कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेनाभित्र प्राविधिक र इन्फेन्ट्रीबीच दूरी

जगदीश्वर पाण्डे

काठमाडौँ — नेपाली सेनाका इन्फेन्ट्री (साधारणतर्फ) र प्राविधिक (अन्य विशेष सेवा) अधिकृतबीच सैनिक मुख्यालय जंगी अड्डाभित्रै दूरी बढ्न थालेका संकेतहरू देखापरेका छन् । हाल सेनामा करिब ९५ हजार सैनिक छन्, जसमध्ये करिब पाँच हजार प्राविधिक हुन् । 

सेनाभित्र प्राविधिक र इन्फेन्ट्रीबीच दूरी

सैनिक नेतृत्वले इन्फेन्ट्रीलाई बढी महत्त्व दिएको र आफूहरूलाई दोस्रो दर्जाको रूपमा व्यवहार गरेको प्राविधिक अधिकृतहरूको गुनासो छ । प्राविधिकतर्फ इन्जिनियर, डाक्टर, लेखा र प्राड विवाकका सिपाही छन् ।


सेनामा विकास निर्माणका कार्य हेर्ने इन्जिनियरिङ विभागमाथि सार्वजनिक रूपमै भ्रष्टाचार र अनियमितताको आरोप लाग्न थालेपछि प्राविधिक अधिकृतहरूमाथि कडाइ गर्न थालिएको थियो । काठमाडौं–तराई द्रुतमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदनलगायत विषयमा प्रश्न उठेपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले अनुसन्धान गर्न लगाएका थिए । त्यसयता प्राविधिक अधिकृतको काममा निगरानी बढाइएको हो ।


हरेक काम अघि बढाउनुभन्दा पहिले प्राविधिकहरूले साधारणतर्फबाट नेतृत्व गर्ने सैनिक अधिकृतसँग सहमति लिनुपर्ने व्यवस्था मिलाइएको छ । कतिपय अवस्थामा साधारणतर्फका तल्लो दर्जाका सैनिक अधिकृतबाट सहमति लिनुपर्ने भएपछि प्राविधिक अधिकारी रुष्ट भएका हुन् ।


सैनिक प्रवक्ता विज्ञानदेव पाण्डे संगठनभित्र प्राविधिक र साधारण सैनिकबीच कुनै पनि दूरी वा द्वन्द्व नभएको दाबी गर्छन् । ‘बरु इन्फेन्ट्रीसरह प्राविधिकहरू पनि पोख्त हुनुपर्‍यो । आफ्नो प्रोफेसनबाहेक अरू कुरा पनि थाहा हुनुपर्‍यो भनेर प्राविधिकहरूलाई तालिम गराइएको छ,’ पाण्डेले भने, ‘त्यसलाई कसैले गलत रूपमा बुझेका हुन सक्छन् ।’ सैनिक ऐनअनुसार सेनामा प्राविधिकले केही पदमा साधारणभन्दा बढी उमेरसम्म काम गर्न पाउँछन् । उदाहरणका लागि प्राविधिकतर्फका सहायक रथीले ५८ वर्षसम्म जागिर खान पाउँछन् भने साधारणतर्फका सहायक रथीको अवधि ५६ वर्षमात्रै हुन्छ । साधारणतर्फ भर्ना हुन एक वर्षभन्दा बढी कडा तालिम लिनुपर्छ तर प्राविधिकमा तीनमहिने तालिम लिए पुग्छ । प्राविधिकतर्फका सैनिक अधिकृत उपरथीभन्दा माथि बढुवा हुने प्रावधान छैन । रथी र महारथी (प्रधानसेनापति) भने साधारणतर्फका मात्रै हुने व्यवस्था छ ।


प्रधानसेनापति थापाले प्राविधिक सैनिकका लागि सुरु गरेको ‘आफ्नै सेनालाई चिन’ अभियानलाई पनि प्राविधिक अधिकारीहरूले सहज रूपमा नलिएको स्रोतको भनाइ छ । विकास निर्माणमा हुन सक्ने अनियमितता र आचरण सुधार्न भन्दै थापाले उक्त अभियान अघि सारेका थिए ।


अभियानमा माथिल्लो तहका प्राविधिक अधिकृतलाई समेत तल्लो दर्जाका अधिकृतसँगै एउटै कक्षामा राखेर तालिम दिइएको थियो । ‘हामी प्राविधिक सैनिकसँग प्राविधिक ज्ञान हुन्छ, हाम्रो पनि आफ्नै विशेषता छ,’ एक प्राविधिक अधिकारीले गुनासो गरे, ‘हामीलाई कम आँक्ने काम संगठनमा हुनुभएन ।’


साधारणतर्फका सैनिक भने प्राविधिकहरू तीन महिनाको छोटो तालिम गरेर सेनामा छिर्न पाउने र त्यसले गर्दा संगठनबारे धेरै जानकार नहुने दाबी गर्छन् । ‘सेना भएर धेरैलाई त ठीकसँग सलाम गर्न पनि आउँदैन,’ साधारणतर्फका एक अधिकारीले टिप्पणी गरे ।


सुरक्षा मामिलाकी जानकार इन्द्र अधिकारीले साधारण र प्राविधिकबीच पहिलेदेखि नै टकराव रहँदै आएको बताइन् । उनका अनुसार विश्वभर सेनाको विशेषता भनेको इन्फेन्ट्रीतर्फ नै हो । ‘प्राविधिकको काम इन्फेन्ट्रीलाई सहयोग गर्ने हो, त्यसको मतलब प्राविधिक सैनिकको महत्त्व छैन भनिएको होइन । उनीहरूको पनि उत्तिकै महत्त्व हुन्छ,’ उनले भनिन्, ‘एउटा प्राविधिक सेनाको अधिकृत प्रमुख भयो भने उसले कसरी संगठनलाई कमान्ड गर्छ ? सेनामा कन्ट्रोल र कमान्ड साधारणतर्फबाट नै हुनुपर्छ । तर प्राविधिक सैनिकले पाउने सेवासुविधा र पदीय मर्यादालाई चाहिँ बिर्सन हुँदैन ।’

प्रकाशित : फाल्गुन १४, २०७६ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?