१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

चीनबाट स्वास्थ्य सामग्री पर्सि आइपुग्‍ने

पीपीई र स्वास्थ्य किट ल्याउने जहाज शनिबार गोन्जाओ जाने
व्यापारीले किनेर गोन्जाओमा राखेका सामान निगमको जहाजले ल्याएपछि सरकारले किनेर हेलिकप्टरबाट प्रदेश–प्रदेशमा पुर्‍याउने तयारी

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) रोकथाम, परीक्षण र उपचारमा अत्यावश्यक स्वास्थ्य उपकरण तथा औषधि शनिबारदेखि चीनबाट ल्याइने भएको छ । सरकारको पहलमा शनिबार नेपाल वायुसेवा निगमको जहाज चीनको गोन्जाओ जाने र सामग्री आइतबार बिहानसम्म नेपाल ल्याइपुर्‍याउने स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताए ।

चीनबाट स्वास्थ्य सामग्री पर्सि आइपुग्‍ने

त्यसपछि व्यापारीहरू आफैंले र सरकारी पहलमा थप सामग्री ढुवानी गर्दै जाने सम्बद्ध अधिकारीहरूले बताएका छन् । एक निजी कम्पनीले आउँदो बुधबार आफ्नै पहलमा व्यापारिक प्रयोजनका लागि स्वास्थ्य सामग्री ल्याउने भएको छ ।


नेपाली व्यापारीले किनेर राखेका स्वास्थ्य उपकरण लिन नेपाली विमान शनिबार गोन्जाओ जान लागेको स्वास्थ्यमन्त्री ढकालले बताए । ‘नेपाली व्यापारीहरूले गोन्जाओमा स्वास्थ्य उपकरण भेला पारेका छन्, नेपाल एयरलाइन्सको जहाज गएर ती समान ल्याउँछ,’ उनले भने, ‘नेपाल आइसकेपछि व्यापारीबाट ती सामान हामी किन्छौं ।’ गोन्जाओ कुन विमान पठाउने भन्ने टुंगो शुक्रबार बिहानसम्म लाग्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।


आइतबार ल्याइपुर्‍याइने सामग्रीमा कोरोना संक्रमण फैलन नदिने औषधि, एन–९५ मास्क, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), प्रयोगशालामा सामग्री, थर्मल गन, आईसीयू शय्या, संक्रमण टेस्ट गर्ने किटलगायत छन् । सुरुमा चीनकै कार्गोले सामान ढुवानी गर्ने बताइए पनि पछि नेपाली जहाज नै जाने निधो भएको हो । ‘उताको कार्गो जहाज अन्तै जाने कुरा आयो, त्यसैले नेपालबाटै जहाज पठाउने कुरा भएको छ,’ मन्त्री ढकालले भने । ती सामग्री आइतबार बिहानै नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश प्रदेशमा पठाइने उनले जनाए ।


कोभिड–२९ रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक एवं रक्षामन्त्री ईश्वर पोखरेलले अत्यावश्यकीय स्वास्थ्य उपकरण शनिबारसम्ममा जसरी पनि ल्याउने बताएका थिए । सरकारले सुरुमा ‘जीटूजी’ बाट स्वास्थ्य उपकरण खरिद गर्ने योजना बनाएको थियो । त्यसका लागि चीन, भारतलगायत मुलुकमा प्रयास गरिए पनि सफल हुन सकेको छैन । अत्यावश्यकीय सामग्री तत्काल जरुरी पर्न थालेपछि गत मंगलबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले त्यस्ता स्वास्थ्य सामग्री अन्तर्राष्ट्रिय बजारबाट खरिद गरी ल्याउन निजी क्षेत्रलाई आह्वान गरेको थियो । सामान ढुवानीका लागि सरकारले जहाज व्यवस्था गरिदिने निर्णय गरेको थियो ।


स्वास्थ्य सामग्री ल्याउने विषयमा बुधबार साँझ व्यापारी र स्वास्थ्य सेवा विभागबीच छलफल भएको थियो । विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार बुधबारको छलफलमा ३० व्यापारी उपस्थित थिए । ‘उहाँहरूले समान ल्याउने चाहना देखाउनुभएको छ,’ उनले भने, ‘व्यापारीले हामी (सरकार) र उहाँहरू आफ्नै व्यापारका लागि पनि सामान ल्याउने प्रतिबद्धता जनाउनुभएको थियो ।’


व्यापारीहरूले चीनको गोन्जाओमा भेला पारिएका सामग्री सरकारले खरिदबिक्री गर्ने सम्झौतासमेत भइसकेको छ । ‘गोन्जाओमा उहाँ (व्यापारी) हरूले सामान जम्मा गर्नुभएकै छ, उहाँहरूले हामीलाई के–के दिने भन्नेबारे सम्झौता भएको छ,’ मन्त्री ढकालले भने, ‘त्यसका आधारमा उहाँहरूले सामान ल्याउनुहुन्छ, हामीले त्यो सामान किनिदिन्छौं र वितरण गर्छौं ।’


सम्झौतापछि बिहीबार निजी क्षेत्रका व्यापारीले सामान ल्याउन हवाईजहाजको व्यवस्था गरिदिन निगममा निवेदन दिएका थिए । निवेदनअनुसार पर्यटन मन्त्रालयले जहाजको व्यवस्था गरिरहेको छ । मन्त्री ढकालका अनुसार स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक पर्ने सामग्री पहिलो प्राथमिकता हो । ‘त्यसबाहेक अरू सामान पनि अभाव पूर्ति गर्ने हिसाबले सरकारले किन्ने तयारी गरेको छ,’ उनले भने ।


