कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्वास्थ्य सचिव भन्छन्– शंकास्पद बिरामी जाँच्दा मास्क, पञ्जा र टोपी लगाए पुग्छ

पीपीई प्रयोगको मापदण्ड : लिखितमा एउटा, मौखिक अर्कै
कृष्ण ज्ञवाली

काठमाडौँ — कोभिड–१९ संक्रमणका बिरामीहरुको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुमाथि लापरवाही गर्दै आएको सरकारले बिहीबार फेरी अर्को त्यस्तै चरित्र प्रदर्शन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले पत्रकार सम्मेलनमा कोरोना संक्रमणको लक्षण देखिएका बिरामीको प्रारम्भिक उपचार र नमुना संकलनमा संलग्न हुने स्वास्थ्यकर्मीहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) नदिने निर्णय भएकाे बताएका थिए ।

स्वास्थ्य सचिव भन्छन्– शंकास्पद बिरामी जाँच्दा मास्क, पञ्जा र टोपी लगाए पुग्छ

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार, सम्भावित बिरामीको प्रारम्भिक उपचारमा प्रत्यक्ष संलग्न हुने स्वास्थ्यकर्मीहरुले अनुवार्य रुपमा पीपीई प्रयोग गर्नुपर्छ । तर मन्त्रालयका सचिवले भने बिहीबारदेखि लागू गरेको मापदण्ड अनुसार, कोभिड–१९ का लक्षण देखिएका व्यक्तिहरुको स्वास्थ्य परिक्षणका दौरान पीपीई प्रयोग हुनेछैन भनेर घोषणा गरेका थिए । 'बिरामीलाई संक्रमणको पुष्टि भएपछि उपचारमा संलग्न हुने चिकित्सकहरुले मात्रै पीपीई प्रयोग गर्नेछन्,' उनले भनेका थिए ।

स्वास्थ्य सचिवले पत्रकार सम्मेलनमा श‌ंकास्पद बिरामीका जाँच गर्नका लागि मास्क, पञ्जा र टोपी मात्र लगाए पुग्ने बताए पनि लिखित मापदण्डमा भने गाउनदेखि सर्जिकल मास्कसम्म लगाउनुपर्ने उल्लेख छ । यद्यपी मन्त्रालयले तोकेको मापदण्डले चिकित्सकहरु आफू सुरक्षित हुनेमा भने श‌ंका व्यक्त गर्छन् ।

कोभिड–१९ का लक्षण देखिने सबै बिरामीहरु कोरोनाबाट संक्रमित हुँदैनन् । तर उनीहरुलाई संक्रमण भएको पुष्टि भएपछि मात्रै पीपीईसहितका स्वास्थ्यकर्मीले परिक्षण गर्ने मापदण्ड बनाउँदा त्यसअघि नै पीपीई बिना उनीहरुको सामान्य उपचार तथा रोग निदानमा संलग्न हुने स्वास्थ्यकर्मीहरु संक्रमणको जोखिममा पर्छन् ।

बिहीबारको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले मन्त्रालयले तयार पारेको पीपीई मापदण्ड बिहीबारदेखि लागू भएको बताए । ‘ज्वरो, रुघाखोकी नाप्दा मास्क, ग्लोब्स, चस्मा लगाएका स्वास्थ्यकर्मीहरु खटिनेछन्,’ उनले भने, ‘नमूना जाँचपछि कोरोना देखियो भने अलग्गै अस्पतालमा लगिनेछ । त्यसबेला पीपीई लगाएर राखिनेछ । मन्त्रालयले तयार पारेको मापदण्ड लागू भइसकेको छ ।’

उनको भनाईमा, साधारण रुघाखोकीका बिरामीहरु जाँच्दा समेत कोरोनाको आशंकामा चिकित्सकहरुले पीपीई लगाएपछि अभाव भएको हो । बिरामीको नमूना संकलनका क्रममा समेत त्यसको प्रयोग भएपछि देशभर बाँडिएका पीपीई पनि सकिएर अभाव भएको हो ।



पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव कोइरालाले सरकारले तोकेका विशेष अस्पतालहरुलाई १० लाख रुपैयाँका दरले रकम निकासा भएको बताए । २५ वटा त्यस्ता अस्पतालहरुले तत्काल फिभर क्लिनिक सञ्चालन गर्नका लागि यो रकम खर्च गर्नेछन् ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको मापदण्डमा व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) जोखिमका आधारमा प्रयोग हुनुपर्ने उल्लेख छ । त्यो मापदण्ड हेर्ने हो भने चिकित्सक मात्रै होइन, बिरामीसँग नजिक रहेर काम गर्ने स्वास्थ्यकर्मी, प्रयोगशालाकर्मीहरुले समेत अनिवार्य रुपमा पीपीई प्रयोग गर्नुपर्छ ।

उक्त मापदण्डका अनुसार, पीपीईको सेटमा मेडिकल मास्क, गाउन, पञ्जाहरु, आँखाको बचाउ गर्ने गगल्स र हेल्मेट आकारको शिल्ड समेत पर्छन् । संगठनले स्वास्थ्यकर्मीका साथै सरसफाईमा संलग्न कामदार, बिरामी भेट्ने भिजिटर अनि बिरामी लगायतलाई अलग अलग मापदण्डको पीपीई तोकेको छ ।

सरकारी अस्पतालमा कार्यरत एक चिकित्सकका अनुसार विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले अविकसित राष्ट्रका लागि छुट्टै पीपीई मापदण्ड र विकसित राष्ट्रका लागि छुट्टै पीपीई मापदण्ड लागु गरे जस्तो देखिएको आरोप लगाए ।

‘चीन वा यूरोपमा एम्बुलेन्स ड्राराइभरदेखि सबैले पूर्णरुपमा ढाकिने गरी पीपीई प्रयोग गरिरहेको देखिन्छ । हामी कहाँ भने मास्क र पञ्जा लगाएको भरमा जाँच गरे हुन्छ भनिन्छ,’ उनले भने, ‘हामी कहाँ पीपीई नै छैन । त्यसैले जुगाड गरेर काममा लगाउने योजना बुनिएको हो ।’

उनले पीपीई नभए पनि कार्य क्षेत्रमा खटिनुको विकल्प नभएकोले धेरैले गुनासो नै गर्न छोडिसकेको पनि बताए । ‘जति कराए पनि हुने केही होइन । बिरामी जाँच्न परिहाल्यो । जे छ त्यसैमा चित्त बुझाउनुको विकल्प छैन,’ उनले भने ।

प्रकाशित : चैत्र १३, २०७६ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?