कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पार्टी सदस्यका लागि नेकपाले ल्यायो ११ बुँदे कार्यक्रम

कान्तिपुर संवाददाता

काठमाडौँ — विशेष अभियानमार्फत तल्ला तहका कार्यकर्ता कहाँ पुग्ने योजनासँगै नेकपाले पार्टी सदस्यताका लागि ११ बुँदे कार्यक्रम बनाएको छ । कार्यक्रममा सदस्यता नवीकरणदेखि तल्ला तहका कमिटी निर्माणसम्म र प्रशिक्षणदेखि आचारसंहिता लागूसम्म छन् ।

पार्टी सदस्यका लागि नेकपाले ल्यायो ११ बुँदे कार्यक्रम

यसबाहेक सरकारका कामको सकारात्मक प्रचार प्रसार र विकास निर्माणका योजनामा जुट्नेसम्मका कार्यक्रम नेकपाले ल्याएको छ । पार्टीका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालका तर्फबाट जारी ‘विशेष परिपत्र – ८’ मा पार्टी सदस्यहरुका लागि कार्यक्रम सुनिश्चत गरिएका छन् ।


फागुन ११ गते जारी ११ बुँदे परिपत्र अनुसार ‘केन्द्रीय कमिटी र प्रदेश कमिटीका सदस्यले आ–आफ्नो कार्यक्षेत्र अन्तर्गतका जिल्ला कमिटीसँग समन्वय गरी निर्धारित समयभित्र संगठित सदस्यता तथा साधारण सदस्यता नवीकरण सम्पन्न गर्न र निजहरुलाई विधानबमोजिम पार्टी कमिटी वा पार्टी सेलमा संगठित गर्न सक्रिय सहयोग’ गर्नुपर्नेछ ।


यसैगरी ‘केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश कमिटी र जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य कमरेडहरु र जनवर्गीय, पेसागत तथा सामुदायिक संगठनमा आबद्ध भई काम गरिरहेका संगठित सदस्य तथा साधारण सदस्यहरुले निर्धारित समयभित्र आफ्नो सदस्यता कायम रहेको सम्बन्धित कमिटीमा नवीकरण शुल्क र लेबी बुझाई सदस्यता नवीकरण गर्ने । नवीकरणपछि अनिवार्य रुपमा सधारण सदस्यता पत्र वा संगठित सदस्यता पत्र प्राप्त गर्ने,’ परिपत्रमा निर्देशन छ ।


जिल्ला कमिटी मातहतका सबै संगठित सदस्यहरु र साधारण सदस्यले जिल्लाबाट खटिएको कार्यदलसमक्ष बाँकी रहेको सदस्यता शुल्क र लेबी बुझाई साधारण सदस्यता वा संगठित सदस्यता नवीकरण गर्ने अर्को कार्यक्रम तय गरेको छ ।


यसबाहेक नवीकरण गरी परिचय–पत्र प्राप्त गरेका संगठीत सदस्यहरुलाई २०७७ असार मसान्तभित्र पार्टीको टोल वा प्रारिम्भक कमिटी वा कुनै न कुनै कमिटीमा संगठित गर्ने योजना छ ।


पार्टीको वडा कमिटी अन्तरगत आवश्यकता अनुसार एकभन्दा बढी टोल वा प्रारम्भिक कमिटी निर्माण गर्न सकिने र कारणबस त्यस अवधिभित्र संगठित गर्न नसकिएमा अर्को १५ दिनको अवधि थप्न सकिने परिपत्रमा छ ।


पार्टीका साधारण सदस्यहरुलाई टोल वा प्रारम्भिक कमिटीअन्तर्गत पार्टी सेलमा संगठित गर्ने, एउटा टोलमा आवश्यकता अनुसार एकभन्दा बढी पार्टी सेल निर्माण गर्न सकिने, सदस्यता नवीकरण लगत्तै संगठित सदस्य र साधारण सदस्यहरुलाई प्रशिक्षण गर्नका निम्ति पार्टी स्कुल विभागले प्रत्येक प्रदेश र जिल्लामा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने नेकपाको परिपत्रमा छ ।