सरकारले हवाई सेवा उपलब्ध गराउने निर्णय गरेसँगै अन्य व्यापारीले पनि त्यही जहाजमा आफ्ना सामग्री नेपाल ल्याइदिन सरकारसँग अनुरोध गरिरहेका छन् । नेपाली व्यापारीले चीनबाट सामान आयात गर्ने प्रमुख व्यापारिक केन्द्र गोन्जाओमा सामान किनेर राखेका छन् । ‘सम्भव भएसम्म सोही जहाजमा हाम्रो सामान ल्याउने तयारीमा छौं,’ एक व्यापारीले भने, ‘नभए अर्को जहाज चार्टर्ड गरिदिन सरकारलाई अनुरोध गरिरहेका छौं । हामी जति पनि सामान ल्याउन तयार छौं । ढुवानीमा सरकारले सहजीकरण गरिदिनुपर्‍यो ।’


गैरआवासीय संघ (एनआरएनए) ले पनि सोही जहाजमा सरकारलाई सहयोग गर्ने भनिएका सामान लोड गरिदिन अनुरोध गरिरहेको छ । एनआरएनएले सरकारलाई सुरुमा एक करोड रुपैयाँ दिने घोषणा गरेको थियो । सरकारका उच्च अधिकारीहरूले रकमको सट्टा अत्यावश्यकीय स्वास्थ्य सामग्री ल्याइदिन भनेपछि त्यसको तयारीमा एनआरएनएका अधिकारी जुटेका थिए । ‘कोरिया र चीनमा सामान खरिद गरिसकेका छौं,’ एनआरएनए अध्यक्ष कुमार पन्तले भने, ‘चीनको सामान नेपालबाट जाने जहाजमार्फत नै ल्याउने चाहना सरकारसमक्ष राखिसकेका छौं ।’ जहाजबाट सम्भव नभए अब खुला गर्ने भनिएको चिनियाँ नाकाबाट आयात गर्ने विकल्प सोचिरहेको उनले बताए । ल्याउन लागिएका सामान पीपीई, मास्क र अन्य स्वास्थ्य उपकरणहरू नै रहेको उनले बताए ।


सरकारका एक अधिकारीका अनुसार ठूला व्यापारिक घरानाहरूले पनि नेपालमा ल्याएर सहयोग गर्नका लागि त्यस्ता सामग्री ल्याइदिन सरकरासँग अनुरोध गरिरहेका छन् । यस विषयमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट तथा राज्यमन्त्री मोतीलाल दुगडले सहजीकरण गरिरहेका छन् । ‘सरकारले ल्याउन लागेका सामान केही उद्योगी व्यवसायीकै आइडियाअनुसार हो,’ ती अधिकारीले भने, ‘हामी स्वास्थ्य मन्त्रालयसँग समन्वय गराइहेका छौं ।’ धेरै व्यवसायीले सहयोग र व्यापारका लागि सामान ल्याउने चाहना राखेको उनले बताए ।


स्वास्थ्य सेवा विभाग र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाली व्यापारीलाई ल्याउनुपर्ने सामग्रीको सूची उपलब्ध गराएका थिए । ‘उहाँहरूले सहयोगका रूपमा हैन सरकारले नै खरिद गर्ने गरी यी सामान झिकाइदिनु भनेर आग्रह गर्नुभयो,’ बैठकमा सहभागी एक व्यापारीले भने, ‘हाम्रा सबै साथीले आ–आफ्नो सम्पर्क सूत्र लगाएर सामान खरिद गर्ने योजना बनायौं ।’ तर सरकारले समानान्तर रूपमा ‘जीटूजी’ प्रक्रियाबाट समेत धेरै सामग्री ल्याउने तयारी गरिरहेको भन्दै केही व्यापारी हच्किएका छन् । ‘केही समयपछि चीन र थाइल्यान्डसहित अरू सरकारहरूले सहयोग गर्दैछन् भन्ने भएपछि हाम्रा केही साथी हच्किनुभएको छ,’ ती व्यापारीले भने, ‘धेरै सामान आउँदा हाम्रा सामान थन्किने हुन् कि भन्ने हामीलाई डर भयो ।’ सामान ल्याइने प्रक्रियामा रहेको र नरहेको सूचीबारे सरकारले स्पष्ट नपारे द्विविधा हुने उनले बताए ।


सरकारसँगको पहुँचमा नरहेका तर कार्गो विमान चार्टर्ड गरिरहेका पुराना केही व्यापारी भने आफैं सामान ल्याउन जुटेका छन् । फ्ल्यास फ्रेट लजिस्टिकले आउँदो बुधबार त्यस्ता सामग्री ल्याउने तयारी गरेको छ । कार्गो विमानबाट सामान ल्याउन इच्छा हुने व्यापारीलाई बुक गराउन उसले सूचना जारी गरिसकेको छ । अप्रिल १ मा चीनको व्यापारिक केन्द्र सेन्जेनबाट सामान आयात गर्ने उसले सूचनामा उल्लेख गरेको छ । एक किलोग्राम सामान ल्याउन ८ अमेरिकी डलर (९ सय ६८ रुपैयाँ) शुल्क लाग्ने उसले जनाएको छ ।


अर्का एक व्यापारीका अनुसार अप्रिल ४ मा पनि अर्को यस्तै कार्गो विमान चार्टर्ड गर्ने तयारी भइरहेको छ । ‘नेपालमा सामग्रीको माग बढ्दै जाने र चीनमा पाउने हो भने अब यस्तो चार्टर्ड बढ्दै जान्छ,’ ती व्यापारीले भने । कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक औषधि तथा स्वास्थ्य उपकरणको माग विश्व बजारभरि नै छ । त्यस्ता सामग्री खरिद गर्न सबै क्षेत्रका व्यापारीको ध्यान चीनमै केन्द्रित छ ।

प्रकाशित : चैत्र १४, २०७६ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?