१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

आफैं सेनिटाइजर बनाउँदै अस्पतालहरु

अस्पतालले स्वास्थ्यकर्मी, बिरामी र अस्पताल प्रवेश गर्नेलाई प्रयोग गर्न पुग्ने गरी सेनिटाइजर बनाइरहेका छन्

काठमाडौँ — राजधानीका अधिकांश अस्पतालले आफैं सेनिटाइजर बनाउन थालेका छन् । विश्वव्यापी रूपमा फैलिइरहेको कोभिड–१९ संक्रमणका कारण बजारमा सेनिटाइजर अभाव देखिएपछि विश्व स्वास्थ्य संगठनले तोकेको निर्देशिकाअनुसार सेनिटाइजर तयार पारिएको ती अस्पतालको भनाइ छ ।

आफैं सेनिटाइजर बनाउँदै अस्पतालहरु

चाबहिलस्थित ओम अस्पतालका व्यवस्थापक विनोद अधिकारीले स्वास्थ्यकर्मी, बिरामी र अस्पताल छिर्ने सबैलाई प्रयोग गर्न पुग्ने गरी सेनिटाइजर बनाइरहेको बताए । ‘संक्रमण नियन्त्रण कमिटीका नर्स सेनिटाइजर बनाउन तालिम प्राप्त छन्,’ उनले भने, ‘दुई वर्षअघि नै सेनिटाइजर बनाउँदै आएका थियौं, पहिले स्वास्थ्यकर्मीका लागि मात्रै बन्थ्यो, अहिले अस्पताल आउने सबैलाई पुग्ने गरी बनाइरहेका छौं ।’

सानेपास्थित स्टार अस्पतालले पनि एक सातादेखि सेनिटाइजर बनाइरहेको छ ।

प्रयोगशालाका कर्मचारीले अस्पतालका स्वास्थ्यकर्मी र चिकित्सकलाई पुग्ने गरी बनाइरहेको अस्पतालका प्रबन्ध निर्देशक डा. शैल रूपाखेतीले बताए । ‘अहिलेसम्म त हामीलाई पुगिरहेको छ, बजारमा कच्चा पदार्थ अभाव हुन थाल्यो, धेरै बनाउन सकिँदैन होला,’ उनले भने, 'हामीलाई पुग्ने गरेर उत्पादन गरिरहेका छौं ।'

जावलाखेलस्थित रिदम न्युरो साइक्याट्रिक अस्पतालले पनि तीन दिनयता सेनिटाइजर बनाइरहेको छ । अस्पतालका स्वास्थ्यकर्मीलाई तालिम दिएर सेनिटाइजर बनाउन थालिएको निर्देशक डा. रितेश थापाले बताए । ‘१८ लिटर बनाएर राखेका छौं,’ उनले भने, ‘बिरामी र स्टाफलाई प्रयोग गर्न पर्याप्त पुग्छ ।’

भारतबाट सेनिटाइजर नेपाली बजारमा आउन छाडेपछि थापाथलीस्थित नर्भिक अस्पतालले नेपाली कम्पनीले बनाएका सेनिटाइजर प्रयोग गर्न थालेको छ । विश्व स्वास्थ्य संगठनको निर्देशिकाअनुसार बनाइएकाले स्थानीयस्तरमा उत्पादित सेनिटाइजर खरिद गरिएको अस्पतालका प्रबन्धक आरपी मैनालीले बताए ।

त्यस्तै, हरिसिद्धिस्थित क्यान्सर अस्पताल, बबरमहलस्थित अन्नपूर्ण न्युरो र धापासीस्थित ग्रान्डीलगायतका अस्पतालले पनि आफैं सेनिटाइजर बनाएर प्रयोग गरिरहेका छन् । ललितपुर महानगरपालिकाले पनि सेनिटाइजर उत्पादन गरिरहेको मेयर चिरीबाबु महर्जनका स्वकीय सचिव राजु महर्जनले बताए । ‘

महानगरपालिकाकै कर्मचारीलाई तालिम दिएर तयार पारेका हौं,’ उनले भने । उत्पादित सेनिटाइजर नगरवासीलाई ५० एमएलको १७ रुपैयाँमा बिक्री गरिरहेको उनले जानकारी दिए ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले यो साता १ सय ५० जनालाई सेनिटाइजर बनाउने तालिम दिएको छ । तालिम प्राप्त व्यक्तिले वडामा गएर अन्यलाई पनि तालिम दिने प्रतिष्ठानका वैज्ञानिक डा. साजन स्याउलाले बताए ।

प्रकाशित : चैत्र १२, २०७६ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?