कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

लकडाउनमा घरमै नियमित व्यायाम : शरीर स्वस्थ, मन शान्त

डा. हरिप्रसाद पोखरेल

काठमाडौँ — डा. हरिप्रसद पोखरेल योग एवं प्राकृतिक चिकित्साका विशेषज्ञ हुन् । लकडाउनको समयमा बाहिर हिँडडुल नगर्न नमिल्ने हुँदा घरमै योग र व्यायाम कसरी गर्ने भन्ने विषयमा उनले यहाँ बताएका छन् :

लकडाउनमा घरमै नियमित व्यायाम : शरीर स्वस्थ, मन शान्त

हामी सबैले गर्नुपर्ने र गर्नसक्ने अंग–व्यायाम हो । जोर्नी चलाउने र पिटी खेलेजस्तो गर्न जसले पनि जानेको हुन्छ । हात, खुट्टा, औंला खुम्च्याउन/फैलाउन सकिन्छ । अगाडि झुक्ने, पछाडि झुक्ने, सबै जोर्नीलाई गतिशील बनाउने । बच्चादेखि बुढा अनि रोगीले जोर्नी चलाउन सक्छन् । श्वाससँग जोडेर पनि गर्न सकिन्छ ।

हामीले कहिल्यै एक्लै बस्ने अभ्यास र तयारी गरेनौं । समूह र समुदायमा जिउने स्वभावबाट विकसित भएको जीवनपद्दति हो हाम्रो । अहिले कोरोना भाइरसको संक्रमणबाट बच्न घरबाहिर ननिस्कनु, एकापसमा दुरी बनाइराख्नु र भेटघाटमा संयमता अपनाउनु अत्यावश्यक छ । त्यसैले ‘सेल्फ–क्वारेन्टाइन’को यो बसाइ धेरैलाई कष्टकर बनेको छ ।


आफ्नै घर भएकाहरु छतमा निस्केलान्, वारिपारि हेर्लान्, तलमाथि गरेर समय बिताउलान् । एउटा कोठामा सामान्य जीवन बिताइरहेको परिवारलाई कति मुस्किल होला ? तर, घरभित्रै बस्नु अहिलेको पहिलो प्राथमिकता हो । कति लम्बिन्छ, त्यसको उत्तर छैन । लकडाउनको समय र सीमा बढ्न सक्छ, यसका लागि हामीले आफूलाई तयारी अवस्थामा राख्नुपर्छ ।


यस्तो बेला धेरै व्यक्तिमा नयाँ खालको मानसिक तनाव जन्मन्छ । यो बेला पहिल्यैबाट समस्या हुनेलाई थप गाह्रो पर्न सक्छ । एकातिर एक्लै बस्नुपरेकाले मानसिक अस्थिरता पैदा हुन्छ ।


अर्कातिर व्यापार, पेसा, व्यवसाय डामाडोल हुँदैछ भनेर विचलन आउन सक्छ । दिनभर श्रम गरेर साँझ–बिहान छान टार्नेहरु अझ संकटमा छन् । काम छैन । काम नभएपछि दाम छैन । दाम नहुनेका लागि खानेकुरा छैन । जबकि अहिले पोषणयुक्त खानेकुरा खाएर हाम्रो रोगसँग लड्ने क्षमता विकास गर्नुपर्छ ।


मलाई लाग्छ, कोरोनाको कहर बिस्तारै शरीरबाट मनतिर जान्छ । बेलैमा हामी सचेत हुन जरुरी छ । अहिले खानपान र कसरतमा ध्यान दिन सकियो भने समस्याले पिरोल्दैन ।


अहिले जति उपलब्ध हुन सक्यो, दाल र गेडागुडी खानुपर्छ । टुसा भएको गेडागुडीमा भिटामिन र मिनरल्स बढी हुन्छ । त्यसैले क्वाँटी बनाएर खाँदा अझ फलदायी हुन्छ । भिटामिन र खनिजले रोग प्रतिरक्षा क्षमता बढाउँछ । बजारमा हरियो सागसब्जीको मूल्य बढेको छ, सहजता कम छ, बाहिर निस्कन डर पनि छ । दाल–चामल जसरी तरकारी–फलफूल महिनौंलाई राख्न सकिन्न । दिनदिनै ल्याउनुपर्ने हुन्छ, अब झन् सागसब्जीको अभाव हुँदै जान्छ । तैपनि क्यालोरी, कार्बोहाइड्रेट र प्रोटिन मात्र खाएर त भएन । तारेको, फास्टफुड, प्याकेटका खान्की जति सकिन्छ, कम गरौं । अरु बेला पनि यस्ता कुराहरू खानुहुन्न, अहिले थप कठोर हुनुपर्छ ।


