१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

चीन र भारतसँगको सीमा नाका एक हप्ता बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ — सरकारले सोमबार बिहान १० बजेदेखि एक हप्तासम्म भारत र चीनसँगको सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिमलाई ख्याल गर्दै आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देश चीन र भारतको सीमा नाकाबाट चैत १० बिहान १० देखि १६ गतेसम्म यात्रु आवागमन स्थगित गर्ने निर्णय गरेको हो ।

चीन र भारतसँगको सीमा नाका एक हप्ता बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

भारतसँग ३९ मोटरेबल, १ सय २५ सामान्य नाका, चीनसँग २ मोटरेबल र अन्य ४ वटा नाका छन् ।


यस्तै कोभिड १९ को महामारीका रोकथामका लागि चिकित्साकर्मीले उपयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण, मास्क, थर्मोमिटर, भेन्टिलेटर, मनिटरलगायत सामग्री किन्‍न ५० करोडको केन्द्रीय कोष खडा गर्ने निर्णय भएको अर्थ, सञ्‍चार तथा सूचना प्रविधिमन्‍त्री युवराज खतिवडाले जानकारी दिए । उक्त कोषका लागि सबै मन्त्री १/१ महिनाको पारिश्रमिक दिने निर्णय पनि गरिएको छ ।


त्यस्तै अन्य सहयोगीहरुले पनि रकम जम्मा गर्न सकिन मन्‍त्री खतिवडाले जनाए ।कोषमा जम्मा रकम कोरोना संक्रमितको उपचार, संरचना तयार लगायतमा खर्च गरिने भएको छ ।


यस्तै सशस्त्र प्रहरीको बलम्बुस्थित एपीएफ अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि विकास गर्ने र अस्पताल उपचारमा सेना, प्रहरी र सशस्त्रका चिकित्सक टोली खटाउने निर्णय गरिएको छ । त्यस्तै चिकित्साका लागि आवश्यक औषधि, उपकरण, सुरक्षाका सामग्रीका लागि सहयोगी मित्रराष्ट्र दातृ निकायहरुसँग सहकार्य गरी परराष्ट्र, स्वास्थ्य मन्त्रालयको सहयोगमा अर्थमन्त्रालयले पहल गर्ने निर्णय भएको उनले जानकारी दिए ।

प्रकाशित : चैत्र ९, २०७६ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?