कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

लकडाउनको आंशिक उल्लंघन

उल्लंघन बढे कर्फ्यु लगाउन निर्देशन

काठमाडौँ — कोभिड–१९ को सम्भावित संक्रमण रोक्न सरकारले एक सातासम्म आह्वान गरेको ‘लकडाउन’ को पहिलो दिन पूर्ण रूपमा पालना भएन । अत्यावश्यक कामबाहेकमा बाहिर ननिस्कन भनिए पनि मंगलबार राजधानी र बाहिरका मुख्य चोक, पर्यटकीय केन्द्र र आसपासमा सर्वसाधारणले बेवास्ता गरे ।

लकडाउनको आंशिक उल्लंघन

‘लकडाउन उल्लंघन’ गर्ने क्रम बढे कर्फ्यु र निषेधाज्ञा जारी गर्न सरकारले मुलुकभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । लकडाउनको पहिलो दिन नेपाल–भारत सीमा क्षेत्र र सहरका भित्री भेगमा सरकारी निर्णय उल्लंघन गरिएपछि संक्रमण फैलन सक्ने सम्भावना औंल्याउँदै थप कडाइ गर्न लागिएको हो । सरकारले मंगलबार बिहानदेखि चैत १८ गतेसम्मका लागि मुलुक लकडाउन गरेको छ । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई विशेष परिपत्र गर्दै ‘उच्च प्राथमिकता र अत्यन्त संवेदनशील भई सरकारको निर्णयलाई पूर्ण रूपमा कार्यान्वयन गर्न’ भनेको छ ।

मंगलबार सडकमा निस्किएका कतिपयलाई सुरक्षाकर्मी र टोल सुधार समितिले सम्झाएर घरमा फिर्ता गरेका थिए । लकडाउन पालना नभएपछि बिहानैदेखि सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा धेरैले कर्फ्यु नै लगाउन सरकारलाई सुझावसमेत दिए । विगतमा लकडाउनको अभ्यास र अनुभव नभएकाले पनि यसको पालनामा समस्या देखिएको कतिपयले विश्लेषण गरेका छन् । लकडाउनमा अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन पाइँदैन । तर ‘नेपाल बन्द’ जस्तो ठानेर सर्वसाधारण बाहिर निस्किएका थिए ।


कोरोना संक्रमण फैलन सक्ने जोखिम औंल्याउँदै सरकारका निर्णय कार्यान्वयन गर्ने अधिकार सबै प्रमुख जिल्ला अधिकारीलाई दिइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए । ‘स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार लकडाउन पूर्ण रूपमा कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइएको छ,’ शर्माले कान्तिपुरसँग भने, ‘यसलाई कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारीले कानुनले दिएका सबै अधिकार आवश्यकताअनुसार प्रयोग गर्न पाउनुहुनेछ ।’

प्रशासनले मानव आवतजावतलाई निरुत्साहित गर्न र अटेर गर्नेलाई बल प्रयोग गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । कोरोना डेडिकेटेड अस्पताल र क्वारेन्टाइनको सुरक्षामा सेनासहितको टोली खटिएको छ । सशस्त्रको फौज ब्याक फोर्सका रूपमा तैनाथ छ । फ्रन्ट लाइनमा स्वास्थ्यकर्मीसहितको प्रहरी टोली खटिएको छ । सर्वसाधारणलाई घरभित्र रहन आग्रह गर्दै चोकचोकमा प्रहरी खटाइएका छन् ।


प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षत्रीले रोगविरुद्धको लकडाउन भएकाले नागरिक आफैं पनि सचेत भएको बताए । ‘यो बल प्रयोग वा हूलहुज्जत गर्ने बेला होइन, नागरिकले पनि बुझ्नुभएकै छ,’ उनले भने, ‘पहिलो दिन अन्योल सिर्जना भएर पनि कतिपय ठाउँमा आवतजावत भएको हो, बिस्तारै यो पनि नियन्त्रणमा आउँछ । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्याम ज्ञवालीले सुरक्षा निकाय आफ्नो क्षेत्रमा छुट्टाछुट्टै खटिएको र माइकिङ गरी सर्वसाधारणलाई घरभित्रै बस्न अपिल गरिएको बताए ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले लकडाउनको पहिलो दिन भएकाले सम्झाइबुझाइ घरमा बस्न आग्रह गरिएको तर अटेर गरिए प्रशासनले बल प्रयोग गर्ने जनाए । ‘सरकारको निर्णय उल्लंघन गर्नेलाई माइकिङ गरेर पनि सम्झाइएको छ’, आचार्यले भने, ‘सम्झाउँदा बुझाउँदा पनि कसैले अटेर गर्छ भने स्थानीय प्रशासन ऐनअनुसार आवश्यक निर्णय लिनुपर्ने हुन्छ ।’


