । थारुहरुको बाहुल्यता भएको क्षेत्रीय राजनीतिमा यसले व्यापक असर गर्छ ।

थारु बाहुल्यता भएको क्षेत्रमा गच्छदारलाई नेता बनाउन चार दशक बढी समय लाग्यो । अब अर्को नेता बनाउन पुनः त्यति नै समय पर्खनु पर्छ । अहिले मोरङ, सुनसरीमा गए पनि बाँके बर्दियामा गए पनि थारुका नेता गच्छदार नै थिए । जनमत र जातीय राजनीतिमा यो मुद्दाको असर पर्नसक्छ ।

गच्छदारले छुट्टै पार्टी निर्माण गरेर बनाएको संगठन कांग्रेसमा मर्ज गराएका थिए । कांग्रेसको १४ औं महाधिवेशनमा त्यसको फाइदा लिन कांग्रेस नेताहरु तँछाडमछाड गरिरहेका थिए । त्यसमा पनि खासगरी शेरबहादुर देउवालाई गच्छदारले मलाई नै सहयोग गर्छन् भन्ने थियो होला । महाधिवेशनलाई लिएर सोच्दा पार्टीबाट गच्छदार निस्कासनमा पर्दैनन् । भ्रष्टाचारको आरोप प्रमाणित भएपछि पनि खुमबहादुर खड्का केन्द्रीय सदस्य भइरहेकै थिए । तर, पनि उनीमाथि नैतिक प्रश्न त उठ्छ नै ।

यदि गच्छदार दोषी प्रमाणित भए भने पार्टी इक्वेसनमा शेरबहादुरलाई धक्का लाग्छ । कांग्रेसलाई राष्ट्रिय राजनीतिमा धक्का लाग्छ । पार्टी राजनीतिमा त धक्का लाग्यो नै । किनभने अर्को विजय निकाल्न त कांग्रेसलाई समय लाग्छ ।

प्रकाशित : फाल्गुन ६, २०७६ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?