कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

मिचाहाको शत्रु खपटे

अब्दुल्लाह मियाँ

काठमाडौँ — लहरे वनमारा झारले चितवन निकुञ्जका घाँसे मैदान ढाकिए । ‘माइकेनिया म्याकारान्था’ नामको वनमारा यति फैलियो कि निकुञ्जसँगै संरक्षणकर्मी र सम्बद्ध निकाय नै चकित भए । २०६६ मा तत्कालीन वनमन्त्री दीपक बोहराले त्यो झार फाल्ने अभियानको आरम्भ प्रधानमन्त्री माधव नेपालबाटै गराए ।

मिचाहाको शत्रु खपटे

छिटो बढ्ने र धेरै फैलिने भएकाले वनस्पतिविद्ले ‘माइल अ मिनट’ पनि भन्ने यो झार निर्मूल पार्ने अभियानका बेला हँसियाले काटेर लहरा फालिए । बटुलेर बालिए । तर निमिट्यान्न भएन । मुलुकको पूर्वी क्षेत्रबाट भित्रिएको यो वनस्पति झन् फैलँदै अहिले दाङसम्मै पुगेको छ ।


छोटो समयमै धेरै क्षेत्रसम्म फैलिएर पोसिलो घाँस र बासस्थान ढाकिदिने भएकाले यसको प्रत्यक्ष असर एकसिंगे गैंडा, मृग, हात्तीजस्ता घाँसमा निर्भर हुने वन्यजन्तुमाथि परेको छ । नियन्त्रण गर्ने उपाय नहुँदा माइकेनियाजस्तै तीतेपाती (पार्थेनियम), कालो र सेतो वनमारा, जलकुम्भी, वनफाँडा र गन्धे झारलगायत मिचाहा अरू थुप्रै प्रजाति तराईदेखि हिमाली क्षेत्रसम्मै फैलिएको छ । बाहिरबाट भित्रिएका त्यस्ता प्रजाति तीव्र गतिमा फैलने, रैथाने प्रजातिलाई विस्थापन गरिदिने र ‘पारिस्थितिकीय चक्र’ को सन्तुलन बिगारिदिन्छन् । नेपालमा यस्ता २६ वटा मिचाहा वनस्पतिको प्रजाति पहिचान गरिएको छ ।


देशभरि मिचाहा झार फैलिरहेका बेला एक अध्ययनले ‘म्याक्सिकन खपटे किरा’ ले त्यसको रोकथाम र नियन्त्रण गर्न सहयोग गर्ने गरेको निष्कर्ष निकालेको छ । मिचाहा प्रजातिको अत्यधिक जोखिम राष्ट्रमा नेपाल तेस्रो स्थानमा पर्छ । विश्वभर मिचाहाको जोखिम बेहोर्दै गरेका मुलुक १ सय २४ छन् । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक दयाराम भुसाल र भारतको बनारस हिन्दु विश्वविद्यालयका भूपेन्द्र कुमारको अध्ययनले म्याक्सिकन खपटे किराले तीतेपाती झार (पार्थेनियम) लगायतका मिचाहा प्रजातिका झारलाई आहाराका रूपमा रुचाउने गरेको निचोड निकालेको हो ।


‘उच्च तापक्रम (३४–३६ डिग्री सेल्सियस) भएको क्षेत्रका म्याक्सिकन खपटे किरा खन्चुवा हुने गरेको देखिन्छ,’ बेलायतमा हालै प्रकाशित अध्ययनको जर्नलमा भनिएको छ, ‘नेपालमा पनि ती खपटे किरालाई मिचाहा झार नियन्त्रणका निम्ति प्रयोग गर्न सके समस्या समाधानमा सहयोग पुग्छ ।’


‘पहाडमा पाइने ठूलो आकारका खपटे किराहरूले भन्दा तराई अर्थात् गर्मी ठाउँमा पाइने खपटे किराले मिचाहा झार बढी र छिटो खाएको पाइएको छ,’ अनुसन्धानको नेतृत्व गरेका भुसालले कान्तिपुरसित भने ।


‘समस्या पनि तराई र गर्मी क्षेत्रमै देखिएकाले नियन्त्रणका लागि खपटे किरा उपयोगी बन्न सक्छन्,’ उनले भने । किरा प्रजातिबारे विद्यावारिधि गरेका भुसाल भन्छन्, ‘धेरै संख्यामा खपटे किरा उत्पादन गरेर मिचाहा झार भएको क्षेत्रमा छोड्न सकियो भने नियन्त्रण गर्न सकिन्छ ।’ उनका अनुसार विकसित देशहरूमा व्यापक उत्पादन विधि (मास रियरिङ टेक्नोलोजी) प्रयोग गरी यस्ता उपयोगी खपटे किराहरूलाई मिचाहा झारको नियन्त्रणका निम्ति प्रयोग गर्ने गरेको पाइन्छ ।


यो किरा नेपालमा पनि उपलब्ध हुने भएकाले संख्या बढाउन पनि सजिलो छ । उनीहरूको अध्ययनले तापक्रम कम भएको (२४–२५ डिग्री सेल्सियस) क्षेत्रमा भने खपटे किराले मिचाहा झार खान अल्छी मान्ने गरेको देखाएको छ । नेपालमा मिचाहा झारहरू समस्या विकराल बन्दै गएको भन्दै नियन्त्रण नगरे यहाँका रैथाने जीवजन्तु र वनस्पतिलाई समस्या हुने अध्ययनको निष्कर्ष छ ।


नेपालमा भित्रिएका मिचाहा प्रजाति (झार) बारे अध्ययन गरेका त्रिवि वनस्पतिशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक भरतबाबु श्रेष्ठका अनुसार माइकेनिया अर्थात् लहरे वनमारा विश्वकै अति हानिकारक मिचाहा प्रजातिभित्र पर्छ । नेपालबाट यसको उन्मूलन सम्भव नभए पनि नियन्त्रणका उचित विधि अपनाउन सके पूर्वी र मध्य नेपालमा यसको प्रभाव घटाउन सकिने श्रेष्ठको सुझाव छ ।


कसरी भित्रिन्छन् ?

