१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

त्रिविमा करार शिक्षक थप्‍ने तयारी

गणेश राई

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अनुगमन निर्देशनालयको सुझावविपरीत करार शिक्षक थप्ने तयारी गरेको छ । राजनीतिक आस्था र भागबन्डाका आधारमा कार्यरत आंशिक शिक्षकलाई करारमा नियुक्ति गर्न लागिएको हो । 

त्रिविमा करार शिक्षक थप्‍ने तयारी

त्रिवि अनुगमन निर्देशनालयले आंगिक क्याम्पसहरूको अवस्था, त्यहाँ कार्यरत शिक्षक र विद्यार्थीको अनुपात अनुगमन गरी शिक्षक सरुवा तथा सिफ्ट समायोजन गर्न कार्यकारी परिषद्लाई सिफारिस गरिसकेको छ । लामो समयदेखि आन्दोलनरत आंशिक शिक्षकले दाङ, नेपालगन्ज, पोखरा, बुटवललगायतका आंगिक क्याम्पसमा तालबन्दी गर्दै आएका छन् । शिक्षकको आन्दोलनपछि त्रिवि कार्यकारी परिषद्ले आंशिक शिक्षक सम्बन्धमा अध्ययन कार्यदल गठन गरेको छ । निर्देशनालयको सुझावलाई बेवास्ता गर्दै कार्यकारी परिषद्ले प्राध्यापक विनोद पराजुलीको संयोजकत्वमा कार्यदल बनाएको हो ।


निर्देशनालयको अनुगमनले ठूला क्याम्पसले बिहान, दिवा र साँझको सत्र (सिफ्ट) मा पठनपाठनको व्यवस्था गरेको पाएको जनाइएको छ । कतिपय क्याम्पसमा साँझको सत्रमा विद्यार्थी संख्या शून्यप्रायः हुने र बिहानी सत्रमा बढी चाप देखिएको छ । तर विद्यार्थी शून्यप्राय हुने कक्षाका शिक्षकले हाजिरमात्र गरेर तलब बुझ्ने गरेका छन् । त्यस्ता क्याम्पसमा सिफ्ट मर्ज (समायोजन) गर्न तथा शिक्षकलाई केन्द्रमा सरुवा गरी काम दिन भनिएको छ ।


‘कतिपय क्याम्पसमा शिक्षकको कार्यभार बढी र कतिपयमा कम पाइएको छ,’ निर्देशनालयका कार्यकारी निर्देशक विष्णुप्रसाद खनालले भने, ‘हरेकजसो क्याम्पसमा आंशिक शिक्षकको चाप बढी देखिन्छ । विषय नमिलेका शिक्षकलाई केन्द्रमा सरुवा गरेर काम लगाउन सिफारिस गरेका छौं । पूर्णकालीनलाई तोकिएअनुसार कक्षा भार दिने र अतिरिक्त पढाउन सके थप पारिश्रमिक दिन भनेका छौं ।’ कार्यकारी परिषद्ले निर्देशनालयको सुभावलाई कार्यान्वयन गर्नेतर्फ चासो नदेखाएको उनको भनाइ छ ।


स्थायी उपप्राध्यापक, सहप्राध्यापक र प्राध्यापकले थोरै कक्षा पढाउने तथा अन्यत्र पढाउने तर त्रिविमा हाजिरमात्र गर्ने गर्दछन् । त्यसैले अधिकांश क्याम्पसमा आंशिक शिक्षकका भरमा कक्षा चलिरहेका छन् । ‘आन्दोलनरत आंशिकको समस्या न्यूनीकरण गर्ने निहुँमा आफ्नो कार्यकर्ता भर्ती गर्ने प्रपञ्च भएको देखिन्छ,’ त्रिविमा अध्यापनरत एक प्राध्यापकले भने, ‘आफ्नो मान्छेलाई आंशिक बनाइएका छन् । त्रिवि व्यवस्थापनले दरबन्दी दिने भएपछि रातारात करारको संख्या बढाइएको छ ।’


आंशिक प्राध्यापक संघका कार्यवाहक अध्यक्ष नरेन्द्रप्रसाद भण्डारी आफ्ना मागबारे क्याम्पसहरूमा आन्दोलन जारी रहेको बताए । ‘हामी ६ देखि १२ वर्षसम्म आंशिक भएर पढाइरहेका छौं,’ अध्यक्ष भण्डारीले भने, ‘त्रिवि सेवा आयोगले नियमित पदपूर्ति गर्दैन । प्राध्यापकहरूको अभाव पूर्ति हामी आंशिकले गर्दै आएका छौं ।’ उनले आंशिक शिक्षकको समस्याबारे उपकुलपति धर्मकान्त बाँस्कोटालाई लिखित रूपमा जानकारी गराएको बताए । उपकुलपति बाँस्कोटाले भने आफू व्यस्त रहेको भन्दै यसबारे प्रतिक्रिया दिन अस्वीकार गरे ।


त्रिवि सेवा आयोगका अध्यक्ष प्राध्यापक लालुप्रसाद पौडेलले कार्यकारी परिषद्ले दिएको दरबन्दी मात्र पदपूर्ति गरिने बताए ।

प्रकाशित : फाल्गुन १३, २०७६ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?