२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

हात नधोए सामान किन्न पाइँदैन

संखुवासभा — खाँदबारी बजारस्थित बराल किराना पसलबाहिर बाल्टिनमा पानी र छेउमा साबुन राखिएको छ । पसल पुग्ने जोकोही ग्राहकले पहिले साबुन पानीले अनिवार्य हात धुनुपर्छ अनि मात्र सामान खरिद गर्न पाइन्छ ।

हात नधोए सामान किन्न पाइँदैन

पसल सञ्चालक पोगषराज बरालले टाढाबाट अपरिचित ग्राहकसमेत आउने भएकाले केही दिनयता यस्तो व्यवस्था गरिएको बताए । ‘सामान किन्न आउनेले पहिले हात राम्ररी नधोएसम्म पैसा लिन्नँ, सामान पनि दिन्नँ,’ उनले भने ।


सबै व्यापारीले पसलछेउमा साबुन पानीको व्यवस्था गर्ने हो भने ग्राहक र व्यापारी दुवै कोभिड–१९ को जोखिमबाट सुरक्षित हुने उनले बताए । ‘ग्राहकले हात धुँदा ढुक्क भइँदोरहेछ, आत्मबल बढ्छ,’ उनले भने । खाँदबारीमा करिब तीन दर्जन व्यापारीले पसलअगाडि बरालले जस्तै व्यवस्था मिलाएका छन् । सामान किन्न पुगेकी मेनुका विकले यस्तो व्यवस्थाले ढुक्क भएको बताइन् । ‘बाहिरबाट जाँदा विभिन्न सामान छोइएको हुन्छ, उनले भनिन्, ‘हात धोएर सामान लिँदा ढुक्क लाग्छ ।’


सदरमुकाममा रहेका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाले समेत विभिन्न खाले सचेतना अपनाउन थालेका छन् । सेवाग्राही र कर्मचारीलाई हात धोएर, सेनिटाइजर प्रयोग गरेर र मास्क लगाएर मात्र कार्यालयभित्र प्रवेश गराउन थालिएको छ । सेवाग्राहीको चाप बढी हुने भएकाले सजगता अपनाउन यस्ता सामग्री अनिवार्य प्रयोग गर्न लगाइएको नबिल बैंक खाँदबारीका प्रमुख सन्तोष विमलीले बताए ।


गाउँपालिकामा पनि स्वास्थ्य स्वयंसेविकामार्फत् कोभिड सचेतनासम्बन्धी प्रचारप्रसार गर्न निर्देशन दिइसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटीले बताए । जिल्ला अस्पताल खाँदबारीमा भने पाँच शय्याको आइसोलेसन कक्ष तयार गरिएको छ ।


क्वारेन्टाइनका लागि भवन दिने प्रस्ताव


एकल महिला समूहले क्वारेन्टाइनका लागि छहारी भवन उपलब्ध गराउने प्रस्ताव गरेको छ । मानव अधिकारका लागि महिला, एकल महिला समूहका तर्फबाट संस्थापक अध्यक्ष लिली थापा र अध्यक्ष कुन्दा शर्माले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका ईश्वर पोखरेलसामु प्रस्ताव गरेका हुन् ।


एकल महिला समूहका लागि विभिन्न जिल्लामा बनाइएका १० वटा छहारी भवन सरकारलाई उपलब्ध गराइने जानकारी दिँदै थापाले ती भवनमा ३ सय ६५ जनालाई राख्न सकिने बताइन् ।

प्रकाशित : चैत्र ८, २०७६ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?