श्रेष्ठका अनुसार आकर्षक फूलका कारण पानीमा तैरिएर हुर्कने जलकुम्भीलाई बगैंचाभित्र स–साना पोखरीमा सजावटका लागि रैथाने क्षेत्र दक्षिण अमेरिकाबाट अफ्रिका, एसिया, अस्ट्रेलियामा भित्र्याइएको थियो । ‘दुर्भाग्यवश, यो वनस्पति मानव निर्मित पोखरीबाट प्राकृतिक पोखरी, ताल, नदीनालामा फैलिन गई जैविक विविधता, पारिस्थितिकीय चक्र एवं उपयोगितासम्मै गम्भीर असर परेको छ,’ उनी उल्लेख गर्छन् ।


कोसीटप्पु वन्यजन्तु आरक्ष, चितवनको बीसहजारी ताल, कैलालीको जाखोर ताल, पोखराको फेवातालमा जलकुम्भी तीव्र गतिमा फैलिरहेको छ । अमेरिकी वैज्ञानिक सेलाइन बेलार्डका अनुसार ५ सय वर्षमा संसारबाट लोप भएका वनस्पतिका प्रजातिमध्ये ५० प्रतिशत हराउनुको प्रमुख कारण मिचाहा प्रजातिको फैलावट नै हो ।


डेभिड पाइमेन्टेलका अनुसार मिचाहा प्रजातिको नियन्त्रण प्रयासमा बर्सेनि विश्वव्यापी रूपमा १४ खर्ब अमेरिकी डलर बराबरको आर्थिक भार थपिने गरेको छ । बाह्य मिचाहा प्रजातिले कृषि उत्पादनमा पनि ह्रास ल्याई खाद्य सुरक्षामा गम्भीर असर पारेको हुन्छ ।


मिचाहा प्रजाति भित्रिनुमा अन्तर्राष्ट्रिय विमानस्थल एवं सीमा नाकाहरूमा हुने फितलो क्वारेन्टाइन परीक्षण र खुला सिमाना मुख्य कारण हो । श्रेष्ठका अनुसार सुगाप्वाँखे नामक सिमसार क्षेत्रको मिचाहा वनस्पति काठमाडौंमा मात्र फैलिएको छ । ‘मिचाहा प्रजाति नियन्त्रणका लागि भौतिक एवं यान्त्रिक, रासायनिक र जैविक विधि अपनाइन्छन्,’ श्रेष्ठको सुझाव छ, ‘जैविक शत्रु पहिचान गरी उपयुक्त शत्रुलाई मिचाहा प्रजाति भएका स्थानमा छाड्ने हो भने नियन्त्रण हुन्छ । पातीझार नियन्त्रणका लागि मेक्सिकोमा पाइने र पातीझारलाई मात्र खाने खपटे किरा छनोट गरी सन् १९८४ मा भारतको बंगलुरुमा छाडिएको थियो । यो किरा भारतबाट प्राकृतिक रूपमा फैलँदै सन् २००५ तिर नेपाल छि‍रेको थियो । ‘यसले पातीझारको सबै पात खाएर बिरुवा मार्छ,’ श्रेष्ठ भन्छन् ।


कारण जलवायु परिवर्तन

अर्का वनस्पतिविद् उत्तमबाबु श्रेष्ठको अध्ययनले जलवायु परिवर्तनको असर बढ्दै जाँदा मिचाहा प्रजातिको घना उपस्थिति भएका क्षेत्रमा (हटस्पट) पनि फैलिँदै गएको छ । ‘जलवायु परिवर्तनका कारण, आगामी वर्षहरूमा नेपालका पहाडी र हिमाली क्षेत्रको औसत तापक्रम बढ्दै जाने देखिन्छ,’ उनको निष्कर्ष छ, ‘तराई र तल्लो पहाडी भेगमा मात्र भएका मिचाहा प्रजाति अब अधिक उचाइ भएको क्षेत्रको तापक्रम पनि बढ्नेछ र ती क्षेत्र पनि मिचाहा वनस्पतिका लागि उपयुक्त हुनेछन् ।’


प्रतिवेदनका अनुसार तीन हजारदेखि चार हजार मिटर उचाइको नेपालको सबअल्पाइन क्षेत्रमा हाल मिचाहा वनस्पति पाइएका छैनन् । तर, सन् २०५० भन्दा अगाडि ती क्षेत्रमा पनि मिचाहा वनस्पति पुग्नेछन् ।


मिचाहा प्रजाति नियन्त्रणका बनाइएको रणनीति वन तथा वातावरण मन्त्रालयमै थन्किएको छ । रणनीतिमा पाँचवटा अत्यन्त हानिकारक मिचाहा प्रजातिको पहिचान गरी राष्ट्रिय स्तरको सर्वेक्षण गर्ने, क्वारेन्टाइनमा पहिचान क्षमता अभिवृद्धि गर्ने, मिचाहा झार मार्न शत्रु किराको प्रयोग गर्ने र समुदायमा आधारित सहभागितामूलक कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

प्रकाशित : फाल्गुन १३, २०७६ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?