१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नेपालमा पहिलो पटक हवाई सेवा ठप्प

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक साढे ४ सय र काठमाडौं उपत्यकाबाहिर ३४ वटा विमानस्थलमा डेढ सय हाराहारी उडान हुने गरेका थिए ।
सुरज कुँवर

काठमाडौँ — नेपालमा वायुसेवा सुरु भएको ७० वर्षे इतिहासमा पहिलोपटक एक अन्तर्राष्ट्रियसहित देशभरका सबै ३४ विमानस्थल ठप्पै हुनेगरी हवाई यातायात सेवा रोकिएको छ ।

नेपालमा पहिलो पटक हवाई सेवा ठप्प

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीका अनुसार ‘पिक सिजन’मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक साढे ४ सय र काठमाडौं उपत्यकाबाहिर ३४ वटा विमानस्थलमा डेढ सय हाराहारी उडान हुने गरेका थिए । लकडाउनका कारण मंगलबार विमानस्थलमा चार्टर, रेस्क्यु लगायतका कुनै पनि उडान भएनन् । ‘मंगलबार कुनै पनि उडान भएन,’ प्रवक्ता क्षत्रीले भने, ‘नेपालमा हवाई यातायात सेवा सञ्चालन भएयता हवाई सेवा ठप्प भएको यो सम्भवतः पहिलो पटक हो ।’


नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार यसअघि विभिन्न विपत् तथा हवाई घटना/दुर्घटना हुँदा पनि उडान रोकिएको थिएन । नेपालमा सर्वाधिक आन्तरिक उडान गर्ने बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले पनि यसअघि कहिल्यै विमानस्थल ठप्प नभएको बताए । ‘बुद्ध एयरले सेवा दिन थालेको २३ वर्ष बित्यो, कहिल्यै विमानस्थल ठप्पै भएको मलाई सम्झना छैन,’ उनले भने ।


बस्नेतका अनुसार २०४६ सालको जनआन्दोलनमा बहुदललाई साथ दिन, राजा ज्ञानेन्द्रको शासनकालमा तत्कालीन पर्यटनमन्त्री सर्वेन्द्रनाथ शुक्लाले निजी क्षेत्रका व्यवसायी सकुन्तलाल हिराचनलाई र्‍यामबसको ठेक्का दिन गरेको निर्णयको विरोध र २०६२/६३ को जनआन्दोलनमा ऐक्यबद्धता जनाउनबाहेक आन्तरिक सेवा बन्द भएको छैन ।


‘२३ वर्षमा पहिलोपटक म ढुक्कले घर बसेको आजै हो,’ उनले भने, ‘यसअघि स्वदेशमा हुँदा होस् वा विदेशमा जहाज उड्यो उडेन, अवतरण भयो भएन, बिजनेस केकति भयो जस्ता विषयको चिन्ता नभएको दिन हुँदैनथ्यो । तर आज म १३ वटा विमान काठमाडौंमा सिल गरेर घरमा बिनाचिन्ता बसेँ ।’


पूर्वपर्यटन सचिव यज्ञ गौतमले पनि विभिन्न राजनीतिक घटनाका बेला आन्तरिक हवाई सेवा बन्द भए पनि अन्तर्राष्ट्रिय र आन्तरिक गरी दुवै सेवा ठप्पै भएको ७० वर्षयता नसुनिएको बताए । ‘आन्तरिक उडान रोकिएको सुनियो तर दुवै सेवा ठप्पै भएको मैले कहिल्यै सुनिनँ,’ नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक समेत रहेका गौतमले भने ।


०७१ फागुनमा काठमाडौंमा टर्किस एयरलायन्सको जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना हुँदा ४ दिन अन्तर्राष्ट्रिय उडान रोकिए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक सेवा भने चलेको थियो । ०७४ फागुनमा बंगलादेशी एयरलाइन्स यूएस बंगलाको बमबार्डियर विमान विमानस्थलभित्रै ५१ जनाको ज्यान जाने गरी दुर्घटना भए पनि विमानस्थल केही घण्टामै खुलेको थियो । भारतले ०७२ असोजमा लगाएको नाकाबन्दीमा पनि जहाजले एयरलिफ्ट गरेर ल्याएको इन्धनबाट नेपाली व्यवसायीले हवाई सेवालाई निरन्तरता दिएका थिए ।


वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलका अनुसार मंगलबार कुनै बिरामी वा विदेशीलाई उद्धार गर्न पनि उडान भएन । ‘सोलुको पाङबोचे र कोथेबाट दुइटा हेलिकप्टर चार्टर उडानका लागि अनुरोध आएको थियो तर मंगलबार हुन सकेन बुधबार हुनसक्ला,’ हेली एभरेस्टका सीईओसमेत रहेका संघका प्रवक्ता कँडेलले भने ।


हाल नेपालमा तीनवटा स्वदेशीसहित २९ वटा अन्तर्राष्ट्रिय एयरलाइन्स र २१ वटा घरेलु (रोटर र फिक्सड विङ) एयरलायन्सले उडान गर्छन् ।

प्रकाशित : चैत्र ११, २०७६ २१:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?