प्रदेश १ मा ८ सय आइसोलेसन शय्या थपिँदै
विराटनगर — प्रदेश १ मा ८ सय शय्याको आइसोलेसन वार्ड बनाइने भएको छ । प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्ला अस्पतालमा सम्भावित संक्रमितलाई राख्नका लागि आइसोलेसन बनाउन लागेको हो ।
सामाजिक विकास मन्त्रालयले बिहीबार विभिन्न ६ वटा ठूला अस्पताललाई आइसोलेसन वार्ड बनाउन निर्देशन दिएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशमा हालसम्म २ सय ३२ वटा आइसोलेसन शय्या छन् । यो पर्याप्त नहुने भएकाले थप शय्या व्यवस्था गर्न लागिएको उनले बताए ।
विराटनगरका नोबेल अस्पतालमा दुई सय, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई सय, विराटनगरकै कोसी अस्पतालमा सय, विराट मेडिकल कलेजमा सय, विर्तामोडको बीएन्डसी अस्पतालमा डेढ सय, भद्रपुरस्थित मेची अस्पतालमा ५० शैय्याको आइसोलेसन शैय्या तयार गरिने भएको हो ।
विराटनगरमा प्रदेश सरकारले संक्रमितको उपचार र रेखदेखका लागि ५० शय्या रहने बेग्लै अस्पताल निर्माण गरिरहेको छ । नेशनल ट्रेडिङको भवनमा बन्दै गरेको यो अस्पतालमा कम्तीमा १० शय्या भेन्टिलेटरसहितको हुने जनाइएको छ ।
पहिल्यै रहेको भवनको सफाइ, खानेपानी व्यवस्था, रंगरोगन, बिजुली व्यवस्थापनलगायत काम भइरहेको प्रदेश सरकारले जनाएको छ । उक्त स्थानमा स्वास्थ्य सम्बन्धी उपकरणहरु जडान गर्ने काम समेत भइरहेको मन्त्री घिमिरेले बताए ।
प्रकाशित : चैत्र १३, २०७६ १८:२८