सुनौलो बिरालोको नयाँ पश्चिमी अवस्थिती फेला पर्यो
काठमाडौँ — संकटासन्न अवस्थामा पुग्न लागेको सुनौलो बिरालोको नयाँ पश्चिमी अवस्थिती फेला परेको छ । गौरीशंकर संरक्षण क्षेत्रको जैविक विविधता अध्ययन गरिरहेका ६ जना अनुसन्धानकर्मीहरुले सुनौलो बिरालोको नयाँ अवस्थिती पत्ता लगाएका हुन् ।
सोमबार ‘जर्नल अफ थ्रिटेन ट्याक्सा’ मा प्रकाशित अनुसन्धानले अब सुनौलो बिरालोको नयाँ पश्चिमी अवस्थिती नेपालको गौरीशंकर संरक्षण क्षेत्र भएको जनाएको छ । सेन्टर फर पोस्ट ग्रयाजुएट स्टडिज एवं पोखरा विश्वविद्यालयका उपप्राध्यापक नारायणप्रसाद कोजू, त्रिविका उपप्राध्यापक मनकुमार धमला, शंकर थामी, विजय बस्याल, सत्यनारायण साह र विष्णु पाण्डेले यसको अनुसन्धान गरेका थिए ।
इन्डोनेसिया, म्यानमार, भुटान, भारत, चीनलगायत दक्षिण पूर्वी एसियाली देशहरुमा यो बिरालो पाइन्छ । यसअघि गरिएका अनुसन्धानहरुले पश्चिमी क्षेत्रमा नेपालको मकालु बरुण राष्ट्रिय निकुञ्जसम्म पाइने उल्लेख थियो । गौरीशंकर संरक्षण क्षेत्रमा यो जीव भेटिएसँगै यसको फैलावट त्यहाँसम्म देखिएको हो ।
क्यामेरामा कैद भएको सुनौलो बिरालो । तस्बिर सौजन्यः नारायणप्रसाद कोजु ।
सानो बिरालो प्रजातिको यो जीव नेपालमा पहिलो पटक सन् २००९ मा यादव घिमिरेले मकालु बरुण राष्ट्रिय निकुञ्जमा फेला पारेका थिए । सन् १९९३ यो बिरालोको छालाबाट निर्मित ९ वटा कोट काठमाडौंमा फेला परेको थियो । त्यसबेला भारतबाट तस्करी गरेर ल्याइएका बिरालोबाट कोट निर्माण गरिएको खुलेकाे थियाे ।
त्यसपछि यसबारे नेपालमा गरिएको पहिलो अनुसन्धान २००९ मा प्रकाशित भएको अनुसन्धानकर्ता कोजूले जानकारी दिए । यस्तै, २०१९ मा तीनजुरे मिल्के जलजले क्षेत्रमा पनि यो पाइएको थियो ।अनुसन्धानकर्ता कोजूका अनुसार यो जीव मध्य पहाडी क्षेत्रमा पाइने बताए । यो जीव २ हजारदेखि ३२ सय मिटरको उचाइमा पाइने कोजूले बताए ।
अर्का अनुसन्धानकर्ता मनकुमार धमलाका अनुसार सुनौलो बिरालो साना बिराला प्रजातिहरुभित्र पर्ने र संसारमा यसको संख्या घटिरहेको बताए । छाला र रौंका लागि यसकाे चोरी सिकारी हुने गरेको छ । बासस्थानको विनाशले यो संसारबाट घटिरहेको र नेपालमा यसको संख्या यकिन नभएको धमलाले बताए।
खाद्य चक्र सन्तुलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने यो जीवले स–सना प्रजातिहरुको संख्या सन्तुलन गर्न महत्वपूर्ण भूमिका खेल्ने अनुसन्धानकर्ताकाे भनाइ छ । नेपालमा यो जीवबारे ढिलो अनुसन्धान भएकाले कम जानकारी भएको र यस सम्बन्धी अनुसन्धान गर्न धेरै बाँकी छ । नेपालमा याे बिरालाे सम्बन्धी ३ वटा मात्रै अनुसन्धान प्रकाशित छन् ।
अनुसन्धानकर्ताहरुले २०१८ को २२ ओक्टोबर देखि २०१९को ६ अप्रिलसम्म ११ वटा क्यामेरा राखेका थिए । २ हजार ५ सय ४० मिटरको उचाईमा बिरालाे क्यामेरा ट्रयापमा परेकाे थियो ।
यस्ता प्रजातिहरु लोप भए भने पारिस्थितीकीय प्रणाली असुन्तुलन हुने धमलाले बताए । यो प्रजातिको बिरालोले आफ्नो तौलभन्दा धेरै ठूलाे प्रजातिका जीव मारेर खान्छ । यसले घरपालुवा जनावरका बच्चा पनि खाने गरेकाे अनुसन्धानकर्ताहरुले बताए ।
प्रकाशित : फाल्गुन ६, २०७६ २०:४०