२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

लकडाउनमा कोही पुस्तक पढ्दै, कोही पीपीई बनाउँदै

काठमाडौँ — कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले मंगलबारदेखि एक हप्ताका लागि देशभर लकडाउन घोषणा गरेपछि दैनिक क्रियाकलाप, व्यापार व्यवसायका साथै विभिन्न पेसामा ठूलो असर परेको छ । लकडाउनमा घरबाहिर निस्कन निषेध भएकाले यो समय राजनीतिकर्मी, कलाकार, खेलाडी, व्यवसायी तथा अन्य क्षेत्रका व्यक्ति के गर्दै छन् ?

लकडाउनमा कोही पुस्तक पढ्दै, कोही पीपीई बनाउँदै

गेटबाहिर पनि गएको छैन : रामचन्द्र पौडेल

फाइल फोटो

घरमै पढ्ने/लेख्ने काम गरेर समय बिताइरहेको छु । कोरोनाको संक्रमण कहाँ के भइरहेको छ, अपडेटका लागि अनलाइन र अरू मिडिया हेर्छु । यसबाहेक व्यायाम, योग र ध्यान गर्छु । अरू बेला घरबाहिर मात्रै हुन्थेँ ।

परिवारलाई समय दिन पाइँदैनथ्यो । अहिले बाहिरचाहिँ दुर्लभ भयो । गेटबाट बाहिर पनि गएको छैन । बाहिर जाखिम छ भन्दाभन्दै किन जानु ? म मात्रै होइन परिवारका सदस्य पनि गएका छैनन् । हामी त सुरक्षित छौं तर स्वास्थ्यकर्मी असुरक्षित भएकोमा चिन्ता लागिरहेको छ । पहिला स्वास्थ्यकर्मी बचाऔं अनि मात्रै हामी बाँच्न सक्छौ । पीपीई नै नभएपछि डाक्टरले पनि जोखिममा कसैको पनि उपचार गर्दैनन् ।

मानव जातिको इतिहास पढ्दैछु : झलनाथ खनाल

फाइल फोटो

कोरोनाको संक्रमण नेपालमा पनि बढ्ने खतरा छँदै छ । त्यसैले म त घरभित्रै बसिरहेको छु । काम नगरी बस्नु हुँदैन । तर, यसरी बस्नुको अर्को विकल्प छैन । संक्रमण फैलिन नदिन यो नै प्रभावकारी उपाय हो । यो बेला हामी संयम हुनु जरुरी छ । घरभित्र कसरी बिताउने उपाय निकाल्नुपर्छ । म चाहिँ यो समय अध्ययन र लेखनमा छु । मानव जातिको इतिहास अध्ययन गरिरहेको छु । त्यस्तै विभिन्न योद्धा साथीहरूको स्मृति पनि लेखिरहेको छु । यसो गर्दा समय बिताउन गाह्रो भएको छैन । पढ्न/लेख्नबाहेक सबै मिलेर खाना बनाउँछौ । पत्रपत्रिका पढछु । बिहान–बेलुका व्यायाम गरिरहेको छु ।

घरबाटै सरकार र व्यवसायीसँग समन्वय : भवानी राणा

फाइल फोटो

घरमा परिवारसँगै बसिरहेको छु । फिल्म हेर्छौं । लकडाउन त संक्रमण फैलन नपाओस् भनेर गरेको ‘प्रिभेन्सन’ हो । घरबाहिर निस्कनु भनेको जोखिम निम्त्याउनु हो । अरू बेला घरमा समय दिन पाउँदिनथेँ । परिवारसँगै बस्दा रमाइलो भइरहेको छ । घरमै रहँदा पनि अलर्ट नै हुन्छु । आपूर्ति सहज भयो कि भएन भनेर व्यवसायी साथीहरूसँग छलफल गरिरहेको हुन्छु । कतै प्रहरीले रोकेको खबर आउछ, त्यता पनि समन्वय गरिरहेको हुन्छु । महासंघको तर्फबाट सरकारलाई सहयोग दिन पनि लागिरहेको छु ।

