रेडपान्डाको छालासहित ४ जना पक्राउ
काठमाडौँ — महानगरीय अपराध महाशाखाले काठमाडौंबाट दुर्लभ वन्यजन्तु रेडपान्डाको छालासहित ४ जनालाई पक्राउ गरेको छ ।
महाशाखाको टोलीले सोमबार दिउँसो बुढानिलकण्ठ नगरपालिका १२ कपन खरिबोटबाट सिन्धुली तिनपाटन गाउँपालिका- ४ बालाजोरका ३९ वर्षीय सूर्यबहादुर भुजेल, धादिङ धुनिबेसी नगरपालिका ७ झाप्रेका ४० वर्षीय सुकबहादुर लामा, काठमाडौं बुढानिलकण्ठ नगरपालिका १३ कपनकी ४० वर्षीया कमला तामाङ र कास्की मादी गाउँपालिका ८ तारकाङका ३७ वर्षीय युवराज सापकोटालाई पक्राउ गरेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।
गोप्य सूचनाको आधारमा शरीर खानतलासी गर्दा भुजेलले बोकेको झोलाभित्र निलो प्लास्टिकमा बेरिएको अवस्थामा दुर्लभ वन्यजन्तु रेडपान्डाको छाला फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको सिंहले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरुलाई कारबाहीको लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइएको उनले बताए ।
प्रकाशित : फाल्गुन १३, २०७६ १२:५०