१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

लकडाउन : प्रकृतिलाई आराम !

निकुञ्ज र आरक्षमा मानिसको आउजाउ बन्द गरिएपछि जीवजन्तुले स्वतन्त्रता पाएका छन् । आगन्तुक चरा बढ्ने विश्वास गरिएको छ ।
अब्दुल्लाह मियाँ

काठमाडौँ — सर्वसाधारणको चहलपहल हुने निकुञ्ज र आरक्षसमेत लकडाउन गरिएपछि त्यहाँका जीवजन्तुले लामो समयपछि स्वतन्त्रता पाएको विश्लेषण विज्ञहरुले गरेका छन् । मानिसबाट वन्यजन्तुमा र वन्यजन्तुबाट मानिसमा कुनै संक्रमण नसरोस् भनेर १० गतेदेखि नै सबै निकुञ्ज, आरक्षका साथै संरक्षित क्षेत्रमा प्रवेश निषेध गरिएको छ ।

लकडाउन : प्रकृतिलाई आराम !

वन्यजन्तुविज्ञ मुकेशकुमार चालिसेले अत्यधिक मानव चापका कारण वन्यजन्तुमा प्राकृतिक गुण हराइरहेका बेला मानव निषेध हुँदा तिनको विचरण स्वतन्त्र हुने तर्क गरे । ‘चितवनका गैंडा, कोसीका अर्ना, पशुपति र स्वयम्भूका बाँदर र खैरापुरका कृष्णसारमा प्राकृतिक गुण नै हराएको छ,’ लंगुर बाँदरमा विद्यावारिधि चालिसेले कान्तिपुरसित भने, ‘ती सबै अहिले मानिसकै वरिपरि निर्धक्क ओहोरदोहोर गर्छन्, त्यो भनेको तिनमा आएको गुणको बदलाब हो ।’

प्राकृतिक बासस्थानमा कोलाहलका कारण वन्यजन्तुले थाँतथलो छाडिरहेका बेला कोर एरियामा मानव निषेध गर्दा वन्यजन्तुले राहत महसुस गर्ने चालिसेले बताए । ‘साँच्चिकै प्राकृतिक गैंडा आक्रमक हुनुपर्छ, तर सौराहामा निस्किएका गैंडा आरामले बजार घुमिरहेका हुन्छन्,’ उनले भने, ‘स्वयम्भू र पशुपतिका बाँदरले आफ्नो रैथाने खाना भुलिसकेका छन्, मान्छेले जे खान्छ, त्यसमै आश्रित हुन्छन्, यो सबै बदलाब हो ।’


निकुञ्ज र आरक्षमा मानवीय कोलाहल रोकिँदा वन्यजन्तु र जैविक विविधतामा सकारात्मक असर पर्ने विज्ञहरु बताउँछन् । ‘मानिसका कारण जानेर नजानेर वन्यजन्तु टाढाटाढा हुने र प्राकृतिक बासस्थानबाट अन्यत्रै सर्नेक्रम बढेको छ,’ चालिसेले भने, ‘प्रकृति शान्त हुँदा हराइसकेका प्रजातिसमेत देखा पर्छन्, जसरी मानवीय कोलाहल नभएपछि भूकम्पलगत्तै लाङटाङमा डाँफे, चिलिमेजस्ता चरा र कस्तुरी मृग बासस्थानमा फर्किएका थिए ।’

चालिसे निकुञ्ज र आरक्षमा वैज्ञानिक अनुसन्धानका लागि कोर एरियामा निश्चित क्षेत्र तोक्नै पर्ने अवस्था आएको बताउँछन् । ‘त्यसो हुन सक्यो भने वन्यजन्तुका वास्तविक आनीबानी र आहार पनि जीवित रहन्छन्,’ उनले भने, ‘नत्र तिनका सन्तानमा पनि बदलाब आउन थाल्छ ।’


एसियाली हात्तीमा विद्यावारिधि गरिरहेका पर्सा निकुञ्जका सहायक संरक्षण अधिकृत अशोकुमार राम प्राकृतिक बासस्थानमा कोलाहल रोकिँदा प्रजनन र बच्चा हुर्काउने तथा विचरणमा वन्यजन्तुलाई स्वतन्त्रता मिल्ने विश्लेषण गर्छन् । ‘मानिसको अनावश्यक प्रवेशले वन्यजन्तुको प्राकृतिक आनीबानी र ओहोरदोहोर खल्बल्याएको हुन्छ,’ उनले भने, ‘मानवीय कोलाहाल नै रोकिँदा आहारा खोज्न र विचरण गर्न वन्यजन्तुलाई सहज हुन्छ । यसले जेनेटिक कटेक्टिभिटीको पनि व्यवस्थापन गर्न मद्दत पुग्छ ।’