स्थानीय प्रशासन ऐनअनुसार प्रमुख जिल्ला अधिकारीलाई निश्चित भूभागमा निषेधाज्ञा वा कर्फ्यु लगाउने अधिकार छ । त्यसलाई पनि अटेर गरे अन्तिम चेतावनी दिने र सुरक्षाकर्मीले बल प्रयोगसमेत गर्न सक्ने व्यवस्था ऐनमा छ । मंगलबार चारवटै सुरक्षा निकाय भिन्दाभिन्दै रूपमा एरिया कभर गरेर खटिएका छन् । ‘अहिलेसम्म परिस्थिति नियन्त्रणमै छ, सहरका भित्री स्थानमा मानिसको भीडभाड हुन नदिन विशेष रूपमा फौजलाई परिचालन गरेका छौं,’ आचार्यले भने ।

प्रहरीले लकडाउन उल्लंघन गर्ने ५२ जनालाई विभिन्न जिल्लाबाट नियन्त्रणमा लिएको छ । प्रहरी र प्रशासनको आदेश उल्लंघन गर्दै सडकमा हूल बाँधेर हिँडेको अवस्थामा नियन्त्रणमा लिइएका सबैलाई सम्झाइबुझाइ गरेर छाडिएको डीआईजी थापा क्षत्रीले बताए ।


लकडाउनमा दैनिक उपभोग्य वस्तु खरिद/बिक्रीमा भने केही लचकता अपनाइएको छ । घरबाट उपभोग्य वस्तु किन्ने स्थानसम्म सर्त र अवस्था हेरेर लचकता अपनाइएको प्रहरी अधिकरीले बताए । ‘दूध, पानी, दालचामल, तरकारी, औषधिजस्ता वस्तु किन्नेलाई सर्त राखेर जान दिएका छौं,’ प्रहरी प्रवक्ता क्षत्रीले भने, ‘तर त्यसमा निगरानी राखेका छौं ।’

सेनासहितको सुरक्षा गस्ती

लकडाउन उल्लंघन हुन नदिन नेपाली सेना र सशस्त्र प्रहरीले नियमित गस्ती गरेका छन् । प्रहरी यसअघिबाटै नियमित र आकस्मिक गस्तीमा खटिइसकेको छ ।


सैनिक गस्ती स्थानीय प्रशासनको आदेशमा थपघट हुन सक्ने गृह मन्त्रालयले बताएको छ । सेनाले गस्तीमा मेडिकल टिमसहितको संयन्त्र तैनाथ गरेको छ । सशस्त्र र प्रहरीले पनि स्वास्थ्यकर्मीसहितको संयन्त्र साथमा राखेर जनशक्ति खटाएका छन् । सेना ४१ स्थानमा हेल्थ डेस्कसहित खटिएको छ । प्रहरीले १ सय ३२ र सशस्त्रले १ सय ६४ स्थानमा हेल्थ डेस्क राखेर जनशक्ति परिचालन गरेका छन् । आवश्यकताअनुसार हेल्थ डेस्क थप्दै लगिने सुरक्षा निकायहरूले जानकारी दिएका छन् । सेनाका दुई हजार स्वास्थ्यकर्मी कोरोना भाइरसको सम्भावित संक्रमण फैलन नदिन खटिइसकेका छन् । प्रहरी र सशस्त्रका स्वास्थ्यकर्मी हेल्थ डेस्क र आवश्यकताअनुसार स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर परिचालित छन् ।


कोभिड–१९ बाट प्रभावित मुलुकबाट वा ती मुलुकलाई ट्रान्जिट बनाएर आएका मानिससँग अरूको घुलमिल नहोस् र संक्रमण नफैलियोस् भनेर सरकारले लकडाउन गरेको हो । युरोपेली मुलुकहरू इटाली र स्पेनमा हिँडडुललाई कडाइ नगरिएकै कारण संक्रमण नियन्त्रणभन्दा बाहिर गएको जानकारहरूले बताएका छन् । अनावश्यक भीडमा नगई कोठाभित्र बस्नु नै कोभिड–१९ को संक्रमणबाट बच्ने एक मात्र उपाय हो भनी धेरै दिनदेखि सञ्चारमाध्यम, मोबाइल म्यासेज लगायतमार्फत सूचना प्रवाह गरिएको छ ।

सरकारको आग्रह बेवास्ता गर्दै हिँडडुल गरेका सर्वसाधारणलाई धेरै स्थानमा मास्क लगाएका सुरक्षाकर्मीले सोधपुछ गरेका थिए । कामै नभई सडकमा निस्किएकालाई सुरक्षाकर्मीले घरतिर फर्काए ।


काठमाडौं महानगरपालिका २६ का वडाध्यक्ष ख्यामराज तिवारीले मुख्य बजार ठमेललगायत मान्छेको धेरै चहलपहल हुने स्थान बिहानैदेखि ठप्पप्रायः भएको बताए । भित्री गल्लीमा मान्छेको चहलपहल देखिए पनि मान्छे हूल बाँधेर सडकमा ननिस्केको र त्यसरी बाहिर ननिस्किन वडाले सर्वसाधारणलाई सचेत गराइरहेको उनले जानकारी दिए । ‘पहिलो दिन भएर अलि अलि समस्या भएको होला । धेरैले बुझेका छन्, लकडाउनको रेस्पोन्स राम्रो छ,’ उनले कान्तिपुरसित भने ।

प्रकाशित : चैत्र १२, २०७६ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?