२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

कतै राजदूत छैनन्, कतै घर बिदामा

कोभिड–१९ संक्रमण फैलिएको दक्षिण कोरियामा एक वर्षयता राजदूत पद रिक्त छ, जापानका लागि नेपाली राजदूत घर बिदामा नेपालमा छिन् ।

काठमाडौँ — विश्वभर कोभिड–१९ को संन्त्रास बढिरहेका बेला कतिपय मुलुकमा राजदूत नभएर आप्रवासी नेपाली समुदायले उद्धार, सहयोग र समन्वयमा समस्या झेलिरहेका छन् । केही मुलुकका राजदूत भने स्वास्थ्य स्थिति देखाउँदै छुट्टी लिएर नेपाल आएका छन् ।

कतै राजदूत छैनन्, कतै घर बिदामा

५० हजारभन्दा बढी नेपाली रहेको र कोभिड–१९ को संक्रमणका कारण ‘लकडाउन’ भएको दक्षिण कोरियामा १ वर्षयता राजदूत पद रिक्त छ । अफ्रिकाका झन्डै एक दर्जन मुलुकको प्रतिनिधित्व गर्ने दक्षिण अफ्रिकामा पनि एक वर्षयता राजदूत छैनन् ।


दक्षिण कोरियामा झन्डै ९ हजार मानिसमा कोभिड–१९ को संक्रमण भेटिएकामा १ सय ११ जनाको मृत्यु भइसकेको छ । ‘नेपाली कार्यरत उद्योग, कृषि फार्महरू पनि क्वारेन्टाइनकै अवस्थामा छन्,’ बुसानमा रहेका एक नेपालीले भने, ‘नेपालीको समस्या, उद्धार वा समन्वयका कुरा गर्न गए दूतावासले आआफैं सुरक्षित भएर बस्नुहोस् भन्दै फर्काउने गरेको छ ।’


दक्षिण एसियाली छिमेकी श्रीलंकामा ६ महिनायता राजदूत पद रिक्त छ । राजदूतविहीन अफ्रिकास्थित नेपाली नियोगले पूर्वी अफ्रिकी टापु सेसेल्सदेखि मोजाम्बिकसम्म छरिएर रहेका ५ हजारभन्दा बढी नेपालीको मामिला हेर्नुपर्छ । दक्षिण अफ्रिकाले केन्या, जाम्बिया, मदागास्कर, जिम्बाबे, बोत्स्वाना, अंगोला, नाइजेरियालगायतका मुलुकको सहप्रमाणिकरण पनि गर्छ । ‘पूर्वी र दक्षिणी भूगोलमा पर्ने अफ्रिकाका आधा मुलुकहरूको मामिला दक्षिण अफ्रिकास्थित दूतावासले हेर्छ,’ नाइजेरियामा रहेका गैरआवासीय नेपालीका अभियन्ता हिक्मत थापाले भने, ‘अहिले कोभिड–१९ संक्रमणको अत्यास भएका बेला हामीसँग सम्पर्क र समन्वय गर्ने कोही छैन ।’ उनले अफ्रिकामा रहने नेपालीलाई नेपाल राज्यको उपस्थिति र अभिभावकत्व कहिल्यै महसुस नभएको बताए ।


जापानका लागि राजदूत काठमाडौंमा

कोभिड–१९ संक्रमणको चपेटामा परिसकेको जापानको टोकियोस्थित नेपाली नियोगकी राजदूत प्रतिभा राणा एक महिनादेखि काठमाडौंमा छिन् । उनले आफू बिरामी बिदामा घर आएको बताइन् । ‘अहिले कोरोनाको सन्त्रासले अन्तर्राष्ट्रिय उडान नरहेको र सबैजसो देश लकडाउन भएको हुनाले टोकियो फर्कन नसकेकी हुँ,’ उनले भनिन् । जापानस्थित गैरआवासीय नेपाली समुदायले भने यत्रो महामारी र सन्त्रासका बेलामा अभिभावकजस्तो राजदूत घर बिदामा गएको भन्दै रोष व्यक्त गरेको छ ।


जापानमा लामो समयदेखि बस्दै आएका गैरआवासीय नेपाली प्रतिनिधि जोन छन्त्यालले फेसबुकमा लेखेका छन्, ‘कोभिड–१९ को सुरक्षा विधि र यसबारे हरपल जानकारी गराउनुपर्ने बेला राजदूत प्रतिभा राणा दुई महिना लामो बिदामा नेपालमा छिन् । चाहिने बेला काम नलागेपछि अब सधैं बिदा लिएर नेपालमै आराम गरे हुन्छ । किन चाहियो यस्ता राजदूत ?’


काठमाडौंमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘विदेशमा छरिएर बसेका नेपालीको निगरानी गर्न’ दूतावासलाई निर्देशन दिएका छन् । तर यति बेला घर बिदामा रहेको विषयमा प्रतिक्रिया लिन खोज्दा राजदूत राणाले भनिन्, ‘के म चरा हो र, उडेर जाऊँ ? सबैतिर बन्द छ, प्लेन उडिरहेको छैन । यो बेला नकारात्मक मात्रै बनिरहने ?’


उनले जापानमा रहेको नेपाली समुदायले जहिल्यै नकारात्मक मनस्थितिले आफ्नाबारे नचाहिँदो कुरा गरेको टिप्पणी गरिन् । ‘मैले यहाँ मन्त्री, मन्त्रालय सबैलाई आफ्नाबारे भनेकी छु,’ उनले भनिन्, ‘अब तपाईं नै भन्नुस्, के म अब हिँडेर टोकियो जाऊँ ?’ ७४ वर्षीया राजदूत राणा तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीको कोटामा २०१७ जुनमा राजदूत बनेर टोकियो पुगेकी थिइन् ।

प्रकाशित : चैत्र १२, २०७६ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?