१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कहाँ कहाँ बने आइसोलेसन र क्वारेन्टाइन कक्ष ?

कोभिड–१९ का शंकास्पद बिरामीको उपचारका लागि जिल्लाका विभिन्न स्थानीय तहमा आइसोलेसन र क्वारेन्टाइन कक्षको तयारी भएको छ । कहाँ कहाँ कति शय्याका कक्षहरु तयार पारिए ? जान्नुहोस् :

कहाँ कहाँ बने आइसोलेसन र क्वारेन्टाइन कक्ष ?

तनहुँमा ३८ शय्याको आइसोलेसन कक्ष


सम्झना रसाइली/ तनहुँ

व्यास, शुक्लागण्डकी नगरपालिका, म्याग्दे, देवघाट र बन्दीपुर गाउँपालिकामा गरी ३८ शय्याको आइसोलसन कक्ष तयारी अवस्थामा राखिएको छ ।


व्यासको किरियापुत्री भवनमा ८, शुक्लागण्डकीको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा १२, म्याग्देको जामुुने स्वास्थ्य चौकीमा ५, बन्दीपुरस्थित बन्दीपुर अस्पतालमा ८ र देवघाटको धर्माथ अस्पतालमा ५ श्यया गरी ३८ श्ययाको आइसोलेसन कक्ष तयार भएको छ ।


व्यासको आइसोलेसन कक्षमा दमौली अस्पताल र निजी स्वास्थ्य संस्थाका चिकित्सकलाई खटाइने दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले बताए । दमौलीका निजी अस्पताल दाहाल मेडिकल हल र एपोलो अस्पतालले ४/४ शय्या उपलब्ध गराएका हुन् ।


यस्तै, पूर्व तयारी स्वरुप म्याग्दे–३ स्थित जामुने स्वास्थ्य चौकीमा ५ श्यया बेडको आइसोलेशन कक्ष तयार गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले बताए । उनले भने, ‘आवश्यकता अनुसार स्वास्थ्यचौकीका अन्य कोठामा आइसोलेसन बेडको संख्या बढाउने छौं ।’


यस्तै, गाउँपालिकाले विद्यालय भवनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने भएको छ । गाउँपालिका भित्रका सबै विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताए । उनले भने, ‘कोरोनाका शंकास्पद बिरामीको सम्पूर्ण उपचार खर्च गाउँपालिकाले नै बेहोर्ने छ ।’

कोभिड–१९ का शंकास्पद बिरामीलाई तत्कालै गाउँमै उपचार गर्न सहज बनाउनका लागि धर्मथ अस्पतालमा आइसोलेसन कक्ष स्थापना गरिएको देवघाट गाउँपालिकाका प्रमुख दुर्गाबहादुर थापाले बताए । उनले भने, ‘गाउँपालिकाबासीमा कोभिड–१९ को संक्रमण देखिए सम्पूर्ण उपचार खर्च गाउँपालिकाले बेहोर्ने छ ।’


यस्तै, जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा आवश्यकता अनुसार आइसोलेसन बेड बढाउन सक्ने केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले बताए ।


कोरोनाको विश्वव्यापी संक्रमणलाई मध्यनजर गरेर स्थानीयस्तरमा पूर्वतयारी स्वरुप आइसोलेसन कक्ष स्थापना गरिएको उनले बताए । ‘कक्षमा कोरोना भाइरसका शंकास्पद बिरामीको उपचार गर्ने, खकार र सिगानको नमुना संकलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइएको छ’, उनले भने, ‘कोभिड–१९ पुष्टि भए भेन्टिलेटरमा पठाउने नत्र १४ दिन आइसोलेसनमै राखेर स्वास्थ्य परीक्षण गरिने छ ।’


रसुवामा ६५ शय्याको क्वारेन्टाइन र २७ शय्याको आइसोलेसन तयार

बलराम घिमिरे/रसुवा


जिल्लाको दुई स्थानमा ६५ शय्याको क्वारेन्टाइन र २७ शैयाको आइसोलेसन तयार भएको छ ।

गोसाईकुण्ड गाउँपालिकाको धुन्चे र स्याफ्रुबेसीमा ६५ शय्याको क्वारेन्टाइन तयार परिएको हो । रसुवा अस्पतालमा २० शय्या र जिबजिबे ग्रामिण अस्पतालमा ७ शय्या गरी २७ शय्याको आइसोलेसन वार्ड तयार भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि जिल्ला विपद् व्यवस्थापन समितिको आइतबार बसेको बैठकले जिल्लाको विभिन्न आठ ठाउँमा २१० शय्याको क्वारेन्टाइन र ३५ शय्याको आइसोलेसन वार्ड बनाउने निर्णय गरेको थियो उनले भने । सदरमुकाम धुन्चेमा रहेको कृषि ज्ञान केन्द्र र पशु सेवा केन्द्रमा ५० शय्या र स्याफ्रुको कोमिनस्यामेवाङ्फेल माविमा १५ शय्याको क्वारेन्टाइन तयार परिएको छ । बाँकी अन्य ठाउँहरुमा पनि क्वारेन्टाइन तयार पर्ने काम भइरहेको छ ।