दिनभर कसरी बिताउने चिन्ता छ । शारीरिक व्यायामबाट दोहोरो फाइदा हुन्छ, समय बित्छ, शरीर तन्दुरुस्त भइराख्छ । हामीकहाँ धेरैले योगा सिक्नुभएको छ । घरभित्रको अभ्यासमा योगा उत्तम हुन्छ । हामीसँग मोबाइल छ, इन्टरनेट छ, युट्युबमा हेरेर पनि विधि पछ्याउन सकिन्छ । जानेकाले अरुलाई सिकाउनुपर्छ ।


पहिले बिहान एक घन्टा योगा गर्नेले अहिले दिउँसो र साँझ गरेर तीन घण्टा गर्न सक्नुहुन्छ । हामीसँग समय छँदैछ । खाना खाएको तीन–चार घण्टापछि योग गर्न सकिन्छ । ध्यान, आध्यात्मिक मन्त्रोच्चारणमा समय बढाउन सकिन्छ । हाम्रो रीत नै हो, त्रिकाल स्नान र त्रिकाल पूजा सन्ध्यामा गर्ने । आसनले शरीरको रोगसँग लड्ने क्षमता विकास गर्छ । प्राणायमले हाम्रो प्राण तत्त्वलाई बढाउँछ । ध्यान गर्दा मानसिक शान्ति हुन्छ । अहिलेको विषम सामाजिक परिस्थितिसँग सौहार्द भएर सामना गर्न र खुसीसाथ बिताउन सिकाउँछ ।


हामी सबैले गर्नुपर्ने र गर्नसक्ने अंग–व्यायाम हो । जोर्नी चलाउने र पिटी खेलेजस्तो गर्न जसले पनि जानेको हुन्छ । हात, खुट्टा, औंला खुम्च्याउन/फैलाउन सकिन्छ । अगाडि झुक्ने, पछाडि झुक्ने, सबै जोर्नीलाई गतिशील बनाउने । बच्चादेखि बुढा अनि रोगीले जोर्नी चलाउन सक्छन् । श्वाससँग जोडेर पनि गर्न सकिन्छ । ध्यानमा अरु केही गर्न सकिएन भने पनि नाकबाट श्वास आएको र गएको हेर्न सकिन्छ । बुद्ध परम्परामा यसलाई विपश्यनाभित्र आनापाना ध्यान भन्छौं, सामान्य तर प्रभावकारी विधि हो यो । मेडिटेसन संगीत/ध्वनि एकाग्र भएर सुन्न सकिन्छ । घर तीन तलाको छ भने सिँढी तल र माथि गरे पनि अभ्यास हुन्छ । एकै ठाउँमा कुँजिएर बस्न हुन्न ।


आ–आफ्ना धर्मसम्प्रदायका मन्त्र हुन्छन्, स्वरबद्ध उच्चारण गर्दा पनि मनमा शान्ति आउँछ । किताब पढ्दा एकाग्र भइन्छ, ज्ञान बढ्छ । संगीत सिर्जने, चित्र कोर्नेले त्यो क्षमता अझ निखार्न सक्छन् ।


टेलिभिजन, अनलाइन, युट्युब, फेसबुक, साथी र आफन्तसँग जहाँ–जता पनि कोरोनाकै कुरा हुँदा भय सिर्जना गर्छ । त्यसैले सूचनाको आदानप्रदानमा सन्तुलन मिलाउनुपर्छ । अन्यथा मनमा अशान्ति पैदा हुन्छ । आफू सुरक्षित बस्नुपर्छ, अरुलाई सुरक्षित बस्न प्रेरित गर्नुपर्छ । शारीरिकरूपमा दुरी राख्ने तर भावनात्मकरूपमा अझ जोडिने समय हो यो । म, मेरो परिवार, समाज, देशमात्र होइन, विश्व ब्रम्हाण्डलाई यस महामारीबाट जोगाउन घरभित्र बसेको हुँ भन्ने सकारात्मक चिन्तन विकास गर्नुपर्छ ।


प्रस्तुति : गोकर्ण गौतम

प्रकाशित : चैत्र १६, २०७६ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?