१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कान्तिपुरको सहयोग अभियानमा रोक

काठमाडौँ — कोरोना संक्रमण रोकथामका निम्ति आर्थिक सहयोग जुटाउन सरकारले गरेको आह्वानअनुरूप निजी क्षेत्रले थालेको अभियानमाथि सरकार आफैंले मंगलबार रोक लगाएको छ । यो अवस्थामा विभिन्न पाँच वाणिज्य बैंकहरूसँगको सहकार्यमा ‘कान्तिपुर कोभिड–१९ रोकथाम कोष’ खडा गरेर थालिएको आर्थिक सहयोग कार्यक्रम रोक्न कान्तिपुर मिडिया ग्रुप (केएमजी) बाध्य भएको छ ।

कान्तिपुरको सहयोग अभियानमा रोक

उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना रोग संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले ‘सरकारले आफ्नै कोष स्थापना गरिसकेको खण्डमा सोही प्रयोजनका लागि अन्य कुनै निकाय वा संघ–संस्थाले छुट्टै कोष स्थापना गर्न नपाउने’ निर्णय गरेको थियो ।


कान्तिपुरले उपप्रधानमन्त्री पोखरेलसँगै परामर्श एवं सहमति लिई नवस्थापित सरकारी कोषमै रकम जम्मा गर्ने गरी सहयोग जुटाउन थालेको थियो । त्यसका निम्ति केएमजी, कुमारी, सिद्धार्थ, नेपाल इन्भेस्टमेन्ट, नबिल र ग्लोबल आईएमई बैंकले १५–१५ लाख दिने गरी ९० लाख रुपैयाँको सुरुवाती कोष घोषणा गरेका थिए । तर सरकारले मंगलबार ‘आफूमातहतका संघ–संस्था तथा व्यक्तिबाट मात्र रकम जम्मा गर्न पाइने’ निर्णय लिँदै यस किसिमका सामूहिक सहयोग अभियानमाथि रोक लगाएको छ ।


‘हामीले विपत्तिका बेला यसअघि पनि यसरी नै सहयोग जुटाउँदै आएका हौं । तर यसपटक राज्यलाई अप्ठेरो पर्दा सघाउन नपाएकामा हामी दुःखित छौं,’ केएमजी व्यवस्थापनले भनेको छ, ‘सरकारले रोक लगाएपछि विभिन्न बैंकहरूसँगको सहकार्यमा खडा गरिएको उक्त कोष भंग गर्न र त्यसमा उठेको सम्पूर्ण रकम सम्बन्धितलाई नै फिर्ता गरिदिने निर्णय लिन हामी बाध्य भएका छौं । आशा छ, सहृदयी प्रतिष्ठान एवं व्यक्तिहरूले सोझै सरकारी कोषमै रकम जम्मा गरिदिएर विपद्को घडीमा राज्यलाई सघाउनु हुनेछ ।’


कान्तिपुरले विनाशकारी भूकम्पका बेला ४ करोड ४३ लाख रुपैयाँ संकलन गरेर २०७२ असार ८ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेको थियो । त्यसअघि बाढी, पहिरोलगायत थुप्रैपटक प्राकृतिक प्रकोप आउँदा पनि कान्तिपुरले करोडौं आर्थिक सहयोग जुटाएर प्रधानमन्त्री राहत कोषलाई बुझाएको दृष्टान्त छ ।

प्रकाशित : चैत्र १२, २०७६ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?