कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पीपीईसहितका स्वास्थ्य सामग्रीको गुणस्तर तोक्न अझै केही दिन लाग्ने

बिनानिर्णय टुंगियो गुणस्तर परिषदको बैठक
बलराम बानियाँ

काठमाडौँ — कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै मुलुकभर जथाभावी उत्पादन र बिक्रीवितरण भइरहेका पीपीई गाउनसहितका अत्यावश्यक स्वास्थ्य सामग्रीको गुणस्तर मापदण्ड तोक्न अझै केही दिन लाग्ने भएको छ ।

पीपीईसहितका स्वास्थ्य सामग्रीको गुणस्तर तोक्न अझै केही दिन लाग्ने

मापदण्ड तय गर्न आइतबार बोलाइएको गुणस्तर परिषदको बैठक बिनानिर्णय टुंगिएको छ । बैठकले मापदण्डलाई अन्तिम रूप दिन प्राविधिक समिति गठन गरेको छ । समितिले मापदण्डलाई अन्तिम रूप दिएपछि परिषद बैठक बसी पारित गर्नेछ । ढिलोमा एक सातामा मापदण्ड तय भई लागू भइसक्ने दाबी सरोकारवाला स्वास्थ्य र उद्योग मन्त्रालयका अधिकारीले गरेका छन् ।

संक्रमणको त्रासका बीच मुलुकभर मापदण्डबिनै पीपीई गाउन, मेडिकल ग्लोभ, मास्क तथा सेनिटाइजर उत्पादन र बिक्री–वितरण भइरहेका छन् । यस्ता सामानको मापदण्ड नतोकिएका कारण विदेशबाट आयातीत तथा स्वदेशमा उत्पादित गुणस्तरहीन सामग्रीको बिक्री–वितरण र उपयोग देशभर भइरहे पनि सरकारले नियन्त्रण गर्न सकेको छैन ।

देशभर उपयोग भइरहेका यस्ता सामान गुणस्तरहीन भएका कारण सर्वसाधारणमात्र होइन, स्वास्थ्यकर्मीसमेत संक्रमणको जोखिममा पर्नसक्ने खतरा रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयको आग्रहमा उद्योग मन्त्रालयले सम्बन्धित विज्ञहरूको राय–सुझावका आधारमा गुणस्तर ऐनअनुसार स्वास्थ्य सामग्रीहरूको मापदण्डको मस्यौदा तयार गरेको छ । उद्योगमन्त्री संयोजक रहेको गुणस्तर परिषदमा स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिलका विज्ञ सदस्य छन् ।

परिषद बैठकमा प्रस्तुत मस्यौदा अपूर्ण रहेको र अत्यावश्यक सबै सामानलाई समेट्न नसक्ने राय प्राविधिकहरूबाट आएपछि त्यसलाई पूर्णता दिन अझै केही दिन लाग्ने भएको हो ।

बैठकले विज्ञहरूसित परामर्श गरी मस्यौदालाई अन्तिम रूप दिन प्राविधिक समिति गठन गरेको छ । समितिले विज्ञहरूसित परामर्श लिई तीन दिनमा मस्यौदालाई अन्तिम रूप दिई परिषदको बैठकमा पेस गर्ने जानकारी उद्योगसचिव चन्द्र घिमिरेले दिए । उनका अनुसार समितिले मस्यौदालाई अन्तिम रूप दिनासाथ बस्ने परिषदको बैठकले स्वास्थ्य सामग्रीहरूको मापदण्ड तोक्ने छ ।

मापदण्डमा पीपीई गाउन, मास्क, सेनिटाइजर र मेडिकल ग्लोबलगायतका सामग्रीको गुणस्तर तोकिनेछ । मापदण्डमा तोकिने स्पेसिफिकेसनका आधारमा सम्बन्धित विज्ञहरूको कमिटीले ती सामग्री गुणस्तरीय भए/नभएको पहिला जााच गर्ने र त्यसपछि मात्र उपभोक्तासम्म पुर्‍याउने व्यवस्था गरिने जानकारी उद्योग मन्त्रालयका अधिकारीले दिए ।

परिषदले तय गर्ने मापदण्ड तत्काल राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा आउने छ । मापदण्ड राजपत्रमा प्रकाशित भई लागू भएपछि मुलुकभित्र उत्पादित र विदेशबाट आयातीत सामग्री गुणस्तरीय भए/नभएको जााच गर्ने र नभए बजारमा जानबाट रोक्ने, जफत गर्ने र गुणस्तरहीन सामान उत्पादन तथा बिक्रीवितरण गर्नेमाथि कारबाही गर्ने कानुनी आधार बन्नेछ ।

प्रकाशित : चैत्र १६, २०७६ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?