पीपीइ र स्वास्थ्य कीट शनिबार आउने, आइतबार वितरण हुने 

सामाग्री लिन नेपाली विमान जाने
बिनु सुवेदी

काठमाडौँ — कोभिड–१९ परिक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण शनिबार साँझ काठमाडौं आइपुग्ने भएको छ । उच्च सरकारी स्रोतले कान्तिपुरलाई दिएको जानकारी अनुसार कोरोनाको संक्रमण जाँच्ने किट र स्वास्थ्यकर्मीहरुका लागि आवश्यक व्यक्ति सुरक्षा सामग्री (पीपीई) आउन लागेको हो । 

पीपीइ र स्वास्थ्य कीट शनिबार आउने, आइतबार वितरण हुने 

‘चीनको गोन्जाओबाट स्वास्थ्य उपकरण ल्याउने हो, शनिबार साँझ सामान काठमाडौं आइपुग्छ,’कोभिड रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति स्रोतले कान्तिपुरसँग भन्यो, ‘आइतबार बिहानै नेपाली सेनाको हेलिकप्टरमार्फत् प्रदेश प्रदेशमा स्वास्थ्य उपकरणहरु पठाइन्छ ।’ व्यवसायीहरुले किनेर ल्याउने यी सामाग्री नेपाल आएपछि सरकारले किनेर वितरण गर्नेछ ।


यसअघि उच्चस्तरीय समितिका संयोजक एवम् रक्षामन्त्री ईश्वर पोखरेलले अत्यावश्यकीय स्वास्थ्य उपकरण शनिबारसम्ममा जसरी पनि ल्याउने बताएका थिए । ‘हामीले जहाँबाट जसरी भए पनि शनिबारसम्ममा अत्यावश्यक स्वास्थ्य उपकरण ल्याउँछौं,’पोखरेलले भनेका थिए । त्यहीअनुरुप पहिलो चरणमा चीनको गोन्जाओबाट स्वास्थ्य उपकरण ल्याउन लागिएको हो ।

यसैबीच,सरकारले निजी क्षेत्रलाई समेत स्वास्थ्य अन्तर्राष्ट्रिय बजारबाट स्वास्थ्य उपकरण खरिदका लागि आह्वान गरेसँगै उनीहरु पनि सामान ल्याउन तयार देखिएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय स्रोतले कान्तिपुरलाई दिएको जानकारी अनुसार केही निजी क्षेत्रका ब्यापारीले सामान ल्याउनका लागि हवाईजहाजको व्यवस्था गरिदिन नेपाल एअरलायन्सलाई निवेदन दिएका छन् ।


उनीहरुको निवदेनबारे आज दिनभरीमा छलफल गरेर निर्णय गरिने मन्त्रालय स्रोतको भनाइ छ । सरकारले निजी क्षेत्रलाई पनि औषधिजन्य सामाग्री ल्याउन आह्वान गर्दा हवाई यातायातको चाँजोपाँजो मिलाइदिने घोषणा गरेको थियो ।


सामाग्री लिन नेपाली विमान जाने (अपडेट)

स्वास्थ्यमन्त्री भानुभक्त ढकालका अनुसार पहिले चीनले नै कार्गो पठाउने भनिए पनि अब नेपालबाटै सामाग्री लिन विमान चीन जानेछ । 'उताको कार्गो बढी व्यस्त भएकाले अब हामीले नै जहाज पठाउने कुरा भएको छ,' ढकालले भने ।

प्रकाशित : चैत्र १३, २०७६ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?