१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

वीपी प्रतिष्ठानमा कोरोना परीक्षण प्रयोगशाला राखिँदै

प्रदिप मेयाङबो

सुनसरी — धरानस्थित कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण प्रयोगशाला राख्‍ने तयारी भएको छ । प्रतिष्ठानको माइक्रोबायोलोजी विभागसँग भाइरससम्बन्धी ‘मोलिकुलर एक्सपर्ट’ चिकित्सक भएकाले कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्न लागिएको हो ।

वीपी प्रतिष्ठानमा कोरोना परीक्षण प्रयोगशाला राखिँदै

सरकारले पनि प्रतिष्ठानमा कोरोना परीक्षण गर्नकालागि चासो देखाएपछि केही दिनयता प्रयोगशाला स्थापनाको पहल भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका माइक्रोबायोलोजी विभागीय प्रमुख डा बशुधा खनालले भनिन्, ‘प्रदेश र संघीय सरकारले पनि चासो दिएको र पूर्वका सर्वसाधारणकालागि कोरोनाको संक्रमण हुन नदिन र पहिचान गर्न ल्याब स्थापना गर्दा चाहिने आवश्यक उपकरण र सामाग्रीको सूचि उपकुलपति डा. गुरु खनालमार्फत पठाएका छौं ।’

प्रतिष्ठानले पहिलेदेखि नै पिसिआर (पोलिमिरेज चेन रिएक्सन) को काम हुँदै आएको छ । प्रतिष्ठानमा कोरोना परीक्षणको प्रयोगशाला सञ्चालनमा आए केन्द्रीय प्रयोगशाला टेकुको रिपोर्ट पर्खिनु नपर्ने डा खनालले बताइन् । उनले सरकारले ल्याबका लागि आवश्यक सामग्री उपलव्ध गराए केही दिनभित्रमा ल्याब सञ्चालनमा आउने बताइन् ।


प्रतिष्ठान पूर्वाधार भए पनि कोरोना परीक्षण गर्ने किट (रिएजेन्ट) रसायन, भाइरल ट्रान्सपोर्ट मिडियम सरकारले आपूर्ति गरे सहजरुपमा परीक्षण गर्न सकिने प्रतिष्ठानले जनाएको छ । कोरोना संक्रमणलाई ध्यानमा राखेर प्रतिष्ठानले यसअघि नै १० वटा आइसोलेसन बेड राखेको छ । आउँदो सोमबारदेखि पेइङ वार्डकै परिसरमा थप १० सहित २० आइसोलेसन बेड र दुई आइसियु बेड राख्‍ने प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा विकास साहले बताए ।

प्रकाशित : चैत्र ८, २०७६ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?