१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अध्यागमनले फर्कायो ५८ विद्यार्थी

विमानस्थलको अध्यागमनमा शिक्षा मन्त्रालयले दिने ‘नो अब्जेक्सन लेटर’ को वैधता जाँच्ने संयन्त्र छैन 
शिक्षा मन्त्रालय र अध्यागमनबीच समन्वय अभावले विद्यार्थीलाई सास्ती
जनकराज सापकोटा

काठमाडौँ — स्नातक तहको होटल म्यानेजमेन्ट पढ्न दमौलीकी विपना क्षत्री सोमबार बिहान २ बजेको उडानमार्फत साइप्रस जाँदै थिइन् । परिवारका सदस्यसँग बिदाबारी भएर उनी विमानस्थलभित्र छिरिन् । बोर्डिङ पास र लगेज व्यवस्थापनको चटारो सकेर अध्यागमन काउन्टरमा पुगेपछि उनलाई रोकियो ।

अध्यागमनले फर्कायो ५८ विद्यार्थी

उनले आफूलाई किन रोकियो भन्ने मेसो पाइनन् । उनीभन्दा अघिको उडानमार्फत साइप्रस जान आँटेका अरू विद्यार्थीलाई पनि विमानस्थल अध्यागमनले रोकेर राखेको थियो । विदेश अध्ययनका लागि विद्यार्थीले शिक्षा मन्त्रालयबाट लिएको ‘नो अब्जेक्सन लेटर’ नक्कली भएको आशंका अध्यागमन कर्मचारीलाई थियो । उनीहरूले क्षत्रीजस्ता ६७ विद्यार्थीलाई ‘अफलोड’ अर्थात् उडान गर्ने अनुमति रोकेका थिए ।


बिदाबारी भइवरी एयरपोर्ट छिरेकी क्षेत्रीलाई अध्यागमनका कर्मचारीको व्यवहारले चित्त दुखायो । त्योभन्दा पीडा एकछिन अघि बिदाइ गरेका आफन्तसँगै एयरपोर्टबाट फर्किनुपर्दा भयो । शिक्षा मन्त्रालयको ‘नो अब्जेक्सन’ शाखाले जारी गरेका पत्रहरू सक्कली हुन् कि होइनन् भनेर विमानस्थलमा अध्यागमनले राति जाँच गर्ने व्यवस्था नभएको विद्यार्थीले बाहिरबाट थाहा पाउने विषय थिएन ।


कर्मचारीको शंका पनि निराधार थिएन तर केही नक्कली पत्र बोकेकाहरूसँगै निर्दोषले पनि सास्ती पाए । अध्यागमन विभागका निर्देशक लीलाधर अधिकारी भन्छन्, ‘शिक्षा मन्त्रालयबाट जारी भएको ‘नो अब्जेक्सन लेटर’ को सूची मात्रै अध्यागमनमा हुन्थ्यो भने सक्कली कागज भएकालाई रोक्नुपर्दैनथ्यो । यो समस्या आउँदैनथ्यो ।’


विमानस्थल अध्यागमनले उड्ने बेलामा रोकेर फर्काइदिएका मध्ये अधिकांश विद्यार्थी सोमबार डिल्लीबजारस्थित अध्यागमन कार्यालय पुगेका थिए । विभागका निर्देशक अधिकारीका अनुसार सोमबार कार्यालय आएका ५८ जनामध्ये एक जनाको ‘नो अब्जेक्सन लेटर’ नक्कली भेटिएको छ । त्यस्तै विमानस्थलबाटै जम्मा पारिएका नौ ‘नो अब्जेक्सन लेटर’ मध्ये चारवटा नक्कली भेटिएको छ । निर्देशक अधिकारीले भने, ‘मन्त्रालय र अध्यागमनको समन्वय नहुँदा केही नक्कली पत्रका कारण सबैले दुःख पाउनुपर्‍यो । अब त्यस्तो अवस्था दोहोरिँदैन ।’


विपनाका अनुसार विमान चढ्ने बेला रोकिँदा टिकटको पैसा गुम्यो । उनले फेरि ३३ हजार रुपैयाँमा सोमबारकै नयाँ टिकट काट्नुपर्‍यो । उनले भनिन्, ‘सिस्टमको कमजोरीले गर्दा मानसिक सास्ती त भयो भयो, टिकटको पैसा पनि खेर गयो ।’


त्यो रात उड्नबाट वञ्चित गरिएमध्येका जोरपाटीका सुशीलकुमार शाहले पनि दिक्क माने । ‘नो अब्जेक्सन लेटर’ नक्कली बनाउनेहरूका कारण आफूहरूले अनाहकमा दुःख पाएको उनले बताए । सोमबार अध्यागमन विभागमा आएका उनले भने, ‘बिनाकारण हामीलाई उड्न दिइएन । समयमै कलेज नपुगे पढाइ छुट्ने पीर छ ।’ उनले मंगलबारबाट आफूहरू विश्वविद्यालयमा उपस्थित भइसक्नुपर्ने बताउँदै अन्तिम समयमा सरकारी निकायले दुःख दिएका कारण तनाव भएको सुनाए ।


शिक्षा मन्त्रालयले जारी गरेको ‘नो अब्जेक्सन लेटर’ को वैधता अध्यागमनले जाँच्ने संयन्त्र नहुँदा यसअघि पनि शंकाको भरमा विद्यार्थीहरू विमानस्थलबाट फर्किनुपरेको थियो । सोमबारको घटनापछि भने अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले शिक्षा मन्त्रालयका प्रतिनिधिहरूसँग बैठक डाकेका थिए । शिक्षा मन्त्रालयका सहसचिव रामशरण सापकोटाले आइतबार बिहानको घटनाबारे त्यतिबेलै मन्त्रालयले थाहा नपाउँदा समस्या भएको बताए । यस्तो समस्या दोहोरिन नदिन मन्त्रालयले जारी गरेको ‘नो अब्जेक्सन लेटर’ सम्बन्धी जानकारी अध्यागमनलाई दैनिक रूपमा उपलब्ध गराउने व्यवस्था मिलाइने उनले बताए । ‘यही साताभित्रै यस्तो संयन्त्रको निर्माण भइसक्छ,’ उनले भने, ‘त्यसपछि यस्तो समस्या दोहोरिँदैन ।’ नक्कली ‘नो अब्जेक्सन लेटर’ कसले, कसरी बनायो भन्नेबारे पनि छानबिन हुने उनले बताए ।

प्रकाशित : फाल्गुन १३, २०७६ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?