कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नाकामा चहलपहल घट्यो

भारतबाट आउनेभन्दा जाने बढी
देवनारायण साह

मोरङ — कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमणबाट जोगिन सरकारले सतर्कता अपनाएपछि सीमा नाकामा चहलपहल घट्दै गएको छ । विराटनगरस्थित रानी नाकाबाट आवागमन गर्नेको संख्यामा निकै कमी आएको छ । रानी नाकाबाट नेपालतर्फ आउनेभन्दा भारततर्फ जानेको संख्या बढिरहेको छ । 

नाकामा चहलपहल घट्यो

रानी नाकास्थित सीमावर्ती बजार जोगबनीबाट १० वटा रेल र बस सेवा भारतको विभिन्‍न ठाउँसम्म सञ्‍चाललन हुँदै आएको छ ।


जोगबनी रेल्वे स्टेशनका प्रबन्धक कमल बास्कीले यहाँबाट १/१ वटा दिल्ली र कलकता र ८ वटा कटिहार रेल जाने गरेको र प्रत्येक रेलमा ९ सय जनाको सिट क्षमता रहेको बताए । ‘कोरोना संक्रमणको हल्ला चल्नुअघि यहाँबाट जाने र आउने दुवैतर्फका यात्रुको चाप अत्याधिक हुनेको र तर पछिल्लो समय रेलमा यात्रुको संख्यामा निकै कमी आएको छ,’ उनले भने, ‘रेलबाट आउने यात्रुको संख्या अहिले २० प्रतिशत र जानेको संख्या ६० प्रतिशतमा झरेको छ ।’ रेल्वेको तथ्यांकले पनि भारतबाट आउनेको संख्याभन्दा भारततर्फ जानेको संख्या अधिक रहेको देखिन्छ ।


यस्तै, जोगबनीबाट भारतको दरभंगा, मधुबनी, पटना, पूर्णिया, कटिहार, भागलपुर, सहरसा, मधेपुरालगायतका क्षेत्रबाट दुई दर्जनबढी क्षेत्रमा बस सेवा सञ्चालनमा रहेपनि आउनेभन्दा जाने यात्रुको संख्या बढी रहेको जोगबनी नगरपालिकाका पूर्व उपमेयर नरेश प्रसादले बताए ।


‘भारतबाट नेपालतर्फ आउनेको संख्याभन्दा नेपालबाट भारततर्फ जानेको संख्या बढी छ,’ उनले भने,‘भारतका विभिन्‍न क्षेत्रबाट विराटनगरलगायतका ठाउँमा रोजगारीका लागि आएकाहरु अहिले घर फर्किन थालेकाले भारततर्फ जानेको संख्या बढी देखिएको हो ।’ उनले अहिले दैनिक रेल र बसबाट नेपालबाट भारतर्फ जानेको संख्या करिब १२ हजार रहेको बताए । यसअघि सामान्य अवस्थामा जोगबनी नाकाबाट जाने आउनेको संख्या २५/२५ हजारभन्दा बढी रहेको तर कोरोनाको प्रभावले घटेको उनको भनाइ थियो ।


रानी नाकामा स्वास्थ्य जाँचका लागि खटिएका स्वास्थ्यकर्मी निलम यादवका अनुसार भारतबाट आउनेको संख्यामा निकै कमी आएको बताए । भारतमा अध्ययनका लागि गएकाहरुको फर्किने संख्या अधिक रहेको र रोजगारीमा गएकाहरुको फर्किनेको संख्या अत्यन्तै कम रहेको उनले बताइन् । उनले नाकामा स्वास्थ्य जाँचपछि मात्रै नेपालतर्फ प्रवेश गर्न दिएको बताइन् ।


जोगबनी नाकामा पहिलेको भन्दा अहिले चहलपहल घटेको र चार चक्के गाडी पनि शनिबार अत्यन्तै कम चलेको यादवले बताइन् । उक्त नाकाबाट चल्ने अटो रिक्सा, टेम्पोलगायतका सवारी साधनको संख्यामा पनि कमी आएको छ ।


प्रदेश सरकारले भन्सार बिन्दुबाट नेपालको नजिकको सहरमा सुविधामा आउने भारतीय सवारी साधनहरुलाई नियन्त्रण गर्ने नीति लिएकाले शनिबार भारतीय नम्बरका सवारी साधनको अवागमन घटेको हो ।


प्रदेश १ सरकारले प्रदेशस्थित सबै छोटी नाका बन्द गर्न शुक्रबार संघीय सरकारसँग माग गरेकाले पनि चहलपहल घटेको हो । यस प्रदेशस्थित झापाको काँकडभिट्टा र विराटनगरको रानी नाका बाहेकका सबै छोटी नाका बन्द गर्न प्रदेश सरकारले संघीय सरकारलाई पत्राचार गरेको प्रदेश १ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले बताए । कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिनका लागि छोटी नाका बन्द गर्न संघीय सरकारलाई आग्रह गरेको उनले बताए ।


‘प्रदेशस्थित काँकडभिट्टा र रानी नाकामा नेपाल र भारतबाट आउने जानेलाई थप सतर्कता अपनाई सुचारु राख्‍ने र बाँकी छोटी नाका बन्द गर्ने निर्णय गरेर संघीय सरकारलाई सिफारिस गरेका छौं,’उनले भने,‘अन्तर्राष्ट्रिय नाकासम्बन्धि अधिकार संघीय सरकारको रहेकाले छोटी नाका बन्द गर्न सिफारिस गरी आग्रह गरेका छौं ।’


प्रदेश १ का सुनसरी, मोरङ, झापा, इलाम र तापलेजुङ भारतसँग र ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बु चीनसँग जोडिएको छ । चीनसँग जोडिएका सबै नाका चीन सरकारले बन्द गरेको तर भारतसँग जोडिएका जिल्लाहरुस्थित नाकाहरुबाट सर्वसाधारणको निर्वाध अवागमन भइरहेकाले कोरोनाको संक्रमण फैलिने उच्च जोखिम रहेको छ ।

प्रकाशित : चैत्र ८, २०७६ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?