तीन वटा पुस्तक पढिराछु : बाबुराम भट्टराई

फाइल फोटो

लकडाउनमा मान्छेको ज्यान जोडिएको छ । यसलाई हल्का रूपमा लिनु हुँदैन । मान्छेले यसलाई हडतालको रूपमा लिएर उल्लंघन गरिरहेका छन् । जीवनकालमा यस्तो महाव्याधी भोग्नुपरेको थिएन । घरबाहिर जाँदा आफू मात्रै होइन परिवार, समाजलाई समेत असर गर्छ । म त दिनभर के भइरहेको छ भनेर जानकारी लिन्छु । हिजो (मंगलबार) धनगढी र नाकामा अलपत्र परेकालाई सहयोग गर्न लागिपरेँ । अहिले अध्ययनमै समय बितिरहेको छ ।

बालकृष्ण पोखरेलको खस जाति र इतिहास, माइकेल ब्राइजेनोको मान्छेमा चेतना कसरी बन्यो भन्ने पढ्दै छु । रोबर्ट सेलरको किताब न्यारेटिभ इकोनोमिक्स पनि सँगसँगै पढिरहेको छु । एक साताभित्र तीन वटै पुस्तक पढिसक्छु । लकडाउनले दैनिक ज्यालादारी गर्नेलाई असर पार्न सक्छ । उनीहरूलाई पहिचान गरेर राहत प्याकेज ल्याउनुपर्छ ।

आमाको स्याहारमा व्यस्त छु : पम्फा भुसाल

फाइल फोटो

म कोलोनीमा बस्छु । आउजाउ कम हुँदा बाहिर निस्कन्छु । अरू बेला घरमा बस्छु । घरमा ९२ बर्षकी आमा र दिदी हुनुहुन्छ । भेटघाट शून्य छ । टीभी हेर्छु । कोलोनीमा भेटघाट गर्दा पनि दुरी टाढै राखेर कुरा गर्छौं । घरमा काम गर्नेलाई पनि बिदा दिएका छौं । खाना आफै बनाउछु । आमा हिँडडुल गर्न सक्नु हुन्न । लकडाउन गर्नुअघि आमासँग बस्न पाएको थिइनँ । मेरो अनुरोध छ– घरबाहिर ननिस्कनुस् । आकंकित पनि नहोऔं । सचेत होऔं ।

किताबको र्‍याक मिलाइराछु : अर्चना थापा

फाइल फोटो - नेपाल

मुलुक लकडाउन हुनुअघिदेखि नै म घरबाहिर निस्कन छाडेकी थिएँ । बाहिर निस्कँदा जोखिम छ भन्ने थाहा हुँदाहुँदै किन निस्कनु ? घरबाहिर निस्कनुपर्ने बाध्यता छ भने त जानैपर्‍यो । घरमा बसेपछि काम धेरै देखिँदो रहेछ । बुक र्‍याकमा किताब मिलाइराछु । उपन्यास, कथा, कविता फरक ठाउँमा राखिराछु ।

जाडोमा लगाएका कपडा थन्क्याएँ । गर्मीको कपडा निकालेँ । यसबाहेक फुर्सद हुनेबित्तिकै किताब पढिहाल्छु । दुर्गा कार्कीको कथासंग्रह पढ्दै छु । सामाजिक सञ्जाल हेर्न छाडेँ । यसले मानसिक रूपमा डर बढी भयो । बिहान एकपटक सरसर्ती हेर्छु । सामाजिक सञ्जालमा नराम्रो खबर र आक्रोश देखिन्छ । सकिन्छ भने सकारात्मक र हौसला बढाउने कुरा मात्रै लेखौं । म त घरमै छु । तपाईं पनि घरबाहिर ननिस्कनुस् ।

घरको काममा सघाउँछु : ज्ञानेन्द्र मल्ल

फाइल फोटो

हरेक व्यवसाय कोभिड–१९ बाट प्रभावित छ । घरबाट बाहिर निस्किएको छैन । परिवारसँग घरायसी काममै व्यस्त छु । परिवारसँग समय बिताउने अवसरको रूपमा लकडाउनलाई लिएको छु । कसरी हुन्छ, घरको काममा व्यस्त हुने प्रयास गरिरहेको छु । आफू, परिवार, समाज र राष्ट्रकै लागि सबैजना सचेत भएर घरमै बस्नु नितान्त आवश्यक छ ।

बिहान उठेर पूजाआजा सकेर खाना तयार गर्छु । एकछिन टीभी हर्ने, छोरीसँग कुराकानी गर्ने, खेल्ने, सरसफाइ गर्नेमै व्यस्त छु । पहिला/पहिला बाहिरको कामले घरमा समय दिन भ्याइँदैन थियो । सबैले घरभित्रै बसेर सरकारको अभियानमा सहयोग पुर्‍याऔं । आफू बचौं, अरूलाई पनि बचाऔं । एक जनाको गैरजिम्मेवारपूर्ण व्यवहारले मुलुकलाई हानि हुन सक्छ । सचेत र संयमित बनौं ।

