२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

‘विश्व बजारमै सामान अभाव रहेकाले केही महँगो पर्‍यो होला’

काठमाडौँ — स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले विश्व बजारमा सामान अभाव रहेको कारण खरिद गरिएका सामान केही महँगो परेको स्पष्टिकरण दिएका छन् । स्वास्थ्य मन्त्रालयको दैनिक पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक श्रेष्ठले टेण्डर खोलेर सामान खरिदको प्रयास गरेपनि कसैले टेण्डर नहालेपछि अन्तिममा सहमतिका आधारमा सामान खरिद गरिएको बताए ।

‘विश्व बजारमै सामान अभाव रहेकाले केही महँगो पर्‍यो होला’

‘हामीले टेण्डर खोल्यौं । कसैले पनि सामान दिनसक्ने अवस्था रहेन । त्यसपछि हामीले स्वास्थ्य मन्त्रालयमा सामान आपूर्ति गर्ने सबै व्यापारीलाई बोलाएर जोसँग जति सामान छ त्यो व्यवस्था गर्न आग्रह गरेका थियौं,’ उनले भने, ‘हामीले आफैं विमान पठाएर सामान ल्याइदिन्छौं भन्दा दुईजनाले मात्रै सामान दिनसक्ने बताउनुभयो । त्यसपछि हामीले नेगोसियसन गरेर सहमति गरेका हौं ।’

उनको अनुसार सरकारले रहरले नभइ बाध्यतामा परेकोले महँगोमै भएपनि सामान किन्ने निर्णय गर्नुपरेको हो । ‘विश्व बजारमै सामान छैन । औषधि त औषधि हो । जसरी पनि चाहिन्छ । केही महँगो पर्‍यो होला,’ उनले भने ।

उनले स्वास्थ्य सेवा विभागले खरिद गरेको र खरिद गर्ने सम्पूर्ण सामाग्रीहरुको विवरण वेबसाइटमा राखिने पनि जानकारी दिए । ‘हामीले खरिद गरेको सम्पूर्ण सामाग्रीको विवरण अनलाइनमा हुन्छ । त्यसैले अनियमितता होला भन्ने नसोच्न आग्रह गर्छु,’ उनले भने ।

उनले पहिलो लटमा खरिद गरिएका सामान र चीन सरकार तथा अन्य दाताबाट सहयोग प्राप्त सामान आइपुगेको जानकारी दिए ।

यस्तै उनले पूर्वमा कोरोना परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई जिम्मा दिइएको र अन्य स्थानमा पनि छिट्टै प्रयोगशाला तयार गरेर जिम्मा दिइने जानकारी दिएका थिए ।

प्रकाशित : चैत्र १६, २०७६ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?