कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सुनौली नाकामा थप कडाइ

माधव ढुंगाना

भैरहवा — छिमेकी मुलुक भारतका विभिन्न स्थानमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्न थालेपछि सुनौली नाका हुँदै नेपाल आउने यात्रुमाथि दशगजा सिमानामा हुने कडाइ गरिएको छ ।

सुनौली नाकामा थप कडाइ

कोभिड१९ संक्रमणको जोखिम कम गर्न जिल्लास्थित नेपालसँगका चारवटा नाकाबाटमात्रै आवतजावत गर्न दिने भारत सरकारको निर्णयसँगै सुनौली नाकामा दुवैतर्फ स्वास्थ्य चेक कडा पारिएको हो । भारतले आवतजावत खुल्ला राख्ने निर्णय गरेका चारवटा नाकामध्ये सुनौलीभैरहवा नाका पनि एक हो ।

भारतबाट नेपाल आउने यात्रु र मालवाहक गाडीका चालकलाई दशगजा सिमानामा स्थापना गरिएको स्वास्थ्य सहायता केन्द्रमा डिजिटल थर्मोमिटरबाट तापक्रम मापन गरी कोरोना संक्रमणको प्रारम्भिक स्वास्थ्य परीक्षण गर्ने गरिएको छ । यात्रुको अत्यधिक चाप हुने कारणले व्यवस्थित र जाँच प्रक्रियालाई प्रभावकारी बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्वास्थ्यकर्मी र स्थानीय स्वयंसेवकका समूह खटिएका छन् ।

सहायता केन्द्रमा प्रारम्भिक तहको स्वास्थ्य परिक्षणको साथमा स्यानेटाइजरको प्रयोग गराएर कोरोनासम्बन्धी जनचेतनामूलक सामग्री उपलब्ध गराउने गरिएको छ । परीक्षणका क्रममा कुनै यात्रु शंकास्पद फेला परेमा आइसोलेसनमा उपचारका लागि पठाइने गरिएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सीमा नाकामा स्वास्थ्य चेकजाँच प्रक्रियालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मी र जनशक्तिको कमी हुन नदिइने बताए । उनका अनुसार, जिल्लामा रहेका मेडिकल कलेज र अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई समेत पालो मिलाएर खटाउने व्यवस्था मिलाइएको छ । सीमावर्ती क्षेत्रमा लाग्ने गरेको हाटबजार रोक्नका लागि पनि सीमावर्ती भारतीय समकक्षीसँग छलफल गरिएको छ,’ प्रजिअ पन्थले भने, ‘भारतसँगको लामो खुल्ला सिमानामा पनि निगरानी राखेर जताततैबाट हुने आवतजावतमा कडाइ गर्ने छौं ।

भैरहवा सुनौली नाकाबाट नेपाल भारत आवतजावत गर्ने यात्रुको चाप दिउँसोमा घट्न थालेको छ । साँझ बिहानमा भने भारतको टाढा टाढादेखि घर फर्केका नेपालीको भीड लाग्ने गरेको छ । कक्षमा रहेको तथ्याकं अनुसार, यतिबेला भारतबाट प्रतिदिन १६ देखि १८ हजार जति यात्रु नेपालतर्फ आउने गरेका छन् । भारतको नौतनवा र सुनौलीमा सामान किनमेलका लागि जाने नेपालीको संख्या भने ह्वात्तै घटेको छ । भारतमा अध्ययनरत नेपाली विद्यार्थी र रोजगारीमा रहेका नेपाली फर्किने क्रममा छन् ।

भारतीय पक्षबाट पनि नेपाल हुँदै भारततर्फ जाने यात्रुमाथि दशगजा सिमानामैं स्वास्थ्य शिविर सञ्चा‍लन गरी पारम्भिक तहको स्वास्थ्य परीक्षणपश्चात् मात्रै जान दिने गरिएको छ ।

कोभिड१९ संक्रमणको जोखिम कम गर्न सिमानामा दुवैतर्फ स्वास्थ्य चेकजाँचलाई कडा पारिए पनि नाकाबाट हुने आवागमन र भन्सार हुँदै हुने ढुवानी प्रकृयामा कुनै कठिनाइ छैन । यात्रुको आवागमन र आयात निर्यात सहज ढंगले सुचारु छ ।

भैरहवा भन्सार कार्यालयका अधिकृत तथा सूचना अधिकारी पूर्णप्रसाद लम्सालले भारतबाट आयात हुने औद्योगिक कच्चा पदार्थ, खाद्यान्न, उपकरण र व्यापारिक वस्तुको आयातमा कुनै कमी नआएको बताए ।

उनका अनुसार, खाद्यान्न, पेट्रोलियम पदार्थ, ग्यास, औषधी र औषधीको कच्चा पदार्थ, मेशिनरी उपकरण, अन्य व्यापारिक प्रयोजनका वस्तु पहिलाकै तुलानामा आयात भइरहेको छ । दैनिक सरदर साढे ३ सय मालवाहक गाडी र फलफूल तथा तरकारी ढुवानी गर्ने साना गाडी १ सयको हाराहारीमा नेपाल भित्रिइरहेका छन् ।

प्रकाशित : चैत्र ८, २०७६ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?