१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सीमा नाका अझै खुला 

नवीन पौडेल

परासी, महेषपुर — शनिबार बिहान साढे ११ बजे पश्चिम नवलरासीको नेपाल-भारत सिमानाका महेशपुर भन्सार पुग्दा सुरक्षाकर्मीले सवारीसाधन रोक्दै थिए । सुरक्षाकर्मीको आग्रह नटेरेपछि भन्सार अगाडि सडकमा रहेको बेरियर(ढाँट)ले सडक बन्द गर्नु पर्‍यो । किनमेलका लागि आवाजजावत गरेका मानिसहरु दशगजा भन्दा पाँच सय मिटर वर नै रोकिन पुगे । 

सीमा नाका अझै खुला 

मोटरसाइकल जान दिनुपर्ने भन्दै सर्वसाधारणले विवाद गर्न खोजेपछि ‘माथिको आदेश’ भन्दै ड्युटीमा रहेका सुरक्षाकर्मीले रोके । हेल्थ डेस्कमा ज्वरो नाप्ने सर्वसाधारणको उस्तै चाप थियो । सर्वसाधारणले किनमेलका लागि आफ्‍नो स्वास्थ्य नै जोखिममा राखेका छन् ।


भारत मोतीहारीका इब्राहिम आसी विवाहको जन्ति लिएर महेशपुर नाका हुँदै नेपाल प्रवेश गरे । दुई वटा ठुला बसमा करिब एक सय भन्दा बढी जन्ती लिएर उनी भैरहवा जाँदै थिए । सुरक्षाकर्मीले एकै पटक सय भन्दा बढी मानिसहरु देखेपछि बसबाट दुलाहा र जन्तिलाई ओरालेर ज्वरो मापन गरेर छाडिदियो ।


यसरी एकै पटक मानिसहरुको भिडभाड हुँदा सिमा नाका वरपरका स्थानीय त्रसित बन्न थालेका छन् । स्थानीय जितेन्द्र गुप्ताका अनुसार केही दिनका लागि सिमा सिल गरेर सावधानी अपनाउनु पर्ने भएपनि सुरक्षाकर्मीले अत्यावश्क भन्दै विवाह, धार्मिक कार्य र बिरामीका लागि आवागमनमा छुट दिएको बताए । ‘स्वास्थ्यमा खेलवाड गर्नु हुँदैन । भारतमा कोरोना भाइरस देखिएकाले खुला रुपमा मानिसहरु आउने जाने गर्दा जोखिम बढ्छ । तत्काल बोर्डर शिल गर्नु पर्दछ । जथाभावी मानिस आवातजावत गर्दा हामीलाई पनि त्रास बढेको छ ।’


पश्चिम नवलरासीका प्रमुख जिल्ला अधिकारी बासुदेब दाहालका अनुसार सीमा नाका बन्द नगरिएको बताए । ‘सीमामा उच्च सर्तकता अपनाइएको छ । बोर्डर सिल गरिएको छैन् ।’ उनले भने,‘मूल नाकाबाट अत्यावश्यक काम बाहेक मानिसहरुलाई ओहोरदोहोर गर्न दिइएको छैन् । छोटी भन्सारबाट मानिसलाई पनि आवातजावत रोकिएको छ ।’


सबैभन्दा बढी जोखिममा सीमा नाकामा तैनाथ सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई छ । सामान्य मास्क मात्र लगाएर दिनमा सयौं मानिसको ज्वरो नाप्ने र उनीहरुको स्वास्थ्य अवस्था बारे बुझिरहेका छन् । यसतर्फ कसैको पनि ध्यान गएको छैन । सीमा नाकामा तैनाथ स्वास्थ्यकर्मीलाई सुरक्षित हुनका लागि आवश्यक सामग्रीको खाँचो रहेको छ ।

प्रकाशित : चैत्र ८, २०७६ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?