बुधबारसम्ममा जिल्लाको पाँचवटै गाउँपालिकामा २ सय १० शय्याको क्वारेन्टाइन सञ्चालनमा आउने भण्डारीले बताए । क्वारेन्टाइन निर्माणको लागि लागि पाँच वटै गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, नेपाल प्रहरी सशस्त्र प्रहरी, नेपाली सेना र चेम्बर अफ कमर्सले सहयोग गरिरहेका छन् । जिल्लाको विभिन्न ७ स्थानमा हेल्थ डेक्स सञ्चालनमा आएको छ ।


तेह्रथुमको तयारी

चन्द्र कार्की/तेह्रथुम


कोभिड १९ रोकथाम र संक्रमण फैलिन नदिनका लागि जिल्लाभर तयारी तीव्र पारिएको छ । स्थानीय प्रशासनको अगुवाईमा क्वारेनटाइन बेड र आइसोलेसन कक्ष निर्माण गर्ने कार्य भइरहेको छ । म्याङलुङ नगरपालिकाको सरस्वती माविमा ५० बेड क्षमताको क्वारेन्टाइन र ८ वटा आइसोलेसन बेड तयार पारिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए ।

त्यस्तै लालीगुराँस नगरपालिकामा १० बेड क्षमताको क्वारेनटाइन र २ वटा आइसोलेसन बेड तयार पारिएको छ । मेन्छ्यायाम गाउँपालिकामा १० बेड क्षमताको क्वारेनटाइन तयार गरिएको छ । छथर गाउँपालिकामा सोही परिमाणको क्वारेनटाइन बेड तयार पारिएको छ । अन्य स्थानीय तहले पनि सोही परिमाणमा क्वारेनटाइन र आइसोलेन बेड तयार गर्ने काम गरिरहेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए ।

फ्लुका बिरामी पहिचानका लागि जिल्ला अस्पतालमा अलग्गै क्याम्प संचालन गरिएको छ । त्यस्तै स्थानीय प्रशासनको अगुवाईमा पछिल्लो एक महिना यता विदेशबाट घर आएकाहरुको खोजी गरी लगत लिने काम पनि गरीरहेको प्रजिअ न्यौपानेको भनाइ छ । स्थानीय तहका प्रहरी र स्वास्थ्यका युनिट परिचालन गरी उनीहरुबाट लगत लिने काम भइरहेको प्रशासनले जनाएको छ । हालसालै विदेशबाट घर आएका व्यक्ति पहिचान भए त्यस्ता व्यक्तिलाई घरमै होम क्वारेनटाइनमा बस्न सल्लाह दिने काम पनि भइरहेको प्रजिअ न्यौपानेले बताए ।

माटिकारेमा क्वारेन्टाइन वार्ड निर्माण

खोटाङ


कोभिड १९ सम्भावित बिरामीलाई लक्षित गरी माटिकारे कभर्डहलमा क्वारेन्टाइन वार्ड निर्माण गरिएको छ । उक्त हलमा ३६ शय्याको क्वारेन्टाइन निर्माण गरिएको हो ।

क्वारेन्टाइन निर्माणका लागि गोरखनाथ गण मुढे ब्यारेकाका नेपाली सेना खटिएका हुन् । दिक्तेल बजारस्थित माउन्ट एभरेष्ट बोर्डिङ स्कुलमा निर्माण गर्न नदिएपछि कभर्डहलमा निर्माण गरिएको हो । उक्त बोर्डिङ व्यवस्थापन समितिका अध्यक्ष नरेशकुमार श्रेष्ठले राख्न नदिएपछि राख्न नसकिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए । श्रेष्ठले भने बजारको बीचमा विरामीलाई राख्न नमिल्ने भएकाले नदिइएको बताए ।

बोर्डिङमा राख्न नदिएपछि माटिकोरेस्थित कभर्ड हलमा राख्ने तयारी गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए । खोटाङका प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलका अनुसार सोमबार जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङको अध्यक्षता बसेको बैठकले बोर्डिङमा क्वारेन्टाइन राख्ने बारे निर्णय भएको थियो । बोर्डिङका प्रिन्सिपल सागर जोशीले बोर्डिङमै राख्न आग्रह गरेपछि निर्णय गरिएको नगरप्रमुख रिजालले सुनाए ।

अन्य पालिकाहरुमा पनि क्वारेन्टाइन निर्माण भइरहेको शर्मा पौडेलले सुनाए । उनका अनुसार हरेक पालिकामा ४० शय्याको क्वारेन्टाइन बनाउन निर्देशन दिइएको छ । खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिका गरी दश पालिका छन् ।

प्रकाशित : चैत्र ११, २०७६ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?