कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

क्‍वारेन्टाइनबाट धमाधम भाग्दै, घर फर्केको सूचना दिनेलाई नगद

नराख्न माग गर्दै कतै आन्दोलन, कतै स्वास्थ्यकर्मीमाथि नै कुटपिट
प्रदेश ब्युरो

काठमाडौँ — भारतबाट फर्किएपछि क्वारेन्टाइनमा राखिएकाहरू धमाधम भाग्न थालेका छन् । बसिरहेकाहरूले पनि घर जान दिनुपर्ने माग गर्दै आन्दोलन सुरु गरेका छन् । आफन्तलाई क्वारेन्टाइनमा राखेको भन्दै कतिपय ठाउँमा स्थानीय बासिन्दाले स्वास्थ्यकर्मीमाथि नै कुटपिटसमेत गरेका छन् ।

क्‍वारेन्टाइनबाट धमाधम भाग्दै, घर फर्केको सूचना दिनेलाई नगद

बैतडीको पाटन नगरपालिका–९ को विद्यालयमा राखिएका सात जना क्वारेन्टाइनबाट बुधबार एकैसाथ भागेका छन् । एक्लै भएको मौका छोपेर भागेका उनीहरूलाई सम्पर्कमा ल्याउन गाह्रो भएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । सुर्नया गाउँपालिकाको एक विद्यालयमा राखिएका एक जना पनि बिहीबार बिहानै भागेका छन् । अन्य पालिकाले भने कसैलाई पनि क्वारेन्टाइनमा राखेका छैनन् ।


पुरचौडी नगरपालिका–५, कुवाकोटस्थित भूमिराज मावि काटै गहताडको क्वारेन्टाइनमा ड्युटी खटिएका स्वास्थ्य चौकीका अहेव करनसिंह धामी बुधबार राति कुटिएका छन् ।


क्वारेन्टाइनमा आफन्तलाई किन राखेको भन्दै स्थानीय नरेन्द्र जागरीले उनीमाथि कुटपिट गरेका हुन् । बुधबारै भारतबाट फर्केका सात जनालाई विद्यालयमा राखिएको थियो ।


जागरीले राति कोठाभित्र जबर्जस्ती पसेर गाली गर्दै धामीलाई कुटेको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी डिल्लीनारायण पाण्डेयले बताए । जागरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्वास्थ्यकर्मीलाई सामान्य चोट लागेको उनले जनाए । नगरपालिकाले विज्ञप्ति प्रकाशित गरेर स्वास्थ्यकर्मी कुट्नेमाथि कारबाही माग गरेको छ ।

करिब तीन सातादेखि बिहीबारसम्म बैतडीको प्रमुख नाका झुलाघाटसँगै तल्लो स्वराड क्षेत्रको पञ्चेश्वर र शिवनाथ गाउँपालिकाका विभिन्न घाटमा डुंगा र ट्युब तरेर घर फर्कनेको संख्या २ हजार ५ सय १४ पुगेको जिल्ला प्रहरी प्रवक्ता इन्स्पेक्टर किसन चन्दले बताए । नाका बन्द भएपछि सोमबारयता ३५७ जना जिल्ला प्रवेश गरेका छन् ।


स्वास्थ्य कार्यालय र प्रशासन कार्यालयसँगको समन्वयमा जिल्लाका १० वटै पालिकाले क्वारेन्टाइनको व्यवस्था गरेका छन् । दशरथचन्द नगरपालिकाले ९ जनालाई क्वारेन्टाइनमा राखेको छ । बुधबारसम्म दुई दर्जनभन्दा बढीलाई राखिएकोमा बिहीबार सम्बन्धित पालिकाको जिम्मा लगाएको स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले बताए । यस्तै सिगास गाउँपालिकाले बिहीबार एक जनालाई क्वारेन्टाइनमा राखेको छ । पाटन नगरमा चार, सुर्नया गाउँपालिकामा १५, पञ्चेश्वरमा तीन, शिवनाथमा दुई र पुर्चौडी नगरमा सात जनालाई क्वारेन्टाइनमा राखिएको छ ।


