कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माननीयहरू संसदमा भन्दा पनि मन्त्रालयका भर्‍याङमा भेटिन्छन् : अध्यक्ष तिमिल्सिना

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चुनावमा सांसदको उम्मेदवारले विधि निर्माणलाई एजेन्डा बनाएर भोट माग्नुपर्ने र संसदमा पनि विधि निर्माणमै केन्द्रीत हुनुपर्ने बताएका छन् । विधायन व्यवस्थापन समितिले विधि निर्माण र कार्यान्वयन परीक्षण तथा मूल्यांकन सम्बन्धमा प्रकाशित गरेको पुस्तिकाको मंगलबार सिंहदरबारमा विमोचन गर्दै तिमिल्सिनाले सांसदहरू विधि निर्माणमा लाग्नुपर्ने र मूल्यांकन पनि सोही आधारमा हुनुपर्ने बताएका हुन् ।

माननीयहरू संसदमा भन्दा पनि मन्त्रालयका भर्‍याङमा भेटिन्छन् : अध्यक्ष तिमिल्सिना

अहिलेका सांसदहरू कानुन निर्माणमा भन्दा पनि ससाना विकास निर्माणका काममा लागेको भन्दै तिमिल्सिनाले असन्तुष्टि जनाए । ‘अहिले नीति निर्माण पनि विकास पनि सम्पूर्ण कुरा हामी नै गछौं भन्ने छ । योजना बनाउने, नीति निर्माण गर्ने कुरामा सांसदको भूमिका हुने हो तर हामी त्यो भन्दा धेरै मसिनो तहमा पनि जाने गरेका छौं,' उनले भने, 'अहिले त हिँउदे अधिवेशन भएको हुँदा अलि धेरै माननीयहरू संसद भवनतिर देखिनुहुन्छ । बजेट अधिवेशन, वर्षे अधिवेसन भयो भने त त्यहाँ हाजिर गर्‍यो अनि सबै कहाँ हुनुहुन्छ भन्यो भने मन्त्रालयका कोठाकोठामा, दर्ता चलानी देखि सविच, मन्त्रीसम्मको कोठाकोठामा, भर्‍याङभर्‍याङमा भेटिनुहुन्छ ।’

चुनावको बेलामा नै राम्रो नीति निर्माण गर्छु भनेर सांसदले भन्नुपर्ने तिमिल्सिनाको भनाइ थियो । चुनावमा केही नेताले मात्रै विधि निर्माणका कुरा गर्ने नत्र अधिकांशले बाटो र सडक निर्माणदेखि पुलपुलेसा निर्माण गर्छु भनेर भोट माग्ने गरिएको उनले बताए । नेपाली राजनीतिमा त्यो दिन ल्याउन दलहरूले भूमिका खेल्नुपर्ने उनको आग्रह थियो । विधि निर्माणमा लाग्छौं भनेर झुक्किएर मात्रै चुनावमा भन्ने गरेकाले जनताले सांसदबाट विकासको आश गर्ने उनको भनाइ थियो ।

विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङले समाज र संसदको सम्बन्ध घनिष्ट बनाउन पनि सांसदहरूको ध्यान सबैभन्दा बढी नीति निर्माणमा हुनुपर्ने बताए । उनले ऐन निर्माण पछि ऐनको उद्देश्य पूरा भयो कि भएन वा त्यसको प्रयोग कसरी भइरहेको छ भन्ने विषयको मूल्यांकन हुनुपर्ने बताए ।

राष्ट्रिय सभामा सत्तारुढ दल नेकपाका नेता दिनानाथ शर्माले संसदबाट निर्माण भएका कानूनहरूको समीक्षा संसदीय समितिहरूले गर्नुपर्ने बताए । उनले कानुन बनाउनुभन्दा पहिले हाम्रा कानुन कस्तो हुने भन्ने विषयमा छलफल भएजस्तै कानून निर्माण पछि कसरी कार्यान्वयनमा रहेको छ भन्ने विषयमा समेत छलफल गर्नुपर्ने उनको भनाइ थियो ।

प्रतिपक्षी दल कांग्रेसबाट राष्ट्रियसभाका नेता सुरेन्द्रराज पाण्डेले पैसाको कुरामा हरेक संस्थामा अडिट भएजस्तै कानुनको अडिट संसदबाट हुनुपर्नेमा जोड दिए । उनले विधायन व्यवस्थापन समितिले प्रकाशित गरेको पुस्तिकामा समयसमयमा ऐनको अडिट हुनुपर्छ, मूल्यांकन हुनुपर्छ भन्ने कुरा आएको उल्लेख गर्दै यो विषय महत्वपूर्ण भएको बताए । उनले कानुनमा अडिट नभएको कारण समाजमा गम्भीर असर पार्न सक्नेमा नीति निर्माता सचेत हुनुपर्ने बताए ।

पूर्व सांसद खिमलाल देवकोटाले कानुन निर्माताहरूको दायित्व के हुनुपर्छ भन्ने कुराको संकेत पुस्तिकाले गरेको बताए । उनले कानून बनाएर मात्र नहुने र कानूनको निरन्तर निगरानी गर्ने तथा कानूनको पनि अडिट हुन्छ भन्ने कुराको आरम्भ हुनु सुःखद भएको बताए ।

नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेलले पुस्तिकाले कानून निर्माणको चरण मात्रै महत्वपूर्ण होइन भन्ने देखाएको बताए । उनले कानुन निर्माणपछि पनि हाम्रो दायित्व छ भन्ने कुराको उजागर पुस्तिकाले गरेको बताए ।

प्रकाशित : फाल्गुन ६, २०७६ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?