संसद्‌मा प्रतिपक्षीको एकै स्वर : भ्रष्टाचारबारे प्रधानमन्त्रीको जवाफ आओस् 

जयसिंह महरा

काठमाडौँ — सरकारको दुई वर्ष पुगेको दुई साता नबित्दै प्रधानमन्त्री केपी शर्मा ओली र सरकारविरुद्ध संसद्‍मा प्रतपक्षी दलहरू एकै स्वरमा बोल्न थालेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रतिपक्षी दलहरू कांग्रेस, राजपा र समाजवादी पार्टीले एकै स्वरमा सरकार भ्रष्टाचारमा डुबेको भन्दै त्यसलाई अन्त्य गर्न प्रधानमन्त्रीको प्रतिबद्धता माग गरेका छन् ।

संसद्‌मा प्रतिपक्षीको एकै स्वर : भ्रष्टाचारबारे प्रधानमन्त्रीको जवाफ आओस् 

यसअघि बिहीबार बसेको संसद् बैठक अवरुद्ध गरेको कांग्रेसले मंगरबारको बैठकमा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय, वाइडबडी, न्यारोबडी, ललिता निवास जग्गा प्रकरणमा व्यापक भ्रष्टाचार भएको भन्दै प्रधानमन्त्रीले यी विषयमा जवाफ दिनुपर्ने माग गरेको हो । प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीले दुई दिन पहिले तामझामसहित मनाएको जन्मदिनको पनि आलोचना गरेका छन् ।


मंगलबारको बैठकको सुरुमै ढ्यापढ्यापे समय मागेर कांग्रेस, राजपा र समाजवादीले प्रधानमन्त्रीबाट भ्रष्टाचार प्रकरणमा जवाफ माग गरेका हुन् । यी तीन दलको प्रश्‍नको केन्द्रमा भ्रष्टाचार थियो र जवाफ प्रधानमन्त्रीबाट मागेका थिए ।

व्यंग्यसहित प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिएर बोल्न सुरु गरेका कांग्रेस सांसद मिनेन्द्र रिजालले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा निवर्तमान सूचना तथा सञ्‍चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बढी कमिसन दिने कम्पनीलाई दिन खोजेको आरोप लगाए । 'सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा जसले बढी कमिसन दियो उसलाई दिन खोजेका थिए । लेखा समितिले सेक्युरिटी प्रेस खरिदबारे छानबिन गर्न लेखा समितिले निर्देशन दिएको छ,' उनले भने, '७० करोड कमिसन माग्दा मन्त्रीलाई लाज लागेन ? भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचारीको मुख हेर्दिनँ भनेको होइन ?'


रिजालले प्रधानमन्त्री र यति होल्डिङ्सको सम्बन्धबारे पनि प्रश्‍न गरेका थिए । त्यस्तै बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा आफू निकटकालाई छुट दिएको र प्रतिपक्षी तथा आफ्नो गुटबाहिरका व्यक्तिलाई कारबाही गर्ने एवं तर्साउने काम भइरहेको पनि बताए ।


लामो समयपछि कांग्रेसले नेपाल वायुसेवा निगमले खरिद गरेका वाइडबडी र न्यारोबडी जहाज खरिदबारे संसद्‍मा आवाज उठाएको छ । रिजालले यो विषयमा भने, 'न्यारोबडी जहाज खरिदबारे विदेशी कम्पनीले भन्यो सरकारी अधिकारीलाई घूस दियौं । सार्वजनिक लेखा समितिले १ महिनामा त्यो विषयमा छानबिन गर भनेको छ तर सरकारले समय पुग्दैन भन्छ । काम गरेको छैन ।' उनको माग थियो, 'वाइडबडी र न्यारोबडी जहाज खरिदबारे अख्तियारले मुद्दा दायर गरेर किनारा लगाओस् ।'


प्रधानमन्त्री ओलीले केही पहिले गोकुल बाँस्कोटा र अन्य मन्त्रीको तुलना गरेको अभिव्यक्ति उल्लेख गर्दै रिजालले सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा अर्बौंका आयोजनामा व्यापक भ्रष्टाचार भएको बताए । उनले स्याटेलाइट, टेलिकम, फाइबर लगायतका विषयमा भ्रष्टाचार भएको बताए ।


