झापामा ९ र सुनसरीमा ३ जनामा कोरोना पुष्टि, प्रदेश १ मा संक्रमितको संख्या ५४ पुग्यो

माधव घिमिरे

विराटनगर — झापाका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको केचनाबाट ल्याइएको स्वाब नमुना परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो । योसँगै झापामा संक्रमितको संख्या १२ पुगेको छ ।

झापामा ९ र सुनसरीमा ३ जनामा कोरोना पुष्टि, प्रदेश १ मा संक्रमितको संख्या ५४ पुग्यो

सोमबार एक जनामा संक्रमण पुष्टि भएपछि केचनाबाट स्थानीयको नमुना संकलन गरी विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा परीक्षणका लागि ल्याइएको थियो ।

संक्रमितसँग सम्पर्कमा आएकाहरुको नमुना परीक्षण गरिएकामध्ये ९ जनाको रिपोर्ट पोजिटिभ आएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीका ३ जनामा संक्रमण

यसैबीच, मंगलबार बिहान सुनसरीका दुईजनामा कोरोना संक्रमण देखिएको थियो । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा दुई जनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएकामा इटहरी उपमहानगरपालिका वडा २ का १८ वर्षीय युवक र अर्का एकजना सुरक्षाकर्मी रहेको प्रतिष्ठान स्रोतले जनाएको छ । यअसअघि सोमबार सुनसरीको गढी गाउँपालिकाका एक युवकमा संक्रमण पुष्टि भएको थियो । उनी केही दिनअघि भारतको नयाँ दिल्लीबाट आएका थिए ।

प्रदेश १ मा संक्रमितको संख्या अब ५४ पुगेको छ । उदयपुरका ३३, झापाका १२, मोरङ ३, सुनसरीका ३, भोजपुर १, धनकुटा १, खोटाङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरुलाई विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा राखिँदै आएको छ । त्यहाँ राखिएका १७ जना उपचारपछि निको भएर डिस्चार्ज गरिएका छन् ।पछिल्लो तथ्यांक अनुसार प्रदेश १ मा साढे १२ हजारभन्दा बढीको परीक्षण गरिएको छ । जसमध्ये ३ हजार १ सय ६१ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ ।

आरडीटी विधिबाट ९ हजार ४ सय ७३ जनाको परीक्षण भएको प्रदेश १ मुख्य मन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । प्रदेश १ मा तीन ठाउँबाट पीसीआर परीक्षण भइरहेको छ । हालसम्म नेपालमा ३८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये ३६ जना निको भएका छन् भने बाँकेमा एक र सिन्धुपाल्चोकमा एक गरी दुई जनाको मृत्यु भएको छ ।

प्रकाशित : जेष्ठ ६, २०७७ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?