१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कालीगण्डकी करिडोरमा ११ सय मजदुर अलपत्र

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीको दुर्गम पहाडी क्षेत्रमा निर्माणाधीन कालीगण्डकी करिडोरमा कार्यरत ११ सय मजदुर घर जान नपाएर ६ दिनदेखि अलपत्र परेका छन् । त्यस खण्डको बुलिंटार गाउँपालिका—६ को गौडामा कार्यरत सल्यानका मजदुर सन्तोष राउतले आफूसहित १५० मजदुर एकै ठाउँमा अलपत्र परेको टेलिफोनबाट जानकारी दिए । 

कालीगण्डकी करिडोरमा ११ सय मजदुर अलपत्र

आफ्नो गाउँकै खुमबहादुर गिरी (पेटी ठेकेदार) मार्फत २ महिनादेखि करिडोरमा काम गर्दै आएका उनले २ महिनादेखि तलब समेत नपाएको सुनाए । उनको टोली ४० नम्बर खण्डमा कार्यरत छन् । त्यहाँ कामदारलाई हरेक एक किलोमिटर भित्र दूरीकालाई एउटा नम्बर दिने चलन छ । राउतका अनुसार उनको समूहमा सल्यान, प्यूठान, रोल्पा, रुकुम, जाजरकोट, भोजपुर, दैलेख, इलाम र संखुवासभाका मजदुर छन् ।


त्यस खण्डका कन्सल्टेन्ट इन्जिनियर रोहित भट्टराईले गाउँगाउँका सडकमा स्थानीयले रुख ढालेर आवतजावत बन्द गरेकाले कामदारलाई पठाउन नपाएको जानकारी दिए । शनिबार १४८ जना मजदुरलाई पठाइएको र अन्यलाई ठेकेदारहरुले जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरेर पठाउने प्रयास गरिरहेको जानकारी आफूले पाएको भट्टराईले बताए ।

प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले करिडोरका कामदारलाई खाद्य सामग्रीको समेत अभाव हुन लागेको जानकारी पाएको र उद्धारको प्रयास भइरहेको जानकारी दिए । कामदारका लागि खाद्य सामग्रीको व्यवस्था गर्न र घरसम्म पुर्‍याउन ठेकेदार कम्पनीलाई निर्देशन दिएको उनले बताए । ‘सकेसम्म अहिलेसम्मको ज्याला भुक्तानी पूरै दिन भनेको छु । यदि त्यसमा समस्या छ भने उनीहरुलाई घरसम्म पुग्ने पैसा दिनैपर्छ,’ घिमिरेले भने ।


कालिगण्डकी करिडोरको गैंडाकोट—डेढगाउँ खण्ड (पूर्वी नवलपरासीमा पर्ने) मा ७५ किलोमिटर लम्बाइको छ । सडक खण्डको ठेक्का पाएको भारतीय इकेके इन्फ्रास्ट्रक्चर लिमिटेडले नेपाली पेटी ठेकेदारलाई फरकफरक खण्डमा काममा लगाएको छ ।

प्रकाशित : चैत्र १६, २०७६ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?