त्यसैगरी भारतसँग सीमा जोडिएको डडेलधुराको परशुराम नगरपालिकाले लालढुंगा बजारनजिक त्रिवेणी बहुमुखी क्याम्पसमा स्थापना गरेको क्वारेन्टाइनमा राखिएका ४५ जनाले १२ घण्टा नबित्दै घर जान पाउनुपर्ने माग राख्दै आन्दोलन गरेका छन् । उनीहरू तोडफोडमा उत्रिएपछि सम्बन्धित वडाका वडाध्यक्षको जिम्मा लगाएर घर फर्काइएको छ । स्वास्थ्यकर्मीले सबैको सामान्य जाँच गरेर घर पठाएका हुन् । कसैमा पनि उच्च ज्वरो नदेखिएकाले जान दिइएको स्वास्थ्यकर्मीले बताएका छन् ।


गन्यापधुरा गाउँपालिका विद्यालयमा बनाइएका क्वारेन्टाइनमा अहिलेसम्म एक जनाले पनि बस्न मानेका छैनन् । भारतबाट फर्किएका कसैले बस्न नमानेपछि क्वारेन्टाइन खाली छन् । गाउँपालिकाका अध्यक्ष नवल मल्लका अनुसार भारतबाट आएकाहरूको घरमै पुगेर आग्रह गर्दा पनि बस्न मानेका छैनन् ।


अजयमेरु गाउँपालिकाले गाउँबाट खोजेर क्वारेन्टाइनमा राख्ने प्रयास जारी राखेको जनाएको छ । सम्झाएर नमान्नेलाई प्रहरी लगाएर जबर्जस्ती क्वारेन्टाइनमा राख्ने प्रयास गरिरहेको छ । गाउँपालिका छिर्ने चारवटै नाकामा हेल्थ डेस्क स्थापना गरेको छ । प्रयास गर्दागर्दै पनि धेरैजसोले क्वारेन्टाइनमा बस्न नमान्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । परशुराम नगरपालिकाले क्वारेन्टाइनमा राखेका ४४ जनालाई घर पठाएको छ । अमरगढी नगरपालिकाले पनि ३० जनालाई घर पठाएको छ ।


महाकाली नदी तरेर घर फर्किएकाका विषयमा भने स्थानीय तहलाई जानकारी नै छैन । भागेश्वर गाउँपालिका, परशुराम नगरपालिका, आलिताल गाउँपालिका र अजयमेरु गाउँपालिकाका विभिन्न वडामा सीमाबाट अवैध रूपमा भित्रिएका धेरै सर्वसाधारणले अहिलेसम्म सामान्य जाँचसमेत गराएका छैनन् । भारतबाट फर्केकाहरू क्वारेन्टाइनमा बस्न नमान्ने समस्या सबै ठाउँमा छ । ‘स्थानीय तहले खाना, बस्न र सबैखाले सुविधा उपलब्ध गराउँदा पनि क्वारेन्टाइनमा बस्नभन्दा भागेर घर जान थालेका छन्,’ भागेश्वर गाउँपालिकाका स्वास्थ्यकर्मी मदनराज भट्टले भने ।


चिकित्सकहरूले यस्तो गुनासो गरे पनि प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले सबै स्थानीय तहसँग समन्वय गरी आवश्यक तयारी भइरहेको बताउँछन् । ‘चैत २ मै जिल्ला स्तरको बैठकले १८ बुँदे कार्ययोजना बनाएर आवश्यक तयारी भइरहेको छ,’ पन्तले भने, ‘स्थानीय तहमा रहेका स्वास्थ्य संस्थासँग निरन्तर समन्वय भएको छ भने हरेक दिन हरेक स्थानीय तहबाट आवश्यक रिपोर्ट आइरहेको छ ।’


घर फर्केको सूचना दिनेलाई नगद

म्याग्दीमा विदेशबाट हालै घर फर्केकाको खोजी सुरु गरेको मंगला गाउँपालिकाले आफैं वा अन्यले सूचना दिएमा नगद एक हजार पुरस्कार दिने घोषणा गरेको छ । पालिकामा घरदैलो गरी फागुन अन्तिम सातापछि विदेशबाट फर्केकाको खोजी सुरु गरिएको छ ।


‘विश्वका प्रायः देश कोरोना संक्रमणग्रस्त छन्, विदेशबाट फर्केकाहरूबाट संक्रमण भित्रिने जोखिम बढी छ,’ गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले भने, ‘स्वास्थ्य अवस्थाको सही सूचना पाउनका लागि नगद पुरस्कारको व्यवस्था गरेका हौं ।’


