१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

द्विपक्षीय वार्तापछि भारत र चीनसँगको सीमा बन्द लम्बिन पनि सक्छ : मन्त्री खतिवडा

जयसिंह महरा

काठमाडौँ — सरकारले भारत र चीनसँगको सीमा बन्द लम्बिन सक्ने संकेत गरेको छ । कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोक्‍नका लागि दुई देशसँगको सीमा अस्थायी रुपमा बन्द गरिए पनि परिस्थिति हेरेर यसको अवधि बढाउन सकिने सरकारका प्रवक्तासमेत रहेका अर्थ एवं सञ्‍चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिए ।

द्विपक्षीय वार्तापछि भारत र चीनसँगको सीमा बन्द लम्बिन पनि सक्छ : मन्त्री खतिवडा

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भने, 'सीमा स्थायी रूपमा बन्द गरेका होइनौं । यात्रुहरूको आवागमनलाई एक हप्ताका लागि स्थगन गरेका हौं । लामो समयसम्म स्थगन गर्नका लागि दुईपक्षीय नै वार्ता गरेर गर्छौं । अहिले हामीले तत्कालका लागि यो निर्णय गरेका हौं । कुनै काल परिस्थितिमा निर्वाचनका बेलामा सीमा आवागमन रोक्ने गरेकै हो । त्यही अभ्यासलाई सात दिनका लागि कायम गरेका हौं ।' उनको यो भनाइबाट भारतसँग दुई पक्षीय वार्ता नगरीकनै सीमा बन्द गरेको स्पष्ट हुन्छ । चीनसँग भने यसअघि नै सीमा बन्द अवस्थामा थिए ।


यसअघि भारतसँग नेपालले सीमा बन्द गर्नेबारे पत्राचार गरेको थियो । परराष्ट्र मन्त्रालयको पत्रको जवाफ भारतीय पक्षले दिएको थिएन । त्यसपछि नेपालले चुनावमा जस्तै गरी सीमा बन्द गर्ने निर्णय लिएको हो । भारतबाट दिनदिनै हजारौंको संख्यामा नेपाली र भारतीय नागरिक आउने क्रम नरोकिएपछि सेनासमेत परिचालन गरिएको थियो । त्यससँगै नेपालले सीमा बन्द गर्ने निर्णय लिएको हो ।


भारत र चीनबाट मालसामानको आयातलाई भने निरन्तरता दिइने मन्त्री खतिवडाले जानकारी दिए । पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफमा उनले भने, 'मालसामानहरूको ढुवानी, आपूर्तिजन्य वस्तुहरूको सीमा वारिपारीको ढुवानी निरन्तर हुन्छ । यात्रुहरूको मात्रै आवागमनलाई स्थगन गरेको हो ।' आपूर्तिमा संलग्न सवारी साधानका चालकहरूको नियमित स्वास्थ्य जाँच हुने उनले बताए ।


सरकारले थप तीन ठाउँमा कोरोना संक्रमणको परीक्षण ल्याब स्थापना गर्ने भएको छ । टेकुमा परीक्षण हुँदै आएकोमा धुलिखेल अस्पताल, विपी कोइराला अस्पताल धरान र वीर अस्पतालमा पनि कोरोना परीक्षण ल्याब स्थापना हुने भएको छ ।


चीनबाट तत्काल चिकित्सक मगाउने कार्यलाई अगाडि नबढाइने भएको छ । मन्त्री खतिवडाले यसबारे भने, 'चीनबाट चिकित्सक पठाउन तयार छौं भनेर खबर आएको छ । हामी आवश्यक पर्‍यो वा त्यो स्थिति आयो भने सहकार्य गर्छौं । तर अहिले नै चिकित्सक बोलाउनुपर्ने स्थितिमा नपुगेकाले यसलाई अगाडि बढाएका छैनौं ।'

भारतले औषधि अभाव हुन नदिने बताएको पनि उनले जानकारी दिए । नेपालमा औषधि भन्दा पनि ल्याबमा परीक्षण गर्ने, स्वाब टेस्ट गर्ने केमिकल थप ल्याउनुपर्ने र ल्याबहरू पनि थप स्थापना गर्नुपर्ने भएकाले तीसँग सम्बन्धित सामाग्रीको आयात गरिने उनले बताए ।


कोरोना संक्रमण नेपाल भित्रिएमा संक्रमितको उपचारमा संलग्न चिकित्सकहरूको सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको मन्त्री खतिवडाले बताए । चिकित्सकले लगाउने सुरक्षित पोसाकसहितका उपकरण (पीपीई)को व्यवस्थापनमा जोड दिइएको उनको भनाइ थियो । 'स्वास्थ्यकर्मीहरूलाई सुरक्षित ढंगले काम गर्नलाई सामाजिक सुरक्षाका कुराहरू देखि लिएर प्रोत्साहनका व्यवस्था गरेका छौं । त्यति गरिसकेपछि बाँकी कुरा पेशागत इमानदारिता र व्यवसायिकताको कुरा हुन्छ । त्यसमा पछि नहट्न आह्वान गरेका छौं,' खतिवडाले भने । सरकारले कोरोना संक्रमितको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीलाई शतप्रतिशतदेखि ५० प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।


सरकारले मास्क र स्यानेटाइजरलगायतका उपकरणको कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने पनि सरकारका प्रवक्ता खतिवडाले बताए । उनले भने, 'मास्क र स्यानेटाइजरहरू र स्वास्थ्यकर्मीले प्रयोग गर्ने उपकरणहरूको विश्वव्यापी अभाव भइरहेको हो । केही आन्तरिक उत्पादन गर्न थालिएको छ । निजी व्यवसायीहरूले र सुरक्षा निकायहरूले उत्पादन गरिरहनुभएको छ । बजारमा कृत्रिम अभाव सिर्जना गर्नेहरूलाई पनि कारबाही भइरहेको छ । चीन र भारतसँग पनि थप आपूर्तिका लागि पत्राचार गरेका छौं । केही दिनभित्रमा यो सहज हुन्छ । यी सामग्री वितरण स्वास्थ्य मन्त्रालयमार्फत गर्ने एकद्वार प्रणाली अपनाउने हो । प्रदेश र स्थानीय तहमा पनि यसलाई आवश्यकताअनुसार वितरण गर्ने र व्यवस्थापन गर्ने हो ।'


गाउँमा कोरोनाका संक्रमित भेटिएमा कसरी उपचार गर्ने भन्नेबारेमा सरकारले कार्ययोजना बनाएर कार्यान्वयनमा लगेको पनि मन्त्री खतिवडाले जानकारी दिए । त्यसका लागि हरेक स्वास्थ्यचौकी, प्रहरी चौकी र जनप्रतिनिधिलाई परिचालन गरिएको उनले जानकारी दिए ।


क्वारेन्टाइनमा बस्न भनेको व्यक्ति नबसेको पाइएमा कारबाही गर्ने व्यवस्था पनि गरिएको मन्त्री खतिवडाले जानकारी दिए । सरकारले भीडभाड नगर्न र गैर सरकारी कार्यालय बन्द गर्न आग्रह गरेको छ । गैरसरकारी कार्यालयहरूले स्थिति हेरेर निर्णय लिने सरकारले विश्वास लिएको मन्त्री खतिवडाको भनाइ थियो ।

प्रकाशित : चैत्र ९, २०७६ २३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?