यससँगै प्रशिक्षक प्रशिक्षणका लागि उपयुक्त व्यक्तिहरुलाई आगामी वैशाख १ गतेदेखि सात प्रदेश र ७७ जिल्ला कमिटीमा खटाउने, केन्द्रीय पार्टी स्कूल विभागले प्रशिक्षक प्रशिक्षणका लागि प्रशिक्षक खटाउन नसकेको अवस्थामा प्रदेश कमिटी वा अन्यत्रबाट उपयुक्त व्यक्तिलाई खटाउने पनि परिपत्रमा उल्लेख छ ।


प्रशिक्षक प्रशिक्षणपश्चात् पार्टी स्कुल विभागले केन्द्रीय कमिटी, केन्द्रीय निकाय र प्रदेश कमिटीका सदस्यहरुको संयोजकत्वमा प्रशिक्षण कार्यदल निर्माण परिचालित गर्ने, प्रशिक्षण कार्यदलहरुले टोल वा प्रारम्भिक कमिटीहरुमा रहेका संगठित सदस्य र पार्टी सेलमा रहेका साधारण सदस्यहरुलाई छुट्टाछुट्टै प्रशिक्षण दिने नेकपाको योजना छ ।


टोल वा प्रारम्भिक कमिटी र पार्टी सेलमा संगठित व्यक्तिहरुलाई सम्बन्धित टोलका जनताबीच पार्टीको नीति र विचार प्रचार–प्रसार गर्न खटाउने अर्को योजना छ । यसबाहेक सबै तहका पार्टी कमिटी र पार्टीका संगठित तथा साधारण सदस्यहरुले पार्टी केन्द्रबाट जारी गरिएको आचारसंहिता पालना गर्ने, गर्न लगाउने र त्यस सन्दर्भमा आफूलाई उदाहरण बनाउने अर्को योजना छ । हालै प्रधानमन्त्री एवं पार्टी अध्यक्षले आचारसंहिता विपरित जन्मदिवस मनाएको भनेर नेकपामा आलोचना भएको छ ।

पार्टीका सबै तहका कमिटी तथा सदस्यहरुले पार्टी र पार्टी नेतृत्वको सरकारका सम्बन्धमा सकारात्मक प्रचार गर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा प्रभावकारी भूमिका निर्वाह गर्ने, जनसरोकारका काम र विकास–निर्माण तथा सामाजिक कार्यमा सक्रिय रहने र जनतामा सकारात्मक ऊर्जा पैदा हुने गरी आशावादी विचारहरु प्रस्तुत गर्ने नेकपाका पार्टी सदस्यहरुलाई जिम्मा दिइएको छ ।


यसअघि नेकपाले विशेष परिपत्र – ७ जारी गरेर ०७६ चैत मसान्तभित्र पार्टीका संगठीत सदस्य र साधारण सदस्यहरुको सदस्यता नवीकरण सम्पन्न गरिसक्ने र ०७७ असार मसान्तभित्र नवीकरण भएका सबै संगठित सदस्यतथा साधारण सदस्यहरुलाई पार्टी कमिटी र पार्टी सेलमा संगठित गरिसक्ने निर्देशन दिएको छ ।


नेकपाले अहिले पार्टी एकता सुदृढीकरण र समृद्धिका लागि राष्ट्रिय अभियान सुरु गरेको छ । यसै अनुसार पार्टी सदस्यहरुको नवीकरण गर्ने उसको योजना थियो । आठ लाख पार्टी सदस्य रहेको नेकपाको दावी छ ।


अभियानले ‘पार्टीका समस्त नेता, कार्यकर्ता एवं सदस्यहरुको संगठित एवं योजनावद्ध परिचालन मार्फत पार्टी एकताको तात्कालिन एवं दीर्घकालिन महत्व जनतामा स्थापित गर्न, राजनीतिक स्थायीत्व एवं सामाजिक–आर्थिक रुपान्तरणद्वारा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा कार्यान्वयन गर्न र सुदृढ संगठन एवं फराकिलो जनाधार निर्माण गर्दै सरकारले गरेका सकारात्मक कामहरुबारे जनतामाझ सन्देश सम्प्रेषण गर्न र पार्टी पंक्तिमा नयाँ गतिशीलता सिर्जना गर्ने’ नेकपाको अपेक्षा छ ।

प्रकाशित : फाल्गुन १३, २०७६ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?