अन्य पालिकामा पनि विदेशबाट हालै फर्केकाको विवरण खोजी भइरहेको छ । मालिका गाउँपालिकामा फागुनको अन्तिम सातायता १९ जना विभिन्न देशबाट घर फर्केको बताएको छ ।


डोटीमा भारतबाट बिहीबार आएका थप १५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । दिपायल सिलगढी नगरपालिकाका १२ र बोगटानका ३ जना छन् । दिपायल सिलगढी नगरपालिकाकालाई स्वास्थ्य निर्देशनालयमा र बोगटान गाउँपालिकालाई चवराचौतारा स्वास्थ्यचौकीमा राख्ने व्यवस्था भइरहेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।


बिहीबारसमेत गरी क्वारेन्टाइनमा बस्ने ३५८ पुगेका छन् । डोटीका विभिन्न २० स्थानमा क्वारेन्टाइन स्थापना गरिएको छ ।


प्रदेश १ मा कोभिड–१९ संक्रमण आशंकामा करिब डेढ सय जनालाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेश १ प्रहरी कार्यालयका अनुसार शंकास्पद संक्रमित पाँच जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ । यसैगरी होम क्वारेन्टाइनमा ६९ जनालाई राखिएको जनाइएको छ । कतारबाट आएका दुई जनालाई मोरङको टाँडीस्थित क्वारेन्टाइनमा राखिएको छ । पाँचथरका उनीहरूलाई एम्बुलेन्समा राखेर ल्याइएको हो । उनीहरूका परिवारलाई भने होम क्वारेन्टाइनमा राखिएको छ ।


प्रदेश सरकारले हालसम्ममा प्रदेशभर ९ सय ८१ शय्याको क्वारेन्टाइन र १ सय ४२ शय्याको आइसोलेसन वार्ड तयार भइसकेको जनाएको छ । केही स्थानमा थप निर्माण भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


वाग्मती प्रदेशअन्तर्गतको धादिङको नेत्रावती डबजोङ र गजुरी गाउँपालिकामा १० मजदुरलाई क्वारेन्टाइनमा राखिएको छ भने गल्छी गाउँपालिकामा निर्माण गरिएको क्वारेन्टाइनमा १६ जनालाई राखिएको छ । उनीहरू भारतबाट फर्किएका थिए ।

गाउँमा छैन सतर्कता


भारतसित सीमा जोडिएका सुदूरपश्चिमका चार जिल्लाका वैधानिक नाकाहरूबाट पछिल्लो साता १ लाख २४ हजार ८ सय गाउँ फर्किए । तर उनीहरूमध्ये लकडाउनको अवधिमा जिल्ला पुर्‍याइएकालाई मात्र क्वारेन्टाइनमा राख्ने प्रयास भए पनि त्यसअगाडि आएकाहरू गाउँमा निर्बाध घुमफिर गरिरहेका छन् । कैलाली, कञ्चनपुर, बैतडी, डडेलधुरा र दार्चुला भारतसित आवतजावत गर्ने नाका जोडिएका जिल्ला हुन् । धनगढीको त्रिनगर सीमा नाकाबाट मंगलबार राति जिल्ला जिल्ला पुर्‍याइएकालाई मात्र क्वारेन्टाइनमा राख्ने तयारी गरिएको हो । त्यसको अघिल्लो दिनसम्म गाउँ पुगेकालाई कुनै वास्ता नगरिएको स्थानीयले बताएका छन् ।


बाजुराको बुढीगंगा नगरपालिकाको टाँटे स्वास्थ्य चौकीका इन्चार्ज दीपक शाहका अनुसार भारतबाट आएकोहरूको संख्या नगरपालिकाभरि सयौं भए पनि २ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको छ । उनका बजेडीमा मात्रै एउटै गाडीमा ५० जना आएका थिए ।


सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्की त्यसमा केही त्रुटि भइरहेको स्विकार्छन् । उनले वडा तहमा वडाध्यक्षको संयोजकत्वमा समिति गठन भएर बाहिरबाट आएकाहरूलाई सेल्फ क्वारेन्टाइनमा रहन सहजीकरण गर्न भनिएको बताए । लकडाउनको समयमा जिल्ला पठाइएकालाई पनि व्यवस्थित रूपमा क्वारेन्टाइनमा बसाल्न नसकिएको उनको भनाइ छ । ‘धेरैतिर क्वारेन्टाइनमा बस्न नमानेर स्वास्थ्यकर्मीमाथि नै हातपात भएको जानकारी आएको छ,’ उनले भने, ‘यस्तो विकराल अवस्थामा व्यक्ति जिम्मेवार हुनु नै प्रमुख कुरा हो ।’