रेडियो स्याटेलाइट कलरजडित हात्ती तस्बिरः अशोककुमार राम

रामका अनुसार प्राकृतिक बासस्थानमा कोलाहल नहुने हो भने गैंडा, बाघ र हात्तीजस्ता ठूला वन्यजन्तु सितीमिती मानवबस्तीमा निस्किँदैनन् । जसका कारण मानव वन्यजन्तुबीच द्वन्द्वसमेत रोकिन्छ । ‘निकुञ्जभित्र सुरक्षा गस्ती जारी हुने भएकाले वन्यजन्तु तस्करीका घटना पनि हुँदैनन्,’ उनले भने ।


राजधानीनजिकैको शिवपुरी नागार्जुन निकुञ्ज अत्यधिक मानवीय कोलाहल र आउजाउ हुने क्षेत्र हो । निकुञ्जभित्रबाटै मध्यवर्ती क्षेत्रका गाउँ आउजाउ गर्न सडक बनाइएका छन् । ती सडकसमेत सुनसान भएपछि सबभन्दा धेरै फाइदा यहाँका जैविक विविधतामा भएको नेपाली सेनाको वन्यजन्तु निर्देशनालयमा लामो समय काम गरेका बाबुकृष्ण कार्की बताउँछन् । ‘ज्यादै अप्रिय कुरा हो तर प्रकृति र प्रकृतिका उपहार पशुपक्षी ज्यादै खुसी भएको पनि यही बेला हो कि झैं लागेको छ,’ उनले भनेका छन् ।

निकुञ्जहरुमा पर्यटकको भीडभाड नभएको शान्तकालीन यो समयमा वन्यजन्तुका आहार र बासस्थान व्यवस्थापन गर्ने उपयुक्त समय भएको कार्कीको बुझाइ छ । ‘घाँसे मैदान बनाउने, पानी, कुवा, तालको व्यवस्थापन गर्ने यो उपयुक्त समय हो,’ उनले भनेका छन्, ‘यो समयमा पुल पुलेसा, कुलो नहर, मचानको मर्मतसम्भार र नयाँ निर्माण, फायर लेन, बाटो मर्मतसम्भार र सफाइ तथा प्रतीक्षालय, शौचालय, धारा, बत्ती बनाउन सकिन्छ ।’


पक्षी संरक्षण संघ (बीसीएन) का चराविज्ञ कृष्णप्रसाद भुसाल ग्रीष्मकालीन आगन्तुक चराको समय भएकाले तिनलाई बच्चा कोरल्न थप स्वतन्त्रता लकडाउनले मिल्ने बताउँछन् । ‘यतिबेला ६२ प्रजातिका चरा नेपाल आउँछन्, ती चरालाई लकडाउनले लाभ पुगेको छ,’ उनले भने, ‘गत साता मात्र काठमाडौं उपत्यकामा ग्रीष्म आगन्तुक स्वर्गचरी देखिएको थियो ।’

भुसालका अनुसार बसाइँसराइ गरी नयाँ ठाउँमा प्रजनन गर्न आउने चरालाई मानवीय क्रियाकलापका कारण गुँंड बनाउन र प्रजनन गर्न असहज हुने गर्थ्यो । अहिले यस्ता चरालाई राहत भएको छ ।


चितवनमा एकसिंगे गैंडा र बर्दियामा पाटे बाघ हेर्न लाखौं पर्यटक भित्रिन्छन् । यो पर्यटक भित्रिने समय पनि हो । दुवै निकुञ्जमा आइतबारदेखि प्रवेश निषेध गरिएको छ । चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) नारायण रुपाखेतीले कोलाहल नहुँदा साँच्चिकै निकुञ्जजस्तो अनुभव भएको सुनाए ।

उनका अनुसार सैनिक गस्ती जारी छ । निकुञ्जले समूहमार्फत हुने व्यवस्थापनका काम पनि रोकेको छ । एक/दुई जनाबाट घाँसे मैदान व्यवस्थानलगायतका काम मात्र जारी छ ।


हिमालयन बायोडाइभर्सिटी नेटवर्क नेपालका सिभिस भण्डारी निकुञ्ज निषेधले ध्वनि प्रदूषणबाट अक्रान्त बनेका वन्यजन्तुले राहत मिलेको बताउँछन् । ‘निकुञ्जभित्र हुलका हुल हात्ती सफारी र अन्य सफारी हुँदा वन्यजन्तु कोलाहलले बाहिर निस्किन्थे,’ उनले भने, ‘मानवीय गतिविधि रोकिँदा वन्यजन्तुको प्रजनन क्रियाकलाप र पारिस्थितीय प्रणालीमा सन्तुलन मिल्छ र रोग सर्ने समस्या पनि हुँदैन ।’

प्रकाशित : चैत्र १३, २०७६ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?