ओम्‍नी भनेको सुनेको पनि थिएन, कसको के हो थाहा थिएन : प्रधानमन्त्री 

काठमाडौँ — कोरोना भाइरस (कोभिड- १९) विरुद्ध लड्नका लागि सरकारले खरिद गरेका स्वास्थ्य सामग्री खरिदकर्ता ओम्नी कम्पनीबारे आफूलाई थाहै नभएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । संसद्मा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले ओम्नी व्यापारिक समूहबारे आफूलाई थाहै नभएको बताएका हुन् । 

ओम्‍नी भनेको सुनेको पनि थिएन, कसको के हो थाहा थिएन : प्रधानमन्त्री 

मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले भने, 'ओम्नी भनेको सुनेको पनि थिएन, कसको के हो थाहा पनि थिएन ।' उक्त कम्पनीसँग आफ्नो कार्यालयलाई जोडिएकोमा उनले आपत्ति जनाएका छन् ।

सञ्चारमाध्यमले अनावश्यक रूपमा बालुवाटारलाई जोडेको भन्दै उनले आपत्ति जनाएका छन् । 'व्यापार मेरो विषय होइन, राजनीति हो । म डिल गर्दिनँ र मेरो सरोकार पनि होइन,' उनले भने । स्वास्थ्य सेवा विभागका महानिर्देशकले छोटो बाटोबाट खरिद गर्ने काममा प्रधानमन्त्री कार्यालयलाई जोडिनु राम्रो नभएको उनको भनाइ थियो ।

उक्त प्रकरणमा अनियमितता भएको खण्डमा कारबाही हुने प्रधानमन्त्रीको भनाइ थियो । 'यदि कसैले कुनै एक रुपैयाँ पनि अनियमितता गरेको छ भने त्यससम्बन्धमा छानबिन हुन्छ, कारबाही हुन्छ । तर हरेक कुरामा भ्रष्टाचार मात्रै देख्नु राम्रो होइन । जो मन परेको छैन, त्यससँग जोड्नु राम्रो होइन,' उनले भने ।

ओम्नी नामको कम्पनीले स्वास्थ्य सेवा विमागले खरिद गर्ने सामग्री चीनबाट ल्याएको थियो । जसमा केही सामग्री सम्झौताभन्दा बढी ल्याइएका र केहीको गुणस्तरमा प्रश्न उठेको थियो । उक्त प्रकरणमा कोरोना भाइरससँग सम्बन्धित उच्चस्तरीय समिति र स्वास्थ्य मन्त्रालयको नेतृत्वलाई पनि जोडिएको थियो ।

ओम्नीका सञ्चालकहरूको प्रधानमन्त्री केपी शर्मा ओलीसँग र राम्रो सम्बन्ध भएको बताइएको थियो । तर प्रधानमन्त्रीले लामो समयपछि उक्त कुराको जवाफ दिएका हुन् ।

पछि उक्त सम्झौता रद्द गरेर सेनालाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिइएको थियो । ओम्नीले ल्याएका सामग्री भने प्रश्न उठे पनि प्रयोगमा ल्याइएको छ ।

प्रकाशित : जेष्ठ ६, २०७७ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?