कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बेपत्ताको सूचीमा रहेका केही व्यक्ति फर्किएका छन् : आयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — द्वन्द्वकालमा 'बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग'ले बेपत्ताको सूचीमा रहेका केही व्यक्ति आयोगको सम्पर्कमा आएको जनाएको छ । आयोगका अध्यक्ष युवराज सुवेदीले बेपत्ताको सूचीमा रहेकाहरू सम्पर्कमा आएकाले उनीहरूको नाम केही दिनमा सार्वजनिक गर्ने बताएका हुन् ।

बेपत्ताको सूचीमा रहेका केही व्यक्ति फर्किएका छन् : आयोग

आयोगमा मंगलबार पत्रकार सम्मेलन गरेर सुवेदीले भने, 'बेपत्ता भएका व्यक्तिहरू हाम्रो सम्पर्कमा आउनुभएको छ । उहाँहरूको नाम केही दिनमा सार्वजनिक गर्नेछौं ।' आयोगको बेपत्ता सूचीमा परेकाहरू सम्पर्कमा आएकाले त्यो सूचीबाट नाम हटाइन लागेको पनि उनले जानकारी दिए । उनले भने, 'आयोगमा उजुरी परेकाले बेपत्ताको सूचीमा पर्नुभएको थियो । भारत, कतार जानुभएको रहेछ र अहिले फिर्ता आउनुभएको छ ।'

द्वन्द्वकालमा परिवारका सदस्य बेपत्ता भएका कारण सम्पत्ति रोकिएको भए आयोगमा सम्पर्क गर्न पनि उनले आग्रह गरे । सम्पत्ति हस्तान्तरण, अंशबण्डा लगायतका समस्या आएका छन् भने आयोगमा सम्पर्क गरेर समाधान गर्न सकिने उनले बताए । 'विसं २०५२ फागुन १ देखि २०६३ मंसिर ५ गतेसम्म भएको घटनामा बेपत्ता व्यक्तिका कारण कसैको जग्गा रोक्का भएको छ, त्यसमा केही समस्या भएमा आयोगमा सम्पर्क गर्नुस्, आयोगले सहयोग गर्छ', उनले भने । आयोगमा उक्त अवधिमा बेपत्ता पारिएका व्यक्तिको दुई हजार ५०६ उजुरी परेको छ । उजुरीउपर अघिल्लो कार्यकालका पदाधिकारीले ६४ जिल्लाको विस्तृत अध्ययन सकेका थिए भने ११ जिल्लामा अध्ययन बाँकी छ ।

आयोगले व्यक्ति हेरेर छानबिन नगर्ने प्रतिवद्धता जनाउँदै सुवेदीले उजुरीकर्ताले दिएको उजुरीको र छानबिनको आधारमा निर्णय हुने बताए । ठूला व्यक्तिलाई छोड्ने र सानालाई समात्ने भन्ने आशंका नगर्न आग्रह गर्दै उनले भने, ‘अनुसन्धानले को ठुलो को सानो भन्दैन । हामीले गरेको अनुसन्धानको नतिजा हेरेर मूल्यांकन गर्नुहोला ।’

आयोगले अनुसन्धान गर्न बाँकी जिल्लामा अधिकृत तोकेर टोली पठाउने तयारी गरेको छ । आयोगसम्बन्धी ऐन संशोधनको तयारी सुरु भएको पनि अनि अध्यक्ष सुवेदीले जानकारी दिएका छन् ।

प्रकाशित : फाल्गुन ६, २०७६ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?