कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

पूर्वतयारी तीव्र, सामग्री अभाव

बंगलादेशबाट फर्किए विद्यार्थी, सीमामा आउजाउ रोक्न माग
चिनियाँलाई कार्यस्थलबाहिर नहिँड्‍न निर्देशन
प्रदेश ब्युरो

काठमाडौँ — कोभिड–१९ संक्रमण रोक्न सीमामा हेल्थ डेस्कसँगै क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गरिए पनि जनशक्ति र अत्यावश्यक सामग्रीतर्फ भने ध्यान दिइएको छैन । जिल्लाका कुनै पनि स्थानीय तहमा पर्याप्त स्वास्थ्यकर्मी छैनन् । औषधिसमेत अभाव छ । ‘अहिले पनि दरबन्दीअनुसार स्वास्थ्यकर्मी छैनन् ।

पूर्वतयारी तीव्र, सामग्री अभाव

हेल्थ डेस्क सञ्चालन गर्न करारमा कर्मचारी राखेका छौं,’ कञ्चनपुरको बेलौरी नगरपालिकाका प्रमुख पोतीलाल चौधरीले भने । महामारी फैलिए औषधिको ठूलै अभाव हुन सक्ने देखिएको उनको भनाइ छ । स्वास्थ्यकर्मीको पदपूर्ति गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयसँग आग्रह गरिएको उनले बताए ।


भीमदत्त नगरपालिकाले पुरानो नर्सिङ क्याम्पस भवनमा ५० बेडको आइसोलेसन कक्ष र ५० बेडको क्वारेन्टाइन बनाउने तयारी थालेको छ । अन्य स्वास्थ्य संस्थामा समेत तयारी गरिए पनि आवश्यक स्वास्थ्यकर्मी छैनन् । नगरपालिकाभरका स्वास्थ्य संस्थामा ४० जना मात्र कार्यरत छन् । ‘महामारी फैलिएमा अहिलेकै जनशक्तिले नियन्त्रण गर्न सकिने अवस्था छैन,’ नगरपालिकाकी उपप्रमुख सुशीला सिंह चन्दले भनिन्, ‘अहिलेकै अवस्थामा पनि जनशक्ति पर्याप्त छैन ।’


उनका अनुसार गड्डाचौकीस्थित हेल्थ डेस्कका लागि स्वास्थ्यकर्मीलाई करारमा भर्ना गरिएको हो । ब्रह्मदेवको डेस्कमा दुई जना मात्रै स्वास्थ्यकर्मी छन् । सात नगरपालिका र दुई गाउँपालिका रहेको कञ्चनपुरमा १८ स्वास्थ्यचौकी र ३ प्राथमिक स्वास्थ्य केन्द्र छन् । कुनैमा पनि दरबन्दीअनुसारको जनशक्ति नहुँदा सामान्य अवस्थामा समेत सेवा प्रवाहमा समस्या हुने गरेको छ । ‘ग्लोब्स, मास्क र सेनिटाइजरलगायत स्वास्थ्य सामग्रीको पनि अभाव छ,’ बेदकोट नगरपालिकाका प्रमुख अशोक चन्दले भने, ‘तर पनि हामीले रोकथामसँगै संक्रमण फैलिए त्यसका लागि पनि आवश्यक तयारी गरेका छौं ।’


स्थानीय तहका स्वास्थ्य केन्द्रमा मात्रै नभई महाकाली प्रादेशिक अस्पतालमा समेत दरबन्दीअनुसारको जनशक्ति छैन । विशेषज्ञसहित २८ डाक्टरको दरबन्दी भए पनि ११ जना मात्र कार्यरत रहेको अस्पतालका डाक्टर सरोज आचार्यले बताए ।’


सुनसान बन्दै नाका


यात्रु आवागमन र मालसामान आयात–निर्यातका लागि खुला गरिएको काँकडभिट्टा नाकामा शुक्रबारदेखि यात्रुको आवागमन घटेको छ । शुक्रबार दिउँसोदेखि पूर्वी नाकामा आवागमन घटेको डीएसपी राजेन्द्र पोख्रेलले बताए ।

बंगलादेशका मेडिकल कलेजले पठनपाठन अनिश्चितकालका लागि स्थगन गरेपछि नेपाली विद्यार्थी फर्कन थालेका छन् । अध्यागमन कार्यालयका अनुसार ३ दिनमा करिब एक हजार विद्यार्थी घर फर्किएका छन् । बुधबार ३ सय ८ र बिहीबार ३ सय ८७ विद्यार्थी पूर्वी नाकाबाट फर्किएका हुन् । बंगलादेशमा करिब ५ हजार नेपाली अध्ययनरत रहेको बंगलादेशस्थित नेपाली दूतावासले जनाएको छ ।


बन्दै आइसोलेसन र क्वारेन्टाइन


कोभिड–१९ संक्रमितलाई राख्न झापाको भद्रपुरस्थित कलबलगुडीमा ३२ शय्याको क्वारेन्टाइन निर्माण भएको छ । मेचीनगरको सतिघट्टा क्षेत्रमा क्वारेन्टाइन निर्माणको काम सुरु भएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए । मानव बस्तीभन्दा अलग्गै रहेको र प्रयोगविहीन २२ वटा पुराना भवनमध्ये तीन कोठामा क्वारेन्टाइन राखिनेछ ।


दोलखामा भने शुक्रबारसम्म २० वटा आइसोलेसन बेड तयार पारिएको छ । स्वास्थ्यकर्मीले भने व्यक्तिगत सुरक्षा सामग्री नभएको गुनासो गरेका छन् । मास्क र पन्जाकै भरमा उपचारमा संलग्न हुनुपरेको अस्पातालका मुख्य चिकित्सक डा. विनोद दंगालले गुनासो गरे । जिल्ला छिर्ने दुईवटा नाका किर्नेटार र खरीढुंगामा सहायता कक्ष स्थापना गरिएको छ । उत्तरी सीमा क्षेत्र लामाबगरमा सञ्चालित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा कार्यरत चिनियाँलाई कार्यस्थलबाहिर हिँड्न रोक लगाइएको छ ।


यसैबीच, प्रदेश १ सरकारले संक्रमणको जोखिम कम गर्न नेपाल–भारत आउजाउ रोक्न संघीय सरकारसँग माग गरेको छ । शुक्रबार मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले नाका आउजाउ हुने नाका बन्द गर्न केन्द्र सरकारसँग आग्रह गर्ने निर्णय गरेको सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए । सुनसरीका १२ नाकामा हेल्थ डेस्क राखिए पनि भरपर्दो देखिएको छैन ।


दक्षिणी भेगका विभिन्न नाकामा राखिएका डेस्कका कर्मचारीले सामान्य ग्लोब्स र मास्क लगाएर भारतबाट प्रवेश गर्नेलाई थर्मल स्क्यानरले ज्वरो जाँच गर्दै आएका छन् । बर्जु गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरीले सीमा नाकामा आवतजावत रोक्ने निर्देशन नभएकाले सामान्य जाँच गरेर नेपाल प्रवेश गर्न दिइएको बताए ।


भवानी भट्ट (कञ्चनपुर), पर्वत पोर्तेल (काँकडभिट्टा), राजेन्द्र मानन्धर (दोलखा) र प्रदीप मेन्याङ्बो (सुनसरी)

प्रकाशित : चैत्र ८, २०७६ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?