रामेछाप, पोखरा र तेह्रथुममा गरी ५५ जना क्वारेन्टाइनमा
रामेछाप, पोखरा र तेह्रथुम — कोरोना भाइरसबाट बच्न र बचाउनका लागि रामेछाप, पोखरा र तेह्रथुममा गरी ५५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । जिल्लाका र जिल्ला प्रवेश गर्नेहरुलाई विभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टाइनमा राखिएको हो ।
रामेछाप
रामेछापमा १ जनालाई आइसोलेसन र ३६ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य प्रमुख जितेन्द्रकुमार कर्णले जानकारी दिए । उनकाअनुसार तामाकोसी अस्पतालमा एक जनालाई बुधबारदेखि आइसोलेसनमा राखिएको छ । भारत र तेस्रो मुलुकबाट रामेछापमा आएकाहरुलाई बुधबारदेखि नै क्वारेन्टाइनमा राखिएको हो । प्रमुख कर्णका अनुसार मन्थली नगरपालिकामा १२, रामेछाप नगरपालिकामा ५ जना, खाँडादेवी गाउँपालिकामा ४ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
यसैगरी दोरम्बा गाउँपालिकामा ११ र गोकुलगंगा गाउँपालिकामा ६ जनालाई होम क्वारेन्टाइनमा राखिएको कर्णले बताए । होम क्वारेन्टाइनमा राखिएकामध्ये कतार, फ्रान्स र भारतबाट आएकाहरु छन् ।
पोखरा
भारतबाट काकडभिट्टा नाका हुँदै आएर गण्डकी प्रदेश प्रवेश गर्न खोज्ने १४ सहित १६ जनालाई पोखरामा क्वारेन्टाइनमा राखिएको छ । बुधबार बिहान १२ यात्री, चालक र सहचालक गरी १४ जना मुग्लिङबाट पोखरा प्रवेश गर्दै थिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर स्कर्टिङ गर्दै पोखरा ल्याएको हो ।
बुधबार रातिदेखि उनीहरुलाई प्रदेशले स्थापना गरेको क्वारेन्टाइन स्थल मालेपाटनको कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रमा राखिएको छ । कतार एयरवेजबाट नेपाल आएका एकजनालाई पनि उक्त क्वारेन्टाइनमा राखिएको छ । उनलाई काठमाडौंबाट लिएर आएको एम्बुलेन्सका चालक समेत क्वारेन्टाइनमा छन् ।
प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका सम्पर्क व्यक्ति नवराज शर्माले ११ र पुरुष र ५ महिला क्वारेन्टाइनमा रहेको बताए । उनकाअनुसार उनीहरुमा संक्रमण देखिए आइसोलेसनमा राखिने छ । तालिम केन्द्रमा ४९ बेड क्षमताको क्वारेन्टाइन प्रदेशले स्थापना गरेको हो ।
तेह्रथुम
लालीगुराँस नगरपालिका केन्द्र बसन्तपुरबाट ३ जना भारतीयलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको छ । पश्चिम बंगालबाट काँकडभिट्टा नाका हुँदै बसन्तपुर आइपुगेका उनीहरुमध्ये एक जनालाई रुघाखोकीसहित उच्च ज्वरो देखा परेपछि नियन्त्रणमा लिएर क्वारेनटाइनमा राखिएको लालीगुराँस नगरपालिका स्वास्थ्य शाखा संयोजक शत्रुघनप्रसाद साहले बताए ।
प्रकाशित : चैत्र १३, २०७६ १७:३१