सशस्त्र प्रहरीका विभिन्न युनिटहरूका अनुसार सबैभन्दा धेरै कञ्चनपुरको गड्डाचौकी नाकाबाट ६९ हजार २१५ आएका छन् । कञ्चनपुरकै बेलौरी, बेल्डाँडी, गडीकोट दोधाराबाट १ हजार ६ सय आएका छन् । कञ्चनपुरपछि कैलालीका नाकाबाट सबैभन्दा धेरै संख्या भित्रिएको तथ्यांक छ । खक्रौला, गुलरियाघाट मौरियाघाट त्रिनगर र शिवपुर गरी ६ वटा नाकाबाट पछिल्लो ६ दिनमा ५२ हजार ५८७ भित्रिएको सशस्त्र प्रहरीको तथ्यांक छ । यीमध्ये सबैभन्दा धेरै धनगढीको त्रिनगर नाकाबाट ४५ हजार ४९८ जना नेपाल आएका थिए । दार्चुलाको खलंगा नाकाबाट ४ सय ८० आएको प्रहरी तथ्यांक छ ।


अछामका ग्रामीण क्षेत्रमा पनि त्यही अवस्था छ । लकडाउनको समयमा धनगढी सीमामा रोकिएका अछामका ५३ जनालाई सदरमुकाम मंगलसेनमा क्वारेन्टाइनमा राखिएको छ । तर त्यस अघिल्लो दिनसम्म गाउँ पुगेकाहरू भने घरघरमा रहेको स्वास्थ्य कार्यालयका प्रमुख झनक ढुंगाना बताउँछन् । ‘व्यक्ति आफैं होसियार हुनुपर्ने हो,’ उनले भने, ‘धेरैजसो ठाउँमा जनप्रतिनिधिसमेत खटिएर उनीहरूलाई घर बाहिर जान नहुनेमा सजग गराउने प्रयास गरिरहेका छौं ।’


प्रदेश ५ मा ३ सय जना क्वारेन्टाइनमा

प्रदेश ५ का विभिन्न जिल्लामा बिहीबारसम्म करिब तीन सय जनालाई क्वारेन्टाइनमा राखिएको छ । यसरी निगरानीमा राखिएका अधिकांश भारतबाट फर्किका हुन् । कपिलवस्तुमा ४५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरू सीमामा अलपत्र थिए । सतर्कता अपनाउनुपर्ने भएकाले क्वारेन्टाइनमा राखिएको प्रहरीले जनाएको छ । कृष्णनगर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा ३६ जना राखिएको छ । नगरपालिकाले महेन्द्र माविमा क्वारेन्टाइन बनाएको छ । कपिलवस्तु नगरपालिकाले बनाएको क्वारेन्टाइनमा आठ जना राखिएको छ । कोरोना संक्रमित १९ वर्षे युवती चढेको विमानमा यात्रा गरेका मायादेवी गाउँपालिका–१, बर्रोहियाका नुरमोहम्मद धोवीलाई पनि क्वारेन्टाइनमा राखिएको छ । उनीहरूलाई १४ दिन निगरानीमा राखेर घर पठाइने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।


बेलहिया–सुनौली नाकामा बुधबार बिहानदेखि अलपत्रमा ३१ जनालाई क्वारेन्टाइनमा बस्ने सर्तमा बिहीबार बिहान मुलुक प्रवेश दिइएको छ । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले यहाँ क्वारेन्टाइनमा बस्ने गरी आउन दिइएको बताए । उनका अनुसार सियारी गाउँपालिकाको क्वारेन्टाइनमा १०, तिलोत्तमा नगरपालिकास्थित क्वारेन्टाइनमा ११ र शुद्धोधन गाउँपालिकाको क्वारेन्टाइनमा १० जना रहने गरी उनीहरूलाई नेपाल ल्याइएको हो । उनीहरूलाई सिस्ने गाउँपालिका–५, रुक्मिणी माविमा रहेको क्वारेन्टाइनमा उनीहरूलाई राखिएको छ । भारतका विभिन्न ठाउँबाट आएका र अन्य देशबाट आएका समेत क्वारेन्टाइनमा छन् ।


