कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

उपरथी हमाल फोर्स कमान्डर नियुक्त  

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली सेनाका उपरथी ईश्वर हमाल संयुक्त राष्ट्र संघ (यूएन) को शान्ति मिसनको फोर्स कमान्डरको रुपमा नियुक्त भएका छन् । उनलाई यूएनका महासचिव एन्टोनियो गुटेरेजले सोमबार यूएन डिसइन्गेजमेन्ट अब्जरभर फोर्सको कमान्डरमा नियुक्त गरेका हुन् । नेपाली सेनाबाट शान्ति मिसनको महत्वपूर्ण ओहदामा पुग्ने हमाल छैटौं जर्नेल भएका छन् ।

उपरथी हमाल फोर्स कमान्डर नियुक्त  

यसअघि वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापासहित पूर्व जर्नेलहरू बालानन्द शर्मा, कृष्णनारायण थापा, भिक्ट्री शम्शेर राणा र पवन जंग थापाले पनि यूएन अन्तर्गत रहेर फोर्सको कमान्डरको जिम्मेवारी सम्हालिसकेका छन् ।


सन् २०१९ को जुनदेखि अक्टोबरसम्म उक्त कमान्डमा नेपालकै अर्का उपरथी शिवराज खरेलले कायम मुकायम फोर्स कमान्डरको रुपमा काम गरेका थिए । खरेलले सेनाबाट अवकाश पाइसकेका छन् ।

सन् १९८३ मा सेनामा प्रवेश गरेका हमाल अहिले सेनाको कमान्ड एन्ड स्टाफ कलेज शिवपुरीका प्रमुख छन् । उनले यसअघि मध्यपश्चिम पृतनाको नेतृत्व गरिसकेका छन् ।

हमालले फोर्स कमान्डरको नेतृत्व गर्न लागेको यूएन डिसइन्गेजमेन्ट अब्जरभर फोर्सको सन् १९७४ को मेमा यूएनको सुरक्षा परिषदले इजरायल र प्यालेस्टाइनबीचमा शान्ति सुरक्षा कायम राख्न संकल्प प्रस्ताव पारित गरेको थियो । हमालले नेतृत्वमा रहने फोर्सले इजरायल र प्यालेस्टाइनबीच हुने द्वन्द्वात्मक क्रियाकलापलाई निरीक्षण गर्नुपर्ने हुन्छ । उक्त डिसइन्गेजमेन्ट अब्जरभर फोर्सको यूएनले हरेक ६/६ वर्षमा म्याद थप्दै आइरहेको छ ।

फोर्स कमान्डरमा प्रतिस्पर्धाको लागि सेनाको सिफारिसमा नेपाल सरकारको स्वीकृत लिएर यूएनमा आवेदन दिनुपर्ने हुन्छ । विभिन्न मुलुकबाट आएको आवेदन र त्यसपछि हुने प्रतिस्पर्धामा अब्बल बन्दै फोर्स कमान्डरको नेतृत्व गर्न पाइन्छ । फोर्स कमान्डरले विभिन्न मुलुकका सैनिकहरुलाई परिचालन, निर्देशन र नियन्त्रण गर्छन् ।

प्रकाशित : फाल्गुन १३, २०७६ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?