प्रधानमन्त्रीले जन्मदिनमा तमासा देखाएको रिजालको भनाइ थियो । जनतामा नेकपा सरकारका प्रधानमन्त्रीले देखाएको तामझाम सत्ता-उन्माद भएको उनको भनाइ थियो । उनले भने, 'तपाईंको जन्मघरलाई लाग्यो होला यो आफ्‍नो खड्गप्रसाद होइन, कुनै राजा महाराजा हो । त्यो घरको आत्माले तपाईंलाई चिनेन होला' उनले प्रश्‍न गरे, 'त्यो घरको अगाडि उभिएर जनता कुन लोकमा र तपाईं कुन लोकमा हुनुहुन्छ भन्ने सोच्‍नुभयो ?' उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई स्वागत गर्न विद्यार्थी घण्टौ उभिएको विषय उल्लेख गर्दै आलोचना गरेका थिए ।


समाजवादी पार्टीकी सांसद सरिता गिरीको भनाइ पनि कांग्रेस सांसद रिजालको सँग मिल्दोजुल्दो थियो । उनले भ्रष्टाचारले सरकारलाई डुबाएको भन्दै समयमै प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताइन् । 'भ्रष्टाचारको पानी शिरभन्दा माथि गइसकेको छ,' उनले भनिन्, 'यी विषयको छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्छ ।'


राजपाका सांसद प्रमोद साहले भ्रष्टाचारको विषयसँगै नेकपाले गठन गरेको संविधान संशोधन कार्यदलबारे प्रश्‍न गरेका थिए । उनले मधेसवादी पार्टीहरूले संविधान संशोधनको माग गरेर लामो आन्दोलन गरेको र सयौंको मृत्यु भएको भन्दै संविधानको संशोधन व्यक्तिका लागि हुन नहुने बताए । नेकपाले माधवकुमार नेपालको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन गरेको र विवादित भएकोप्रति संकेत गर्दै उनले भने, 'नेकपाले व्यक्तिका लागि संशोधन कार्यदल गठन गरेको छ । संविधान संशोधनको माग गर्ने हाम्रा कतिपय नेता कार्यकर्तालाई अनाहकमा राज्यले मुद्दा लगाएर जेलमा राखेको छ । सरकारले पाँच पटक मधेसवादी दलहरूसँग संविधान संशोधनको सम्झौता गरेको छ । संविधान संशोधन कार्यदल व्यक्ति विशेषका लागि नेकपाले गरेको कुरा दुःखद हो ।'


सांसद साहको आलोचनाको केन्द्रमा गोकुल बाँस्कोटा पनि परेका थिए । उनले भने, 'प्रधानमन्त्रीको विश्वासपात्र गोकुल बाँस्कोटाबारे कुरा चलिरहेको छ । पान पसल, चिया पसल, चोक चौराहामा यस्तो कुरा भइरहेको हो ।

तपाईंको विश्वास पात्रले यति ठूलो भ्रष्टाचारको काम गरेको छ ।' बाँस्कोटाको प्रकरणमा प्रधानमन्त्री पनि शंकाको घेरामा परेको साहको दाबी थियो । उनले भने, 'प्रधानमन्त्री पनि त्यो कठघरामा उभिएको अवस्था छ । सदनमा तपाईंमाथि उठेका प्रश्नको जवाफ माग गर्न चाहन्छु । तपाईंमाथि ठूलो प्रश्न उठेको छ । तपाईंको जवाफ पछि मात्रै सदन विश्वस्त हुन्छ ।'


प्रतिपक्षमा रहेका तीनवटै दलहरू पहिलोपटक सरकारविरुद्ध यसरी एकस्वर लिएर उपस्थित भएका हुन् । विगतमा राजपा र समाजवादीले सरकारलाई समर्थन गरेका थिए । समाजवादी भने सरकारमा नै सहभागी थियो । प्रतिपक्षी कांग्रेस आन्तरिक विवादमा थियो ।


राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र समाजवादी सरकारबाट बाहिरिएसँगै तीनवटै पार्टी सरकारविरुद्ध सदनमा एकस्वरमा उपस्थित भएका हुन् ।

प्रकाशित : फाल्गुन १३, २०७६ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?