पाल्पामा भारतबाट फर्किएका ३७ जनालाई तानसेन नगरपालिकाको बर्तुङस्थित जनप्रिय मावि र बगनासकाली गाउँपालिकाको चिर्तुङधारास्थित ग्राम्य माविमा क्वारेन्टाइनमा राखिएको छ । उनीहरू महाराष्ट्र, केरला, दिल्लीलगायत स्थानबाट आएका हुन् । सुदूरपश्चिम सरकारले बसको व्यवस्था गरेर उनीहरूलाई यहाँसम्म पुर्‍याएको हो । ३७ जनामध्ये चार जना बागलुङका छन् । तत्कालका लागि २६ जनालाई बर्तुङ र ११ जनालाई ग्राम्य माविको क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालयका प्रमुख विश्वनाथ न्यौपानेले बताए ।


बर्दियाका ६ नगरपालिका र दुई गाउँपालिकामा गरेर बिहीबारसम्म १ सय ४० जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना संक्रमित युवतीसँगै कतारबाट आएको विमानमा आएका यहाँका दुई युवालाई प्रहरीले बिहीबार फेला पारेको छ । दुवैलाई बिहीबार प्रहरीले क्वारेन्टाइनमा राखेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले कतारबाट फर्किएका बासगढीका लक्ष्मण थारूलाई घरबाट ल्याएर क्वारेन्टाइनमा पठाएको बताए । बढैयाताल गाउँपालिका घर भई बाँकेको खजुरा बस्दै आएका गजेन्द्रबहादुर क्षत्री रेग्मीलाई पनि क्वारेन्टाइनमा पठाइएको छ । उनीहरूका परिवार र सम्पर्कमा आएका व्यक्तिलाई निगरानीमा राखिएको छ ।


बुटवलस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा राखिएका शंकास्पद ६ बिरामीबाट संकलन गरिएको नमुना (स्वाब) परीक्षणका लागि बिहीबार काठमाडौं पठाइएको छ । लकडाउनका कारण हवाइजहाज सञ्चालन नभएकाले स्वाब पठाउन समस्या भए पनि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँग समन्वय गरेर गाडीबाट पठाइएको लुम्बिनी प्रादेशिक अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. सुदर्शन थापाले बताए । नमुना पठाइएका व्यक्तिमा अर्घाखाँचीका दुई, दाङका एक र रूपन्देहीका तीन गरेर ६ जना रहेका छन् । उनीहरूलाई धागो कारखानामा रहेको अस्थायी आइसोलेसन अस्पतालमा राखिएको उनले बताए ।


भारतबाट आएकालाई क्वारेन्टाइनमा राखिँदै

भारतबाट जुम्ला भित्रिएका यात्रुलाई बिहीबारदेखि क्वारेन्टाइनमा राख्न थालिएको छ । दुई जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।


कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा बुधबार दिउँसो राखिएका सिंजाका ३२ वर्षीय युवकलाई आइसोलेसनमा रिफर गरिएको प्रतिष्ठानले जनाएको छ । उनका १० वर्षीय छोरालाई पनि आइसोलेसनमा राखिएको प्रतिष्ठानका अस्पताल निर्देशक डा.मंगल रावलले बताए । ‘ज्वरो बढ्दै गएपछि उनलाई क्वारेन्टाइनबाट आइसोलेसनमा सारिएको हो,’ उनले भने, ‘बाबुछोरा भारतबाट फर्किएका हुन् ।’


भारतबाट आएका पातारासी गाउँपालिकाका ६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । गाउँपालिकाले कर्णाली इन्स्टिच्युटमा निर्माण गरेको क्वारेन्टाइनमा भारतबाट फर्किएका स्थानीयलाई राखेको हो । हिमा गाउंँपालिकाले पनि भारतबाट आएका २४ जनालाई क्वारेन्टाइनमा राखेर निगरानी गरिरहेको छ । बुधबार मात्र जुम्लाको सिमाना नाग्मबाट ३ सय ४० जना स्थानीयवासी भित्रिएका छन् ।


-अर्जुन शाह (धनगढी), तृप्ति शाही (बैतडी), डीआर पन्त (डडेलधुरा), घनश्याम खड्का (म्याग्दी), मोहन शाही (डोटी), माधव घिमिरे (विराटनगर), हरिहरसिंह राठौर (धादिङ), एलपी देवकोटा (जुम्ला), माधव अर्याल (पाल्पा)

प्रकाशित : चैत्र १४, २०७६ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?