आविष्कार केन्द्रको काममा छु : महावीर पुन

फाइल फोटो

कोभिड–१९ संक्रमित बिरामी जाँच्न चिकित्सकले लगाउने ड्रेसलाई पीपीई (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) भन्दा रहेछन् । त्यसको अति नै आवश्यक परेको रहेछ । त्यो नलगाई स्वास्थ्यकर्मी र चिकित्सकले कोरोना भाइरस संक्रमित बिरामी जाँच गर्न नमिल्ने रहेछ । त्यसैले शिक्षण अस्पताल काठमाडौं र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट पीपीई ड्रेस बनाउने अनुरोध राष्ट्रिय आविष्कार केन्द्रलाई आएको छ ।

पीपीईको डिजाइन केन्द्रमा बन्दै छ । करिब ४ सय वटा पीपीई बनाउन सकिने समान उपलब्ध भएको छ । सोही काममा व्यस्त छु । घरमै बसेर सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिसँग कुराकानी गर्दै काम गरिरहेको छु । फुर्सदमा टीभी हेर्ने, परिवारसँग समय बिताउने गरेको छु ।

श्रीमतीलाई सघाइरहेको छु : हरिवंश आचार्य

फाइल फोटो

लकडाउनको पहिलो दिन भारतीय फिल्म लुकाछिपी र दोस्रो दिन डियर कम्रेड हेरेँ । आज (बिहीबार) नेपाली फिल्म हेर्छु । दिनमा एउटाभन्दा बढी फिल्म हेर्नु हुँदैन । फुर्सद भयो कि औंला सलबलाएर मोबाइल खोल्न खोज्छ । औंलालाई आराम दिन रोशन राजवंशीले लेखेको कथा पढिरहेको छु । नयाँ क्रिएसन गर्न फुरेको छैन । यसबाहेक घरको काममा सघाउँछु । घरमा सघाउने बहिनीलाई नआउनु भनेको छु । हामीले त सरसफाइमा ध्यान दिएका हुन्छौं । हात धुन्छौं । तर, उनी बाहिरबाट आउँदा कसलाई भेटेको हुन्छ ? थाहा हुँदैन । त्यसैले मेरो धेरैजसो समय श्रीमतीलाई सघाउँदै बित्छ । कोठा र भर्‍याङ सफा गर्ने जिम्मेवारी मेरो भागमा छ । तर, गाडी नचलेर होला घरमा धुलो छिरेको छैन । सडकमा गाडी नचल्दा कुचो लगाउने काम मेरो भएकोले सजिलो भएको छ ।

घरबाट बाहिर ननिस्कनु भनेको हाम्रै लागि हो । यसमा कसैले पनि जिद्दी गर्नु हुँदैन । दिनभर घरमा बसेर साँझ बाहिर निस्कने गरेका छन् । कुनै अमुक पार्टीले गरेको बन्द जस्तो ठानेर केही मान्छे बाहिर निस्कछन । बन्द गर्ने पार्टीका मान्छेलाई वार्तामा ल्याएर कुरा मिलाउन सकिन्छ । तर, कोरानालाई कसैले वार्तामा ल्याउन सक्दैन । त्यसैले सबैले सजग भएर घरभित्रै बस्नुपर्छ ।


स्वास्थ्य सेवाबारे चासो र चिन्ता : गगन थापा

प्रतिनिधिसभा सदस्य गगन थापाले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक पत्र लेखेका छन्।

स्वास्थ्यक्षेत्रबारे चिन्ता व्यक्त गरिएको पत्रमा कोरोनाविरुद्ध एकजुट भएर लड्नुपर्ने सुझाव रहेको छ। कोरोनाको जाँच बढाउनुपर्ने लगायतका सुझाव उनले दिएका छन्। स्वास्थ्यमन्त्रालयमा रहँदाको अनुभव स्मरण गर्दै उनले स्वास्थ्य क्षेत्र कोरोनालाई थेग्न नसक्ने र पर्याप्त तयारी नपुगेको लेखेका छन्।

प्रकाशित : चैत्र १३, २०७६ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?