१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

२६ जना अट्ने आइसोलेसनमा ५९ जना कोरोना संक्रमित

रुपा गहतराज

नेपालगन्ज — बाँकेको नरैनापुरको क्वारेन्टाइनमा रहेका ५९ जना कोरोना संक्रमितलाई नेपालगन्ज ल्याइएको छ । नेपाली सेना र आइएनएफले उनीहरुलाई नेपालगन्जस्थीत खजुरा रोडमा रहेको लायन्स डेन्टल अस्पताल ल्याएको हो । 

२६ जना अट्ने आइसोलेसनमा ५९ जना कोरोना संक्रमित

जम्मा २६ जनाको क्षमता रहेको उक्त आइसोलेसनमा ५९ जना संक्रमितलाई कोचाकोच गरि राखिएको छ । २५ जनालाई लायन्स डेन्टल अस्पतालमा र ३४ जनालाई कोहलपुर पीपरीस्थीत कृषि बिकास बैंकको तालिम केन्द्रमा राख्ने निर्णय भए पनि सबैलाइ डेन्टलमा राखिएको नेपालगन्ज उपमहानगरका उपमेयर उमा थापा मगरले बताइन् ।

‘संख्या धेरै भए पनि ब्यबस्थापन गर्दैछौं,’ उनले भनिन्, ‘कसैलाई पनि लक्षण देखिएको छैन् । अर्को ब्यस्थापन नहुँदासम्म सबैलाई यहीं राख्छौं ।’ उनले २३ जनालाई यहाँ राखेर ३६ जनालाई कृषि बिकास बैंकमा पठाइने बताइन् ।

उनीहरुलाई नरैनापुरमा आइसोलेसन वार्ड नभएका कारण नेपालगन्ज ल्याइएको हो । खजुरास्थित प्रखर सुशील कोइराला क्यान्सर अस्पतालको आइसोलेसन वार्ड भरिएपछि संक्रिमतलाई राख्न समस्या भएको हो । दुई वटा एम्बुलेन्समा दुई लट गरी उनीहरुलाई ल्याइएको हो । पहिलोलटमा मंगलबार राति ल्याइएको र दोस्रो लटमा बुधबार बिहान ल्याइएको हो । मंगलबार बिहान ल्याउन खोज्दा स्थानीयले अवरोधसमेत गरेका थिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको संयोजकत्वमा मंगलबार बसेको सर्वपक्षीय बैठकले नरैनापुर क्षेत्रका कोरोना सक्रमितलाई कोहलपुरको कृषि विकास तालिम केन्द्र र डेण्टल हस्पिटलमा राख्ने निर्णय गरेको थियो । तर, कोहलपुरका स्थानीयले तालिम केन्द्रमा संक्रमितलाई राख्न नदिने भएपछि सबैलाई डेन्टलमा कोचाकोच गरि राखिएको हो ।

प्रकाशित : जेष्ठ ७, २०७७ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?